भित्तेपात्रोदेखि बागियान साहित्यिक द्वैमासिक सम्पादनसम्म



काठमाडौंबाट फर्केपछि सुनसरीको तरहरामा रहेको बोर्डिङ स्कुलमा पढाउन थाले । लेखनको भोक–प्यासले पछ्याउन छाडेन । साहित्यमात्रै होइन, समाचार लेख्न मन तुल्बुलिएकै थियो । नेपाल प्रेस इन्स्टिच्युटले मोरङको विराटनगरमा तीनमहिने आधारभूत पत्रकारिता तालिम गर्ने सूचना जारी गर्यो । त्यस अवसरलाई उम्कन दिएनन् । तरहराबाट ३५ किलोमिटर दूरीमा रहेको बाटो तय गरी तालिमकै लागि चार महिना घरबाटै धाए । एनपीआईको १२औं ब्याचको तालिम संवत् २०६२ मा सम्पन्न भयो । उनी प्रथम भए ।

तालिमपछि इटहरीबाट प्रकाशित श्री जनमत साप्ताहिक (पछि दैनिक) मा जोडिए । यो ०६३ को कुरा हो । त्यसपछि आधिकारिक रूपमा पत्रकारितामा प्रवेश गरे । त्यहीबेला उनले गोरखापत्र दैनिकको धरान संवाददाताका रूपमा काम गर्ने अवसर पाए । उनी अर्थात् श्रीशीशा राईले आठ वर्ष गोरखापत्र दैनिकमा काम गरे ।

यसबीचमा उनले सुनसरीको धरानबाट प्रकाशित हाम्रो कोसी आवाज साप्ताहिक कार्यकारी सम्पादक, मर्निङ टाइम्स दैनिक उपसम्पादक, बाइलाइन साप्ताहिक सम्पादक, पहिचानपत्र साप्ताहिक सम्पादक, इसमता डटकम पूर्वाञ्चल प्रतिनिधि, थाहा मिडिया सुनसरी संवाददाताको भूमिका निर्वाह गरे । हिजोआज उनी धरानबाट प्रकाशित फास्ट टाइम्स दैनिकसँग आबद्ध छन् ।

किरात राई पत्रकार संघ सुनसरी संस्थापक अध्यक्ष, केन्द्रीय उपाध्यक्ष हुँदै सल्लाहकार छन् । उनी तात्कालिक प्रेस सेन्टर नेपाल सुनसरी अध्यक्ष र प्रदेश सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रीय सभासद्का रूपमासमेत कार्यरत छन् ।

बीएस्सी पढ्न काठमाडौं पसेका पत्रकार राईले सोचेजस्तो प्रगति गर्न सकेनन् । साहित्यकार र नेता बन्ने सपना सपनामै सीमित रह्यो । त्यही समय काठमाडौं छाड्नुपरेपछि धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट छुटेको पढाइलाई निरन्तरता दिए । नेपाली, समाजशास्त्र र ऐच्छिक पत्रकारिता राखेर स्नातक उत्तीर्ण गरे । राजनीतिशास्त्रमा स्नातकोत्तरपछि अध्यापनका लागि बाटो खुल्यो । सँगैसँगै बीएड गरे ।

‘पत्रकारितालाई हतारको साहित्य भनिए पनि अन्ततः लेखन र पठनकै विषय हो,’ उनको बुझाइ छ, ‘बौद्धिक क्षेत्र हो । उच्चशिक्षा अध्यापन गर्नु गराउनु पनि एकेडेमिक लाइन भन्ने सोचअनुरूप प्राध्यापनतिर रुचि बढ्यो ।’ धरानको नेसनल एकेडेमी कलेजमा प्राध्यापनरत उनले पत्रकारिता र प्राध्यापन दुवै एकेडेमिक क्षेत्र भएकाले दुवैलाई सँगसँगै अघि बढाउँदा एक–अर्कालाई सहयोग पुग्ने उनको भनाइ छ ।

