हाम्रो समाजमा नेता र जनतामा सिँढीको शृंखला छ । समानता छैन । लगभग त्यस्तै सम्बन्धको अवस्था राजधानी र मोफसलमा छ । त्यो भिन्नताको अवस्था सुविधा र हैसियत दुवैमा छ । कुनै मानिसले आफूलाई राजधानीनिवासी भनेर परिचय गरायो भने ऊ ठूलो र पहुँचवाला मानिस हो भन्ने बुझाइ आमरूपमा रहेको पाइन्छ । यो बुझाइको अवस्था एक्कासि बनेको होइन, लामो समयको अभ्यासको परिणति हो । त्यसैले यसलाई परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । राजधानी र मोफसलको विभाजित मानसिकतालाई सम्हालेर राष्ट्रिय एकताको सूत्रमा पूरै देशलाई बाँध्नु आवश्यक भइसकेको छ ।
मोफल र राजधानीका पत्रकारबीच सुविधा र हैसियत दुवैमा फरकपन छ । कसैले जानाजान मोफसलका पत्रकारलाई यो अवस्थामा धकेलेको होइन । राज्यको संरचना र हाम्रो स्थापित मूल्य–मान्यताले लामो समयको अभ्यासपछि यस्तो अवस्था सिर्जना गरेको हो । यो पुरानो मूल्य–मान्यता र व्यवहारमा सुधार ल्याउनका लागि गरिने सामान्य प्रयासले यसमा फेरबदल ल्याउन सम्भव छैन । यस्तो फरकपन जो राज्यको संरचनाबाट सिर्जित छ, यही संरचनामा अभ्यस्त हाम्रो दृष्टिकोण र व्यवहारका कारणले फरक पारेको हुन्छ । यसलाई अहिलेको चल्तीको भाषामा भन्ने हो भने मोफसल राज्यको संरचनात्मक विभेदमा परेको छ ।
भनिन्छ– कुनै पनि समाज कति सभ्य र लोकतान्त्रिक छ भन्ने कुरा त्यहाँको पत्रकारिताको स्तर हेरेर थाहा पाउन सकिन्छ । यो भनाइको तात्पर्य लोकतान्त्रिक समाजमा तत्कालीन समाजको मुद्दा र चलेका बहस त्यहाँका सञ्चारमाध्यममा प्रतिविम्बित हुन्छन् । हुनुपर्छ । त्यसैले कुन मुद्दामा कसरी बहस भइरहेको छ र कुन समुदायले के तर्क गरिरहेका छन् भन्ने कुरा पनि त्यसरी नै प्रतिविम्बित भइरहनुपर्छ, जसरी बहस समाजमा चलेको छ । जस्तो कि राज्य पुनःसंरचनाको बहसमा कुन दलको के विचार राखेको थियो, कुन समुदायले कस्तो राज्यको माग गरेको थियो भन्ने कुरा त्यसबेलाको सञ्चारमाध्यममा समेटिएको हुनुपर्छ । जसलाई हेरेर भविष्यका पुस्ताले तत्कालीन समाजको स्तर थाहा पाउन सक्छन् । हो, आजको पत्रकारिता भोलि लेखिने इतिहासको पहिलो मस्यौदा पनि त हो । समाजको बहुलताअनुसार सञ्चारमाध्यमको बहुलता पनि हुने भएकाले खालखालका स्वर र मुद्दा सञ्चारमाध्यममा उठिरहेका हुन्छन् । त्यो कुराको झलक स्थानीय र क्षेत्रीय सञ्चारमाध्यमले मात्र दिन सक्छन् ।
राष्ट्रिय सञ्चारमाध्यमले मात्र देशभरिका जनताको आवाज र उनीहरूको समस्या समेट्न सक्दैनन् । ती आवाज र समस्या राज्यको कानसम्म पुर्याउन सक्दैनन् । देशभरिका जनताको आवाज राज्यको कानसम्म पुर्याउने काम मोफसलका पत्रकारले नै गरिरहेका हुन्छन् । चाहे स्थानीय सञ्चारमाध्यम बाट होस् वा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट ।
