लकडाउन लम्बिएपछि करोडौंको केरा बारीमै सड्दै


कैलाली । लकडाउन लम्बिएपछि टीकापुर कैलालीका केरा किसानका केरा बारीमै कुहिन थालेका छन् । किसानले उत्पादित केरा बजारमा लैजान नपाएपछि बारीमै सड्न थालेको हो ।

करोडौं मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरूको गुनासो छ । ‘केरा किसानका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा लैजान नपाएपछि समस्या भएको छ,’ कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाहले भने, ‘हामी त घाटामा गयौं । दैनिक लाखौंको केरा खेर गइरहेको छ ।’

शाहले अहिलेसम्म ३० लाखको केरा नोक्सान भइसकेको बताए । ‘कहिलेसम्म लकडाउन हुन्छ, थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले,’ शाहले थपे, ‘आउँदो वर्षका लागि तयार हुंँदै गरेका केरा मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’

८० बिघामा केरा खेती गरेका उनका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पर्नेछ । केरा व्यवसायीको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे ।

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले ११ लाख रुपैयाँबराबरको केरा खेर जाने अवस्था आएको बताए । १३ बिघामा व्यावसायिक रूपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक तीन सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । ‘बारीमा केरा सडिरहेको छ । त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु,’ चौधरी भन्छन्, ‘उपभोक्ताले खान पाएका छैनन् । हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्वमै समस्या छ ।’

अंशु एन्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुंँवर पनि २७ लाखबराबरको केरा कुहिएर खेर गएको बताउँछन् । ‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन । सबै कृषकको केरा बारीमै सडेको छ,’ कुंँवर भन्छन्, ‘हामी ऋण गरेर व्यवसाय गरेका किसान समस्यामा परेका छौं ।’

कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्