सगरमाथा माध्यमिक विद्यालयले गरेको कविता प्रतियोगितामा प्रथम भएर पुरस्कृत भएपछि उनको मस्तिष्कमा साहित्यको भूत सवार भयो । उनले प्रतियोगिताबाहेकका समयमा आफ्ना मनोभावनालाई लेखनबाट व्यक्त गर्न थाले । ‘दाइ मित्र राईसमेत कवि भएकाले उनले लेखेका कविता सुनाउथे,’ उनले लेखनको सुरुवातबारे बयान दिए, ‘दाइले अब तिमी पनि राम्रो लेख्न थाल्यौ भनेपछि झन् हौसिएँ ।’

विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमका लागि गीत लेख्नेक्रम आईएस्सी पढ्दासम्म चलिरह्यो । लेखन प्यास मेटाउने क्याम्पसमा एक्लैले भित्तेपात्रो प्रकाशन गरे । धरानबाट प्रकाशन हुने पत्रिकाका लागि कविता तथा आलेख पठाइरहे ।

बीएस्सी पढ्न पाटन क्याम्पस ललितपुर भर्ना भएका उनले साहित्यिक गतिविधि छाडेनन् । सांगठनिक गतिविधि बिर्सन सकेनन् ।
इटहरी उपमहानगरपालिका–२० तरहरा, हाँसपोसा सुनसरीनिवारी उनले घर फर्केपछि साहित्यिक गतिविधि बाक्लो बनाए । स्थानीय पत्रिकामा स्तम्भ लेखे । धरानका पुराना कवि वेणु आचार्य, बद्री पलिखेहरूको सम्पर्कमा पुगे । ०५९ मा विमल गुरुङ स्मृति पुस्तकालय सञ्चालक समिति सदस्य भई काम गर्ने अवसर पाए । त्यही समय पुस्तकालयको मुखपत्र ‘इँटा’ सम्पादन गरे । पुस्तकालयले ०६४ मा उनलाई युवा प्रतिभा सम्मानबाट सम्मानित गर्यो । उनको ‘चेतनाहरू चबाएर’ कवितासंग्रह प्रकाशित छ ।

साहित्य र पत्रकारितामा क्रियाशील उनलाई अच्छा राई रसिक साहित्य प्रतिष्ठानले पुरस्कृत गरेको थियो । उनी बागियान साहित्यिक द्वैमासिक सम्पादन गर्छन् । ‘पहिचान साहित्यका लागि साहित्यिक पत्रिकारिता’ भन्ने मूल अवधारणासहित प्रकाशन हुँदै आएको वागियानमामार्फत पहिचान साहित्य लेखनको नयाँ धारलाई मौजुदा साहित्यमा पदार्पण गर्ने कोसिस गरिरहेको उनी दाबी गर्छन् ।

साबिक सिन्द्राङ–९ (हाल : हतुवागढी गाउँपालिका–३) भोजपुरमा जन्मेका राईको परिचय बहुआयामिक छ । ०३५ साउन २७ गते जन्मेका उनी विद्यार्थी जीवनदेखि नै अध्ययन, अतिरिक्त क्रियाकलाप आदिमा अब्बल थिए । उनको नागरिकताको नाम श्रीप्रसाद राई हो ।
उच्चशिक्षा अध्ययनका लागि धरान झरेका उनी हात्तीसार क्याम्पस आईएस्सीमा भर्ना भए । विद्यालय जीवनमा पाएको वाहवाहीको चर्चा हात्तीसार क्याम्पसमा भर्नासँगसँगै पुगिसकेको थियो । त्यसो भएकाले विद्यार्थी संगठनले उनलाई छोड्ने कुरै भएन । ‘पढ्ने, संगठनमा नलाग्ने’ अड्डी कसे पनि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा संगठनले सचिवको उम्मेदवार बनाएरै छाड्यो । उनले सबैभन्दा बढी मत पाएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस्