हलेसी आउन गीतमार्फत धितुङेको अनुरोध



त्रिधाम भनेर परिचित हलेसी आउन धितुङे कलाकारले गीतमार्फत विनम्र अनुरोध गरेका छन् । गीतकार द्वारसिं राई, संगीतकार निराजन राई र गायक तथा गायिका लकेश राई र सविता राईले गीतमार्फत हलेसी आउन अनुरोध गरेका हुन् ।

गीतकार द्वारसिं राईले हलेसी आउन गीतमार्फत सजिलोगरी बाटो (लोकेसन) बताइदिएका छन् भने संगीतकार निराजन राईको संगीत त्यत्तिकै मिठासपूर्ण सुनिन्छ । गीतकार र संगीतकार राईद्वयको मिहिनेतलाई गायक लकेश राई र गायिका सविता राईले त्यत्तिकै न्याय गरेका छन् । दाबीसाथ भन्न सकिन्छ, ‘गीत श्रवणीय छ । सुनूँसुनूँ लागिरहन्छ ।’

हलेसीलाई केन्द्रबिन्दुमा राखेर लेखिएको गीतमा स्थानीय सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय स्थलको नाम समेटिएका छन् ।

‘हलेसी नपुग्दै दर्शनार्थीलाई होलेसुङ पार्कले न्यानो स्वागत गर्छ,’ गीतले भन्छ, ‘हलेसी आएपछि किरात, हिन्दु, बुद्धको दर्शन एकैसाथ पाउन सकिन्छ ।’

खोक्चिलिपा बुक्टो, हलेसी ।

हलेसी दर्शन गरेपछि महादेव, मुन्दुम, बुद्धले यहीं आशिर्वाद बर्साउँछ भनेर गीतले सन्देश प्रवाह गरेको छ ।

गीतमा हलेसी तुवाचुङ नगरपालिकाका तुवाचुङ, भुम्जु, जयरामघाट, सल्ले, बुङालुङ, होलेसुङ पार्क, लावाचुङ, बुला, लैकुखोला र सुनकोसी नदीले ठाउँ पाएको छ । यसैगरी, धरान, इटहरी, गाईघाट, जनकपुर, सोलुखुम्बु, दिक्तेल र सल्यानको सन्ध्याले पनि राम्रै स्थान पाएको छ ।

स्थानविशेषलाई समेटेर लेखिएको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । धितुङका गीतकार, संगीतकार र गायक तथा गायिकाले गाएको म्युजिक भिडियो त्यत्तिकै सुन्दर बनेको छ ।

अमृता–अदिल प्रोडक्सनले तयार पारेको ‘काठमाडौंदेखि’ म्युजिक भिडियो निश्चल निष्कार्स च्यानलबाट सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म उक्त म्युजिक भिडियो ६ हजार ५ सय ७२ जनाले हेरिसकेका छन् भने २ सय ३३ जनाले ‘लाइक’ गरेका छन् ।

हलेसी गुफा ।

म्युजिक भिडियो हेरिसकेपछि एकराज बुढाथोकीले टिप्पणी गरेका छन्, ‘दाजु हङकङमा बसेर पनि गाउँमा बस्ने कलाकारलाई माया गरिरहनुभएको छ । हार्दिक आभार व्यक्त गर्छु । साथै गायक लकेश राई र सविता राईको मार्मिक आवाज रहेको छ । हार्दिक शुभकामना ।’

स्मरण रहोस्, ‘काठमाडौंदेखि’ गीतका गीतकार, संगीतकार र गायक तथा गायिका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङवासी हुन् ।

म्युजिक भिडियो तयार पार्ने र प्रवद्र्धनका लागि लागिपर्ने राई धितुङे (दुवै हङकङवासी) धितुङवासी नै हुन् ।

गुम्बा ।

म्युजिक भिडियोले हलेसीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुर्याएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

गीतको पूर्ण अंश

गीतकार : द्वारसिं राई
संगीतकार : निराजन राई
स्वर : लकेश राई/सविता राई

काठमाडौंदेखि खुर्कोट हुँदै हलेसी आउनू है
किरात, हिन्दु, बुद्धको दर्शन एकैसाथ पाउनू है ।

होलेसुङ पार्कले स्वागत गर्छ, बुङालुङ मुस्काउँछ
महादेव, मुन्दुम, बुद्धले यहीं आशिर्वाद बर्साउँछ,
काठमाडौंदेखि खुर्कोट हुँदै हलेसी आउनू है ।

उदयपुर उषा, दिक्तेल दिवा तुवाचुङ आउने रे
सल्यानको सन्ध्या, सोलुको शान्ति यहीं नै छाउने रे,
बुला र लैकु, तुवाचुङबाट सुनकोसी झर्दै छ
उषा र दिवा, सन्ध्या र शान्ति नियाली हेर्दै छ
मुन्दुमी दर्शन, तीन चुला पुज्ने किराती संस्कार छन्
यो तपोभूमि आदिम थलो आँखीझ्याल बन्दछन् ।
जनकपुरदेखि जयरामघाट हुँदै हलेसी आउनू है ।

सल्ले, तुवाचुङ, भुम्जु, बुङालुङ प्राकृतिक सम्पदा
बहुल जाति, भाषी र धर्म यो हाम्रो विशेषता,
धरान, इटहरी, गाईघाट हुँदै हलेसी आउनू है
किरात, हिन्दु, बुद्धको दर्शन एकैसाथ पाउनू है ।

लावाचुङ पाटी स्वागत गर्छ तुवाचुङ मुस्काउँछ
महादेव, मुन्दुम, बुद्धले यहीं आशिर्वाद बर्साउँछ,
काठमाडौंदेखि खुर्कोट हुँदै हलेसी आउनू है ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्