गायक पत्रकार



मोफसलमा पत्रकारिता गर्नेका लागि धरान उर्वर मानिन्छ । पत्रकारितामा रुचि नभए पनि अध्ययनक्रममा धरान झरेपछि उनले साहित्य लेख्न थाले । सुनसरीको धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दैगर्दा उनले साहित्य र अखबारी लेखन थाले । यो संवत् २०५४/०५५ सालको कुरा हो ।

त्यतिबेला उनले स्थानीय विभिन्न पत्रपत्रिकामा समाचार लेख्थे । लेख्दै जाँदा धरानबाट प्रकाशित ‘हाम्रो संस्कृति’ नामक मासिक पत्रिकाको सम्पादकको भूमिका पाए ।

स्नातक तहको अध्ययन पूरा गरी स्नातकोत्तर अध्ययनका लागि ०५७ मा काठमाडौं पसेको केही महिनापछि अशोक प्यासी राईले अन्नपूर्णपोस्ट दैनिकमा उपसम्पादकका रूपमा काम गर्न थाले । उपसम्पादकबाट अन्नपूर्णपोस्ट दैनिकको सहसम्पादकमा पदोन्नति भएका राईले सांस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारी पाएपछि जागिरबाट अलग भए । शिक्षण पेसामा लामो अनुभव सँगालेका उनी विशेषतः रंग पत्रकारितामा रमाइरहेका छन् ।

त्रिभुवन विश्वविद्यायबाट जनसंख्या र पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका उनी रंग पत्रकारितामा स्वच्छ छवि र शालीन व्यत्तित्वका रूपमा परिचित छन् । उनी चलचित्र विकास बोर्ड पूर्वसदस्यसमेत हुन् । उनको भनाइ छ, ‘पत्रकारितामा अन्य कार्यक्षेत्रभन्दा, रंग पत्रकारितालाई कलात्मक शैलीले प्रस्तुत गर्न सकिने भएकाले आफू रंग पत्रकारितामा लागेको हुँ ।’

पत्रकार राई गायक पनि हुन् । ०६२ मा सार्वजनिक पप गीतिएल्बम ‘रिफ्रेस’को ‘पानी मीठो ढुंगेधाराको’ र ‘यो जिन्दगी’ शीर्षाकृत गीत चर्चित छन् । गायनलाई निरन्तरता नदिए पनि उनले संगीतलाई व्यावसायिक रूपमा अँगाल्दै आएका छन् । उनले काठमाडौंको अनामनगरमा उच्च प्रविधियुक्त एक्सन रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् । एक्सन इन्टरटेनमेन्ट प्रालिमार्फत मिस मंगोल नेपाल, मिस लिट्टिल आइडललगायत विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्दै आएका पत्रकार राईले पत्रकारितासँगै संगीत र ‘इभेन्ट मेनेजमेन्ट’लाई व्यावसायिक रूपमा अगाडि बढाइरहेका छन् ।

काम गर्नेको कदर गरिन्छ । उनको कामको कदर गरिएकै छ । भानु स्वर्णपदक (नेपाल सरकार), त्रिमूर्ति सेवापदक (त्रिमूर्ति निकेतन), चलचित्र पत्रकारिता पुरस्कार (चलचित्र पत्रकार संघ), चलचित्र पत्रकारिता सम्मान (विन्ध्यावासिनी म्युजिक प्रालि) लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट उनी पुरस्कृत र सम्मानित भएका छन् ।

सन् २०१६ मा कोरियाको बुसानमा भएको एसियन फिल्म मञ्चको कार्यक्रममा नेपालको तर्फबाट सहभागी उनी मिस मंगोल, मिस लिट्टिल आइडलका ‘इभेन्ट डाइरेक्टर’ हुन् । मेहेले–९ सिदिङ्वा ताप्लेजुङनिवासी उनको बाल्यकाल गाउँमै बितेको थियो । मेहेलेमा रहेको निलगिरि माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनी उच्चशिक्षा अध्ययनका लागि इलाम पुगेका थिए । इलाममा रहेको महेन्द्र–रत्न बहुमुखी क्याम्पसबाट आईए गरेपछि स्नातक अध्ययनका लागि धरान झरे ।

धरान झरेपछि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै, धरानमै रहेको ब्रिटिस इङ्ग्लिस ल्याङ्वेज इन्स्टिच्युटमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा काम थाले । त्यही समय तरहरामा रहेको पूर्वाञ्चल सेकेन्डरी बोर्डिङ स्कुलमा माध्यमिक तहको शिक्षक रूपमा अध्यापन गरे ।

प्रतिक्रिया दिनुहोस्