झट्ट सुन्दा जोकोहीलाई पनि लाग्न सक्छ कि देशको नीति निर्माणमा राष्ट्रिय सञ्चारमाध्यमको मात्र हात हुन्छ । उनीहरूले उठाउने विषयले सरकार र जनमतमा प्रत्यक्ष प्रभाव पर्छ । यस बुझाइमा आंशिक सत्यता छ । किनकि राजधानीबाट चलेका ठूला सञ्चारमाध्यमले केन्द्रीय सरकारलाई चुनौती दिने हैसियत राख्न सक्छन् । उनीहरूले देशको अधिकांश भू–भागमा पहुँच राख्ने र एउटै सम्पादकीय लेखेर वा विचार प्रकाशन वा प्रसारण गरेर पूरै देशको जनमत प्रभावित पार्न सक्छन् । त्यस्तो प्रभाव वा हैसियत हाम्रो देशका राष्ट्रिय सञ्चारमाध्यममा पनि नदेखिएका होइनन् । खासगरी नेपालको २०४६ को जनआन्दोलन सफल पार्न र पञ्चायती व्यवस्थाको भण्डाफोर गर्न राजधानीका अखबारको भूमिका महत्वपूर्ण छ । तर, यति भएर पनि देशका लागि आवश्यक नीति दबाबले मात्र बन्दैन, विषयवस्तु दिने र नीति निर्माताको दिमागमा चेतनाको बत्ती बाल्ने काममा मोफसलका मिडिया र मोफसलको पत्रकारिताको योगदान त्यत्तिकै महत्वपूर्ण रहेको छ । यसलाई नकारेर जान सकिँदैन बरु त्यसको यथोचित सम्मान गर्नुपर्ने र सही दृष्टिकोण बनाउनु पर्ने आवश्यकता छ ।
(अ) स्थानीय सञ्चारमाध्यमको अहम् भूमिका
भुटानी शरणार्थी शिविरमा आगलागी भएको समाचार झापाको अखबारले पहिले प्रकाशन गर्न सक्छ । जागरकोटको खाद्यान्न अभाव वा झाडापखाला प्रकोप जाटरकोटकै अखबारले राम्ररी लेख्न सक्छ । स्थानीय समस्यालाई स्थानीय सञ्चारमाध्यमले प्रमुखतासाथ प्रकाशन वा प्रसारण गर्न सक्छन् । त्यही अनुपातमा स्थानीय नीति निर्मातामा त्यसको प्रभाव पनि पर्छ । स्थानीय प्रशासक तथा सुरक्षा निकायका प्रमुख सुरक्षासम्बन्धी नीति र नीति बनाउनुपर्दा स्थानीय सञ्चारमाध्यमबाट प्राप्त सूचना अत्यन्त उपयोगी हुने गरेको मुक्तकण्ठले बताउँछन् । खासगरी आन्दोलन र बन्दको समयमा स्थानीय एफएम र स्थानीय अखबारको सूचना सुरक्षा निकायलाई बढी उपयोगी हुने गर्छ ।
कहिलेकाहीँ स्थानीय सञ्चारमाध्यमले नेता र नीति निर्माताबीच अन्तरक्रिया वा अन्तर्वार्ता गर्छन् । त्यसले स्थानीय विषयवस्तु र समस्यामा उनीहरूलाई जवाफदेही बनाउने गर्छ । अन्तरक्रिया वा अन्तर्वार्ताकै क्रममा नेता र नीति निर्माताले वचनबद्धता प्रकट गर्छन् । चिन्ता र सरोकार जाहेर गर्छन् । त्यसबाट उनीहरू गर्ने नीतिगत निर्णयमा प्रभाव पार्छ । यसरी स्थानीय समस्या र समुदायको आवाज उठाउने काममा होस् वा स्थानीय मुद्दामा नीति निर्मातालाई जवाफदेही बनाउन स्थानीय सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
स्थानीय सञ्चारमाध्यमको समुदायसम्मको पहुँच राम्रो हुन्छ । समुदाय तहका मानिसको पहुँच पनि स्थानीय सञ्चारमाध्यम र तिनको समाचार कक्षसम्म हुन्छ । फलतः समाजमा भएका स–साना समस्या पनि स्थानीय सञ्चारमाध्यममार्फत बाहिर आउँछन् । जुन समस्या भविष्यमा ठूलो बन्न सक्छ, पहिले नै प्रकट हुन्छ । बेलैमा सम्बोधन हुन्छ ।
(आ) राजधानीका सञ्चारमाध्यमको आधार मोफसल
राष्ट्रिय सञ्चारमाध्यमले देशभरिको समाचार सामग्री समेट्नुपर्छ । तिनीहरू सबै मोफसलबाट प्राप्त हुन्छन् । मोफसलको चुनौतीसँग जुध्दै मोफसलका पत्रकारले गर्छन् । यसरी राष्ट्रिय सञ्चारमाध्यमले दिने समाचार मोफसलबाट प्राप्त हुन्छन् । राष्ट्रिय सञ्चारमाध्यममा मोफसलको पत्रकारिता र सूचनाविना राष्ट्रिय चरित्रको बन्न सक्दैन । त्यसबाट प्रस्ट हुन आउँछ कि राष्ट्रिय सञ्चारमाध्यमको विषयवस्तु निर्माणको आधार मोफसलकै रिपोर्टिङ हो । केवल राजधानीको समाचार दिने हो भने तिनीहरू राष्ट्रिय चरित्रको सञ्चारमाध्यम बन्न सक्दैनन् । उनीहरू पनि राजधानीबाट प्रकाशित वा प्रसारित स्थानीय सञ्चारमाध्यमको हैसियतमा आइपुग्छन् ।
राष्ट्रिय सञ्चारमाध्यमले देशका अधिकांश भागका पाठक, श्रोता वा दर्शकका लागि समाचार र अन्य सामग्री प्रकाशित प्रसारित गर्छन् । राष्ट्रिय सञ्चारमाध्यमको सामग्रीको सम्पादन वा संयोजन वा नियन्त्रण राजधानीबाट हुन्छ तर रिपोर्टिङ मोफसलबाटै भएको हुन्छ । राष्ट्रिय सञ्चारमाध्यमको पहुँच बढाउन र समुदाय तहसम्म जोड्ने काम मोफसलमा रहेर काम गर्ने संवाददाताले गरिरहेका हुन्छन् । तर, उनीहरूको योगदान सधैँ ओझेलमा परिरहेको हुन्छ ।
(इ) अजेन्डा बनाउन सहयोग
मुलुकले भविष्यमा गर्नुपर्ने काम वा हिँड्नुपर्ने बाटो (अजेन्डा) निर्धारण गर्ने काममा सहयोग आमसञ्चारमध्यमले गर्छ । देशभरिका विषयवस्तु पस्किएर साझा अभियान अगाडि बढाउने, जनमत बनाउने र सरकारको ध्यान तानेर मुलुकको छलफल र चासोको विषय बनाउने काममा मोफसलका सञ्चारमाध्यम वा मोफसलको पत्रकारिताले योगदान गरिरहेको हुन्छ । त्यस्ता विषयको उठान स्थानीय सञ्चारमाध्यमले गर्छन् । त्यो बिस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेटिन्छ । फलस्वरूप व्यापक जनमत तयार हुने, समाजमा बहसको विषय बन्ने र अन्त्यमा राष्ट्रले ध्यान दिनुपर्ने अवस्था सिर्जना हुन्छ । यसमा पनि योगदानको ठूलो हिस्सा मोफसलको हुनुपर्छ ।
(ई) मोफसलको पालो
राष्ट्रनिर्माणमा जनताको आवाज राज्यको निकायसम्म पुर्याउनमा मोफसलका सञ्चारमाध्यम र पत्रकारको योगदान अतुलनीय छ । तर, यस कामको जस मोफसलले कहिल्यै पाएन । न त त्यसको जस पाउनुपर्छ भनेर मोफसलले कहिल्यै दाबी नै ग¥यो । उसले दाबी नगरेका कारण मोफसलको योगदानलाई पनि राजधानी र राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो योगदान हो भनेर छाती फुलाएका छन् र जुँगामा ताउ लगाएका छन् । सरकार र राज्यका अन्य निकायबाट लिन सकिने फाइदा मज्जाले लिएका छन् । नीति निर्माणमा प्रभाव पारेका छन् । मोफसलको योगदानको सही मूल्यांकन नहोस् भनेर तानाबाना बुन्नमा लागेका छन्, अरूलाई उकासेका छन् । यसकारण आजसम्म मोफसल हेपिएको छ र राज्य वा मुलुकको शासकीय सोच भएकाबाट विभेदको सिकार बन्दै आएको छ । यस्तै अवस्था सञ्चार क्षेत्रमा मात्र होइन, मुलुकको सामाजिक र राजनीतिक क्षेत्रमा पनि छ । तर, राज्यको केन्द्रीय संरचनाका कारण सिर्जना भएको होला, सुधार्न सम्भव छैन भन्दै चुप लागेका हुन् ।
