उत्पीडित समुदायको मुद्दा उठाउन साना मिडिया हाउस उपयुक्त



१२ वर्ष अघिसम्म रेडियोमा बोल्ने व्यक्तिलाई ‘सेलिब्रेटी’ नै मानिन्थ्यो । एफएम रेडियोमा समाचार वाचन गर्ने, कार्यक्रम सञ्चालन गर्नेलाई चिन्नेले सम्मान गर्थे । सूचना, समाचार र मनोरञ्जनको स्रोत मानिने एफएम रेडियोमा काम गरेर नाम कमाउन चाहने युवापुस्ताको सपना हुन्थ्यो ।

खोटाङबाट काठमाडौं छिरेका विजय चाम्लिङलाई पनि रेडियोमा बोल्ने रहर थियो । ‘रेडियोमा कसरी छिर्ने भनेर उपाय खोज्न थाले,’ चाम्लिङले विगत कोट्याउँदै भने, ‘एक दिन पत्रिकामा उद्घोषण तालिमबारे विज्ञापन देखें । अनि उद्घोषण तालिम लिन थालें ।’

साबिक मात्तिम–७ खोटाङ (हालको साकेला गाउँपालिका–५) बाट संवत् २०५९ मा एसएलसीको प्रमाणपत्र बोकेर धरान झरेका उनी महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको पढाइ पूरा गरी स्नातक अध्ययनका लागि काठमाडौं पसे । काठमाडौं पसेपछि पढ्दै सानोतिनो जागिर गर्न सकिन्छ भन्ने उनले सुनेका थिए । ‘तर, मेरो ध्यान पढाइ खर्च जुटाउने वा धेरै पैसा कमाउने जागिरतिर कहिल्यै गएन,’ उनले थपे, ‘एफएम रेडियोमा काम गर्ने रहर थियो । त्यतै लागें ।’

तीन महिनाको उद्घोषण तालिमपछि ०६५ पुसदेखि तत्कालीन ‘एबीसी न्युज एफएम १००.६ मेगाहर्ज’ मा उनले काम थाले । स्टेसन म्यानेजर थिए– अनन्तराज बज्राचार्य । एबीसी न्युज एफएम धाउन थालेको साता दिन नबित्दै स्टेसन म्यानेजर बज्राचार्यले उनलाई रेडियोको प्रत्यक्ष प्रसारण जान अनुमति दिए । ‘मलाई उहाँले विश्वास गर्नुभयो । मेरो आवाज पनि मन पराउनुभयो,’ उनले सुनाए, ‘रेडियोमा धेरैजसो कार्यक्रम रेकर्डेड हुन्थे । नयाँले त धेरै तयारी, सावधानी र जोखिम उठाएरमात्रै ‘अन एयर’ मा जानुपथ्र्यो ।’

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको एक कार्यक्रमका लागि रेडियो स्टुडियोबाट पहिलोपटक उनी प्रत्यक्ष प्रसारणका लागि ‘अन एयर’ भए । तर, उनलाई स्टुडियोबाहिर दशरथ रंगशालाबाट सहकर्मी मनिलता मानन्धर र सुलोचना ढुंगेलले साथ दिएका थिए ।
‘कार्यक्रम के विषयमा थियो भन्ने मैले बिर्सिसकेछु । तर, आधा घन्टाको कार्यक्रम ओपनिङ र क्लोजिङ मैले नै गरेको थिएँ,’ चाम्लिङले जोडे, ‘लाइभ कार्यक्रममा बिगारिएला कि भन्ने डर लागेको थियो । कार्यक्रम सकिएपछि रेडियो सुनेर बस्नुभएको अनन्त सरले मेरो प्रशंसा गर्नुभएपछि मात्रै ढुक्क भएँ ।’

सञ्चार क्षेत्रमा लागेपछि चाम्लिङले पहिलोपटक मासिक ३ हजार ५ सय रुपैयाँ तलब लिन थाले । काठमाडौं उपत्यकामा नयाँ–नयाँ एफएम रेडियो खुल्दै गए । धेरैजसो एफएम रेडियोले समयमा तलब दिँदैनथे । जुन कुरा उनलाई थाहा थियो । रेडियोमा बोल्न पाए विनातलब भए पनि काम गर्न तयार रहने युवा जमात थियो । ‘दुई महिनापछि मेरो तलब ५ सय रुपैयाँ बढाइयो,’ उनले सम्झे, ‘मासिक चार हजार रुपैयाँ पाउन थालेपछि मलाई थप हौसला मिल्यो ।’

