मञ्जु राई भन्छिन्– तिमी आधा म नि आधा



खोटाङ । नेपाली साङ्गीतिक आकाशमा ‘तिमी आधा म नि आधा, कहिले हुने पूरा’ शीर्षाकृत म्युजिक भिडियोका साथमा नवगायिका मञ्जु राई एउटा ताराका रूपमा उदाएकी छन् ।

गीतकार राजमणि राईको शब्द तथा सङ्गीतकार नवीन सङ्घर्षको सङ्गीत रहेको गीतमा संगीत संयोजन भने बहुचर्चित सङ्गीत संयोजक राजु कार्कीको रहेको छ । जस्केलो क्रियसनको भिडियो निर्माणमा स्टुडियो किङको युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतको निर्माण भने कलाकार सन्तोष राईले गरेका हुन् ।


रावाबेंसी गाउँपालिका–७ हौंचुर खोटाङमा जन्मेकी मञ्जु सानैदेखि गीत–सङ्गीतमा रुचि राख्दै आएकाले परिवारको साथ सहयोगले नै यहाँसम्म आएको बताउँछिन् । ज्योति मावि जालपामा माध्यमिक तह अध्ययन गर्दै गर्दा साङ्गीतिक प्रतिभाहरू स्थानीयस्तरमा प्रस्फुटन गर्ने विशेष मौका पाएकोमा ज्योति मावि जालपा परिवारलाई विशेष सम्मान गर्न चाहन्छिन् ।

त्यही समय जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी भई पुरस्कृत भएको पनि सम्झना गर्छिन् । आजसम्म सङ्गीतको औपचारिक शिक्षा हासिल नगरेको उनले त्यसो त दुई वर्ष अगाडि पोखराबाट सञ्चालित गोल्डेन आइडल प्रतियोगिताको उत्कृष्ट–८ सम्म पुग्न सफल भएकी थिइन् भने हाल सञ्चालित यलम्बर सङ्गीत प्रतियोगिता–२०७७ को उत्कृष्ट–१० तथा फाइनल चरणमा पुग्न सफल भएकी थिइन् ।

आफूले साङ्गीतिक क्षेत्रमा लागेर जे–जति सफलता प्राप्त गरेकी छन्, त्यो सफलतामा सबैभन्दा धेरै श्रेयस्कर व्यक्तित्वका रूपमा क्षामा संगीता राईलाई सम्झन्छिन् ।

गायनको अलावा गितार बजाउन र नाच्न पनि उत्तिकै सिपालु मञ्जु राई शङ्करदेव क्याम्पस काठमाडौंमा बीबीएस प्रथम वर्षको विद्यार्थी हुन् । आफ्नो पहिलो गीतबाटै दर्शक श्रोताको मन जित्न सफल सुमधुर आवाजकी धनी अनि नेपाली साङ्गीतिक बजारमा निकै आसलाग्दो एउटा तारा मञ्जु राई, यस्तै साङ्गीतिक अवसरको खोजी गर्दै सङ्गीतको औपचारिक शिक्षा लिने तयारीमा रहेको बताउँछिन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्