पुस्तक, पत्रपत्रिकामा मासिक ६ हजार ६०० सय खर्च



बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो । राई नेतृत्वको फोनिज बेलायतले बेलायतमा रहेका पत्रकार महिलाका लागि अभूतपूर्व सफलता ठान्यो ।

फोनिज बेलायत अध्यक्ष राई यहाँसम्म आइपुग्दाको कथा त्यत्तिकै रोचक छ । इलाम समालबुङको लाहुरे परिवारमा जन्मेर दार्जिलिङको सुविधासम्पन्न स्कुलमा अध्ययन गरेकी उनी सानैदेखि पत्रकारिता मन पराउँथिन् । रेडियो तथा टेलिभिजनमा काम गर्ने चासो राख्थिन् । तर, चाहना साकार पार्न त्यति सजिलो थिएन ।

त्यही समय साबिक पञ्चकन्या–६ इलामका प्रेमबहादुर राईसँग उनको बिहे भयो । प्रेमबहादुर ब्रिटिस आर्मी थिए । सञ्चारमाध्यममा काम केही गर्ने उनको आकांक्षा बिहेसँगै पछि धकेलियो । ०४५ देखि प्रमिलाको परिवार भक्तपुरवासी बन्यो । पुनम र प्रसनको आगमनपछि परिवारप्रतिको दायित्वले छोप्यो । र पनि, उनको सञ्चारमोह छँदै थियो । पुस्तक र पत्रपत्रिकामा मासिक ६ हजार ६०० सय खर्च हुन्थ्यो । उनी पुस्तक र पत्रपत्रिका अद्योपान्त पढथिन् ।

प्रमिला लाबुङ राई केही समय बु्रनाई बसिन् । नेपाल, बु्रनाई र बेलायतबाट प्रसारित ‘बीएफबीएस रेडियो’ को राई नियमित श्रोता थिइन् । रेडियोका विभिन्न कार्यक्रममा सहभागी हुन्थिन् । त्यसले थोरै भए पनि सञ्चारमोहको तिर्खा मेट्न सघायो ।

रिटिस आर्मीले बेलायतका लागि आवासीय भिसा पाए । यो सन् २००४ तिरको कुरा हो । इलाम, भक्तपुर, ब्रुनाईमा बिताएको जीवन एकपटक बेलायतमा बिताउने रहर लाग्नु अस्वाभाविक होइन । प्रमिलाको परिवार त्यसबाट अछुतो रहन सनेन । त्यतिबेला छोराछोरी हुर्किसकेकाले प्रमिला कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत थिइन् ।

‘बेलायत त जाने । तर, त्यहाँ के गर्ने ? भन्ने कुराले मथिंगल खाइरहेको थियो,’ उनले भनिन्, ‘कान्तिपुर दैनिकमा बेलायतमा कम्युनिटी रेडियो खोलिनेबारे प्रकाशित समाचारमा आँखा पुग्योे । मन फुरुंग भयो । त्यसमै काम गर्ने वातावरण मिलाउने तारतम्य मिलाउन थालें ।’
रेडियो बीजीडब्ल्युएस बेलायतको फ्रान्ब्रो, अल्डरसट, क्याम्बर्ली र स्यान्ड्रस्डआसपासमा सुनिन्छ । वेबपेजमा संसारभरि सुन्न सकिन्छ । सो क्षेत्रमा १५ हजारभन्दा बढी नेपाली बसोबास गर्छन् । बीजीडब्ल्युएस युरोपकै पहिलो सामुदायिक रेडियो हो । यसका संस्थापक टिकेन्द्रदल देवान, सोनाम शेर्पालगायत छन् । सन् २००६ मा महिना दिन परीक्षण प्रसारण गरी २०११ सेप्टेम्बरमा लाइसेन्सप्राप्त गरेपछि रेडियो बीजीडब्ल्युएस दैनिक ६ घन्टा प्रसारण हुँदै आएको छ ।

‘रेडियो सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेकै यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई हरेक क्षेत्रमा सशक्त बनाउनु हो,’ उनले सुनाइन्, ‘नेपाली र गोरा समुदायबीच घुलमिल गर्ने, यहाँको नियम, कानुनबारे जानकारी दिने, नेपाली भाषा, कला, साहित्य, गीत–संगीत, प्रथापरम्परा, संस्कार, संस्कृतिबारे जानकारी दिने गरिन्छ ।’ स्वयम्सेवीका रूपमा प्रवेश गरेकी उनी रेडियो बीजीडब्ल्युएसका पूर्णकालीन जागिरे बनेकी छन् । उनको परिचय फराकिलो बन्दै गएको छ । उनको ‘व्यक्ति अनि व्यक्तित्व’ रेडियो कार्यक्रम त्यत्तिकै चर्चित छ ।

ब्रिटिस आर्मी केन्द्रित बीएफबीएस रेडियो सञ्चालनमै छ । तर, रेडियो बीजीडब्ल्युएस भने फ्रान्ब्रो, अल्डरसट, क्याम्बर्ली र स्यान्ड्रस्डमा बसोबास गर्दै आएका आमनेपालीकेन्द्रित छ । बेलायतमा नेपालीको स्थायी बसोबास हुन थालेपछि उनीहरूको जनजीवन लाभान्वित तुल्याउन स्थापित रेडियो बीजीडब्ल्युएसको उद्देश्य सार्थक बन्दै छ ।

दैनिक नेपाली राष्ट्रगानबाट रेडियो ट्युनिङ सुरु हुन्छ । त्यसपछि एउटा नेपाली गीत बज्छ । अनि बेलायतबाट प्रकाशित डेली एक्सप्रेस र आई डेली अखबारमा छापिएका समाचारका प्रमुख शीर्षक पढेर सुनाइन्छ । एक घन्टा समसामयिक समस्या, विश्वघटनाबारे चर्चा गरिन्छ । त्यसपछि विभिन्न अनलाइनमा प्रकाशित नेपालका प्रमुख समाचार पढिन्छ । अन्य रेकर्डेड कार्यक्रम प्रसारण छँदै छ । ‘त्यसपछि कुनै पाहुनासित कुराकानी हुन्छ या हिन्दी गीत बजाइन्छ,’ उनले जानकारी गराइन्, ‘त्यससपछि नेपाली लोकगीतको कार्यक्रम लोकलहरी सञ्चालन गरिन्छ । फेरि नेपालको समाचार पढेर सुनाइन्छ । त्यसपछि नेपाली वा हिन्दी गीत बजाइन्छ ।’

दैनिक १४ घन्टा प्रसारण गर्नेले मात्रै बेलायती सञ्चार मन्त्रालयबाट सहयोग पाउने प्रावधान छ । रेडियो बीजीडब्ल्युएसकी एड्मिन अफिसरसमेत रहकी प्रमिला राई भन्छिन्, ‘चाँडै मापदण्डअनुसार रेडियो प्रसारण गर्ने तयारीमा छौं ।’

प्रतिक्रिया दिनुहोस्