केही समयपछि उनले सोही रेडियोमा ‘सञ्चारकर्मी’ नामक कार्यक्रम चलाउन थाले । सञ्चारकर्मी रेडियो, टेलिभिजन र पत्रपत्रिकामा कार्यरत पत्रकार तथा सञ्चारकमीसँग अनुभूति साट्ने कार्यक्रम थियो । यस कार्यक्रमको अवधारणा स्टेसन म्यानेजर बज्राचार्यकै थियो । साप्ताहिक रूपमा सञ्चालित कार्यक्रममा बेलाबेला उनले नै अतिथिको चाँजोपाँजो मिलाउँथे ।

‘एक दिन सञ्चारकर्मीमा मोहन ढुंगेललाई लिएर कार्यक्रम गरें । ढुंगेल राजधानी दैनिकको समाचार सम्पादक थिए,’ उनले विगत कोट्याए, ‘कार्यक्रम सकिएपछि कालो चिया पिउँदै उहाँले नै मलाई राजधानी दैनिकमा काम गर्न प्रस्ताव गर्नुभएको थियो ।’ एफएम रेडियोभन्दा दोब्बर तलब हुने भएपछि उनी ०६६ जेठदेखि राजधानी दैनिकमा कार्यरत छन् ।

तीन महिनासम्म राजधानीमा दैनिकमा ‘स्ट्रिन्जरका’ रूपमा काम गरे । ‘स्ट्रिन्जर’ लाई समाचार छापिएबमोजिम पारिश्रमिक दिइन्छ । तीन महिनापछि उनी रिपोर्टरका रूपमा काम थाले । किरात राई पत्रकार संघ पूर्वमहासचिवसमेत रहेका उनले राजधानी दैनिकमा दस वर्षभन्दा बढी काम गरे ।  यसबीचमा उनले ‘द गोर्खाज साप्ताहिक’ को कार्यकारी सम्पादक र ‘संघीय समाचार साप्ताहिक’ मा समेत कार्यकारी सम्पादककै भूमिका निर्वाह गरिसकेका छन् ।

पहिचान जागरण र आन्दोलनको पक्षमा कलम चलाउने पत्रकारका रूपमा परिचित उनी भन्छन्, ‘नेपालको इतिहासमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भए पनि समान पहिचान र प्रतिनिधित्वका लागि संघर्ष गर्दै आएका, विभेदमा परेका विभिन्न जाति र समुदायको माग सही ढंगले संविधानले सम्बोधन गर्न सकेको छैन ।’

उत्पीडितको पहिचान र समानुपातिक प्रतिनिधित्वको पक्षमा कलम चलाएकै कारण उनलाई किरात राई यायोक्खाले ०६९ मा ताम्रपत्रसहित सम्मान गरेको थियो । उनले भने, ‘म सिनियर पत्रकार भएकाले होइन, पत्रकारिता क्षेत्रबाट समुदायलाई मैले दिएको योगदानका कारण मलाई सम्मान गरिएको हो भन्ने लाग्छ ।’ यसैगरी, २६ नोभेम्बर २०११ मा किरात येले संवत् अध्ययन समन्वय समितिले समेत उनलाई सम्मान गरेको थियो ।

१२ वर्षअघि रहरैरहरले रेडियोकर्मी भएका उनी हिजोआजय सार्वजनिक डटकममार्फत अनलाइन पत्रकारितामा क्रियाशील छन् । उत्पीडित समुदायको मुद्दा उठाउन साना मिडिया हाउस उपयुक्त देखिएको उनको बुझाइ छ ।

‘मूलधारको सञ्चारमाध्यमले सीमान्तकृत जाति, समुदाय र क्षेत्रको आवाजलाई खासै स्थान दिँदैनन् । त्यो उनीहरूको चरित्र पनि हो,’ उनको दाबी छ, ‘त्यसैले सीमान्तकृत, उत्पीडित जाति, समुदाय र क्षेत्रको विषय बहसमा ल्याएर सामाजिक न्याय र समानता स्थापित गर्न साना मिडिया हाउसले संसद्मा प्रतिपक्षको भूमिका खेलेजस्तै सञ्चारक्षेत्रमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्