धरान बसेर लामो समय पत्रकारिता गरेका भीम ज्वाला राईले आफू पत्रकारिता पेसामा आउँला भनेर कल्पनासमेत गरेका थिएनन् । राई पत्रकारितामा आउनुपछि रोचक किस्सा छ ।
कन्डक्टरले गाडीभाडा उठाउनेक्रममा झापाको दुधेमा आक्रमण भयो । गाडीभाडाको विषयले चर्को रूप लिएपछि चक्काजाम गरियो । उनले जानी–नजानी समाचार लेखे । धरानबाट ब्लास्ट दैनिक भर्खरै प्रकाशन सुरु भएको थियो । यो संवत् २०५३ सालको कुरा हो ।
‘आफूले लेखेको समाचार सम्पादक राजकुमार कार्कीलाई देखाएँ,’ उनले भने, ‘कार्कीले लेखनको प्रशंसा गर्दै लेखिरहन हौस्याए ।’ त्यसपछि भीम ज्वाला राईको ‘बाइलाइन’ समाचार प्रकाशित हुन थाल्यो । मजदुरको समाचार लेखेर पत्रकारिता यात्रा थालेका उनको रिपोर्टिङक्रममा नेताहरूसँगको संगत बढ्न थाल्यो । उनको परिचय फराकिलो बन्दै गयो ।
काँकडभिट्टामा ब्लास्टको सम्पर्क कार्यालय राखेर पत्रकारितामा सक्रिय रहेका उनले यातायात व्यवसायीको संस्थामा पनि उत्तिकै समय दिन्थे । समाचार लेख्न थालेको छोटो समयमै ब्लास्ट दैनिकको सहसम्पादकको भूमिका पाए ।
‘रिपोर्टिङ’ देखि ‘डेस्क एडिटर’ सम्मको भूमिका निर्वाह गरेका उनले दसवर्षे सशस्त्र जनयुद्धको अप्ठ्यारो समयमा पत्रकारितामार्फत आफूलाई स्थापित गरे । रिपोर्टरबाट सुरु भएको पत्रकारिता यात्रा सम्पादकको भूमिकामा पुगेको छ । उनले ०६२ देखि औजार साप्ताहिक (हाल : दैनिक) पत्रिका प्रकाशन गर्न थालेका थिए । औजार मोफसलको लोकप्रिय पत्रिकामा दरिएको छ । उनले औजारमार्फत थुप्रै पत्रकार जन्माए । रोहित राई, छेटु शेर्पा, पवन दिवसलगायतका पत्रकार औजारका उत्पादन हुन् ।
नेपाल यातायात मजदुर संगठन सुनसरी सदस्यबाट मजदुरको पक्षमा संगठित भएका उनी केन्द्रीय महासचिव हुँदै अध्यक्षको भूमिकामा छन् । संगठन, लेखनसँगै अध्ययनलाई निरन्तरता दिएका उनले काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरे । ‘जीवन संघर्ष हो, संघर्ष हो जीवन’ भन्ने उक्तिजस्तै उनको जीवन संघर्षैसंघर्षबाट उठेको हो । पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढेका उनले त्यसपछिको अध्ययन सिरहाको गोलबजारबाट सुरु गरे । स्कुल जाने साथीहरूको लावालस्कर भए पनि एसएलसी उत्तीर्ण गर्ने उनी र उनका मितबुवाको छोरामात्र भए । झोलामा मकैभटमास बोकेर बिहान सातै बजे घरबाट स्कुल हिँड्दाको अतीत बिर्सेका छैनन् । उनले पढाइ खर्च जोहो गर्न भर्लाको पात बेच्नेदेखि मजदुरीसमेत गरेका थिए ।
सामान्य परिवार । गाउँको बसाइ । उनका बुवा ऊबेला जनमोर्चाका कार्यकर्ता थिए । उनले मकैको थाँक्रामा लुकाएका कार्लमाक्र्स, चे ग्वेभारालगायतको जीवनी लुकीलुकी पढ्थे । उनको बुवा ०३६ मा जेल परे । भन्छन्, ‘अहिले बुझ्दा त्यतिबेला बुवा निर्मल लामा समूहको कम्युनिस्ट रहेछन् ।’ उसो त उनको घर कम्युनिस्टको सेल्टर मानिन्थ्यो । बैठक बस्थ्यो । सबै गतिविधि उनी नजिकबाट नियाल्थे । सुन्थे । पञ्चायती व्यवस्था ढाल्ने कुरा हुन्थ्यो । ‘कुरा सुन्दा पञ्चायती व्यवस्था खराब हो । कम्युनिस्ट विचारधारा सही लाग्न थाल्यो,’ उनको ठम्याइ थियो, ‘कम्युनिस्टले गरिब, मजदुर र भूमिहीनको हितमा काम गर्छ भन्ने लाग्थ्यो ।’
संवत् ०५० माघ एसएलसी दिएपछि अब के गर्ने भन्ने दोधारमा परे । उनका काका ०४३ तिरै धरान झरेका थिए । काकाले रानीसेवाको गाडी चलाउँथे । एसएलसीपछि उनी काकालाई भेट्न धरान पुगे । काका काठमाडौं गएका रहेछन् । फर्केपछि काकासँग भेट भयो । ०५१ वैशाखमा उनी धरान बस्नेगरी झरे । महेन्द्र बहुमुखी क्याम्पस धरानमा भर्ना भए । क्याम्पस पढ्न थालेपछि उनी राजनीतिमा डोरिए । अनेरास्ववियुमा संगठित भए ।
काकाको कमाइले मात्र पढ्न गाह्रो हुने बुझेपछि काम खोजे । काम पाएनन् । अन्ततः काकाकै रानीसेवामा काम गर्ने निधो गरे । १८३ नम्बरको गाडीमा काम पाए । ‘१५ दिन ट्रायलमा बस्नुपर्ने भयो,’ उनले विगत सुनाए, ‘त्यो बेला धरान–काँकाडभिट्टा कन्डक्टरको काम गरें । विभिन्न स्टेसनको नाम कण्ठस्थ पार्न कठिन थियो । ०६२ सम्म कन्डक्टरकै काम गरें ।’ गज्जबको गाडी जिन्दगी सुनाउँदै उनले कहिलेकाहीं गाडीभाडा विषयमा यात्रुसँग कुटाकुट हुने सुनाए । गाडी क्षेत्रका मजदुरमाथि हुने शोषण र अत्याचारविरुद्धमा आफूले जहिल्यै अघि सरेर बोल्ने र प्रतिकार गर्ने गरेकोमा उनी आफैंप्रति गौरवान्वित छन् ।