१०० प्रजाति चराको फोटा खिचिसकेका फोटोग्राफर



उनको नामै जो छ यात्रा । घरपरिवार र छोराछोरीको माखेसाङ्लोमा बाँधिएर साङ्लो चुँडाउँदै यात्रामा कुदिरहेका हुन्छन् उनी । यात्राको हरेक पल साथैमा हुन्छ क्यामेरा । सुनसरी तरहरानिवासी यात्रा थुलुङ आफूलाई फिरन्ता फोटो पत्रकार भन्न रुचाउँछन् ।

हुन पनि चाडबाडको रौनक छाइरहेको बेला दसैंको मुखमा यसपाला उनी काँधमा क्यामेरा भिरेर हिमालपारिका जिल्ला मनाङ, मुस्ताङ यात्रामा निस्केका रहेछन् । ‘ल्यान्डस्केप खिच्ने रहरले यता डोर्यायो,’ देशकै उचाइमा पर्ने थोराङ ला भन्ज्याङ (५,४१६ मिटर) पार गरेर मुक्तिनाथ झर्दै गरेका उनले भने । लामो समयदेखि उनी स्वतन्त्र रूपमा फोटो खिच्दै आएका छन् ।

ल्यान्डस्केप फोटो पत्रपत्रिकाबाहेक विभिन्न रेष्टुरेन्ट, कार्यालय र निजी प्रयोजनका लागि पनि बिक्री हुन थालेकोमा खुसी देखिएका थुलुङ आफ्नो १२ दिने यात्रामा केही बेखुस देखिन्थे । ‘प्रशस्तै ल्यान्डस्केप भेटियो, उपयुक्त मौसम उति भेटिएन,’ उनले सुनाए । तैपनि विश्वकै उचाइको तिलिचो ताल हुँदै थोराङ ला पिकका निकै तस्बिर खिच्न भ्याए उनले ।

ल्यान्डस्केप त मेरो कमाइको आधार हो,’ हिउँले अनुहार डढेका थुलुङ बिस्तारै खुल्दै गए, ‘खासमा मेरो सोख भनेको त चराको फोटो खिच्नु हो ।’ हुर्किबढेको आफ्नो ठाउँनजिकै ‘चराको राजधानी कोसी टप्पु’ रहेकाले उनलाई चरामा एकाएक लगाव बढेको रहेछ । उनले नेपालमा पाइने आठ सयमध्ये एक सय प्रजातिका चरा क्यामेरा कैद गरिसकेका छन् । चराका जात र स्वभावअनुरूप कुनै निश्चित समयमा देखिने र उनीहरूको आनीबानी सबै थाहा पाएर बल्ल फोटो खिच्न जानुपर्ने भएकाले प्रायलाई झन्झटिलो लाग्न सक्ने उनी ठान्छन् ।

‘चरासम्बन्धी पुस्तकमै चराका फोटा नभएर स्केच राख्ने हालत छ,’ आफ्नो भनाइ प्रस्ट्याउँदै उनले नेपालमा पाइने सबै प्रजातिका चराको फोटो लिन अझै नसकिएको बताए । खिचिएका फोटो पनि बिक्री हुन गाह्रो भएकाले विषयगत हिसाबले चराको फोटो खिच्ने सोखिन निकै कम रहेको उनको धारणा रहेछ । ‘बरु विदेशीले खिचेका फोटाहरू डलरमा किन्न तयार हुन्छन्, हाम्रै नेपालीले खिच्नेलाई विश्वास गर्दैनन्,’ उनले अनुभव सुनाए । तैपनि चराको फोटा खिचेरै उनले नेपाल वन्यजन्तु संरक्षण नेपालले गरेको राष्ट्रियस्तरको फोटो प्रतियोगितामा दुईपटक फुना (चराचुरुंगी र जनावर) विधामा विजेता बनेर ५० हजार रुपैयाँबराबरको पुरस्कारसमेत हात पारिसकेका छन् ।

विशेषतायुक्त जीवजन्तु अथवा कुनै वस्तुमा अध्ययन÷अध्यापन गर्ने व्यक्तिलाई नेपाली समाजले हेर्ने दृष्टिकोण अझै बनिनसकेको यात्राको धारणा छ । जस्तो पूर्वको विराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउने माछा विशेषज्ञ डा. भरत सुब्बा, पानीको लेउ विज्ञ डा. शिव राई अनि झापाका भ्यागुता विज्ञ कालुमान खम्बूबारे धेरैलाई जानकारी नरहेको यात्राले बताए ।

‘पूर्वमा रहेका यी विज्ञहरू आज काठमाडौंमुखी भएका भए उनीहरूको कत्रो नाम, काम हुन्थ्यो होला भन्ने मलाई लाग्छ,’ उनले भने । लोपोन्मुख चरा भुँडीफोरको फोटो खिचिसकेको बताउने उनलाई नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरको फोटो खिच्ने रहर रहेछ । वातावरण दिन सके नेपाल चरा पर्यटनका लागि समेत सम्भावनायुक्त ठाउँ रहेको उनको बुझाइ छ । भने, ‘यहाँ सानो क्षेत्रफलमा थोरै खर्चमा धेरै प्रजातिका चरा हेर्न पाइन्छ ।’

(कान्तिपुर दैनिकबाट)

 

प्रतिक्रिया दिनुहोस्