तर, अब मुलुक संघीय संरचनामा गइरहेको छ । केन्द्रीय संरचनाको साटो स्थानीय वा क्षेत्रीय निकाय र संरचनालाई बलियो बनाउनुपर्छ भन्ने आवाज सर्वत्र उठिरहेको छ । नयाँ संस्कार, संस्कृति वा कार्यशैली निर्माण गर्ने बेला छ । यस्तो बेलामा अब हाम्रो आवाज सुनियोस् भनेर मोफसलले तीखो आवाज उठाउन सक्नुपर्छ । राष्ट्रनिर्माणका लागि सञ्चार क्षेत्रबाट गरेको योगदानका लागि मोफसलका सञ्चारमाध्यम र सञ्चारकर्मीले, राजनीतिक र सामाजिक उपलब्धिका लागि सामाजिक र राजनीतिक अभियानमा सामेल हुनेले आफ्नो योगदानको सही मूल्यांकन गरियोस् भनेर प्रस्ट भन्नुपर्ने र आवाज उठाउनुपर्ने बेला भएको छ । योगदान एउटाले गर्ने तर त्यसबापत जस र अवसर अर्कोले पाउने अवस्था अब अन्त्य गर्नुपर्छ । राख्नुहुँदैन । मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आइसकेको छ ।
यही बेला हो– मोफसलको सही मूल्यांकन हुनुपर्ने । यसैका लागि त देशका कुनाकुनाबाट मानिस जुटेर राजनीतिक चेतनाको विगुल बजाए । निरंकुशताविरुद्ध शंखनाद गर्दै गर्जिए, ज्यानको बाजी थापेर लडे निरंकुशता र केन्द्रीयताविरुद्ध । अबको अवस्थामा भौगोलिक विभाजन र प्राकृतिक कारणले उपलब्ध सम्पदा वा असरबाहेक सामाजिक सम्बन्ध र सम्मानमा राजधानी र मोफसलबीच भिन्नता वा विभेद रहनुहुन्न ।
संघीय शासन व्यवस्था लागू भएपछि राज्यका स्थानीय, प्रान्तीय र संघीय संरचना बन्छन् । स्थानीय निकायमा स्थानीय सञ्चारमाध्यमको, प्रान्तीय सरकारमा क्षेत्रीय वा प्रान्तीयस्तरका सञ्चारमाध्यमको पहुँच र अधिकार सुरिक्षित गरिनुपर्छ । त्यस्तो भयो भने संघीय निकायमा राष्ट्रिय सञ्चारमाध्यमको पहुँच र अधिकार अक्षुण्ण हुन पुग्छ । राजधानीमा पनि स्थानीय, क्षेत्रीय वा प्रान्तीयस्तरका सञ्चारमाध्यम रहन सक्छन् । तिनीहरूलाई अधिकार र अवसरबाट राष्ट्रिय सञ्चारमाध्यमले कुण्ठित वा वञ्चित गरिनुहुँदैन । पुरानै अवस्था रहिरह्यो भने साँचो अर्थमा नयाँ नेपाल निर्माण हुन सक्दैन । मुलुकमा संघीय लोकतान्त्रिक र गणतन्त्र आएको महसुस गर्न सकिन्न । आखिर हामीले लडेको र दुःख खपेर प्रतीक्षा गरेको व्यवस्था पुरानो बोतलमा नयाँ मदिरा भर्नका लागि होइन । नयाँ बोतलमा ताजा र पौष्टिकताले भरिपूर्ण दूध भर्नका लागि हो । कसैले मिहिनेत गर्ने र अर्कोले फाइदा लिने व्यवस्था अन्त्यका लागि हो । सबैले मिहिनेत गर्ने र मिहिनेतको सही मूल्यांकन हुने एवम् क्षमताका आधारमा अवसरलाई न्यायोचित वितरण हुने व्यवस्थाका लागि हो । त्यसका लागि पनि मोफसलले समयमै आवाज उठाउनुचाहिँ जरुरी छ । आवाज नउठाए कसैले पनि खाइपाइआएको अवसर त्यसै छाड्ने छैन । फेरि पनि मोफसल निमुखा नै रहनुुपर्नेछ । त्यसैले जिम्मेवार निकायलाई आजै सोधौँ, हाम्रो आवाज कहिले दिन कहिले आउँछ ?