आफ्नै लगानीमा निर्मित फिल्ममा मात्रै ‘लिड रोल’



नायिका शुभेच्छा थापाले आफ्नै लगानीमा निर्मित फिल्ममा मात्रै ‘लिड रोल’ मा अभिनय गर्दै आएकी छन् । नायिका थापाले आफ्नो ‘ब्यानर’ बाहेकका चलचित्र निर्माता तथा निर्देशकले नपत्याएर अभिनय गर्ने अवसर नपाएको पनि हुन सक्ने नेपाली चलचित्र जगत्मा हल्ला गर्नेको कमी छैन ।

नायिका हुँदै निर्मातासमेत बनेकी उनले ३० वर्ष पुगेपछि चलचित्र निर्माता तथा निर्देशकले नायिकालाई वास्ता नगर्ने गुनासो गर्दै आएकी छन् । चलचित्र निर्माता तथा निर्देशकले वास्ता नगरे पनि उनी निश्चिन्त छिन् । आफ्नै ब्यानरमा निर्मित चलचित्रमा धितमरुन्जेल अभिनय गर्न पाएकी छन् ।

‘ग्ल्यामर’ विना चलचित्र चलाउन गाह्रो हुने उनको बुझाइ छ । त्यही मान्यताले गर्दा उनले चलचित्र निर्माण पूरा भएपछि प्रचार–प्रसारका लागि ‘ग्ल्यामर फोटोसुट’ गर्ने गर्छिन् । चलचित्र ‘मिस नेपाल’ प्रचार–प्रसारका लागि माछाले वक्षस्थल छोपेर फोटो खिचाउँदा आलोचना खेप्नुपर्यो । भारतीय मोडल तथा नायिका सर्लिन चोपडाले माछाले वक्षस्थल छोपेर फोटोसुट गरेजस्तै उनले पनि त्यस्तै नक्कल गरेकी थिइन् । उनको तर्क छ, ‘त्यो फोटो त्यति धेरै अश्लील छ जस्तो लाग्दैन ।’ भारतीय मोडल तथा नायिका सर्लिन चोपडाले जस्तै नक्कल गरेर फोटोसुट गरेको फोटो सार्वजनिक भएपछि उनको आलोचना गर्ने बाक्लै भेटिए । उनको दाबी छ, ‘बोल्डनेसका लागि फोटा खिचाएकी हुँ ।’

वक्षस्थलको दायाँपट्टि नेपालको झन्डाको ट्याटु खोपाउँदासमेत उनको आलोचना गर्नेहरू थुप्रै भेटिए । ‘शुभेच्छा थापा आफूलाई भन्दा देशलाई बढी माया गर्छे,’ वक्षस्थलमा ट्याटु खोपाउनुको पृष्ठभूमि सुनाइन्, ‘वक्षस्थलमा ट्याटु खोपाएर प्रमाणित गरिदिएँ । आफ्नो छातीमा ट्याटु खोपाउन नपाउने नियम छैन । मलाई ट्याटु खोप्न मन लाग्यो खोपाएँ ।’ उनले तीन वर्षअघि खोपेको नेपालको झन्डासहितको ट्याटुमा ‘आई लभ नेपाल’ लेखिएको छ ।

त्यतिमात्रै होइन, बौद्ध धर्मावलम्बीले पवित्र मान्ने खादा लगाएर फोटोसुट गर्दा आलोचनामात्रै होइन, उनको पुत्ला दहन गर्न खोजिएको थियो । बिन्दास–३ का लागि फोटोसुट गर्दै थियौं,’ नायिका थापाले प्रस्ट्याइन्, ‘एउटै ड्रेसमा फोटोसुट गर्नुभन्दा केही कन्सेप्ट चेन्ज गरौं भन्ने लाग्यो । तस्बिर फोटो स्टुडियोमा खादा झुन्डिरहेको थियो । त्यही बेरेर फोटो खिचाएँ ।’

त्यो फोटो सार्वजनिक भएपछि मात्रै आफूले कुनै समुदायमाथि चोट पुर्याएको उनले थाहा पाइन् । त्यसपछि उनले क्षमा मागिन् । त्यतिले नपुगेर बौद्धनाथ पुगी क्षमापूजासमेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्