प्रकाश अर्थात् उज्यालो । प्रकाश खालिङ त्यही उज्यालो छर्ने कोसिस गरिरहेका छन् । खालिङ संवत् २०४६ भदौ १० गते बुवा लाकवीर राई र आमा जसिमाया राईको कोखबाट सोलुखुम्बुको राप्छामा जन्मेका हुन् । २०६४ देखि पत्रकारिता अध्ययनसँगसँगै पत्रकारिताको औपचारिक सुरुवात गरेका थिए । पत्रकारितामा आफ्नो समुदायको कोही नभएका कारण उनलाई सिकाउने र सल्लाह दिने नहुनु स्वाभाविकै हो । तर, उनी यो क्षेत्रमा स्थापित हुन्छु भन्ने कम्मर कसेर लागिपरे ।
छोटो समयमा पत्रकारिताबाट आफूलाई स्थापित गर्नेमध्ये उनी पनि एक हुन् । उनले अहिले आफ्नै ब्रान्डका रूपमा शिखरपोस्ट मिडिया स्थापना गरेका छन् । उनी अध्यक्ष रहेको शिखरपोस्ट मिडियाअन्तर्गत शिखरपोस्ट पाक्षिक हुँदै अहिले शिखरपोस्ट डटकम र शिखर अनलाइन टीभी सञ्चालनमा छ । भन्छन्, ‘इच्छाशक्ति अनि निरन्तर संघर्षका साथै आफूमा भएको फरक क्षमताको प्रतिफल हो– शिखरपोस्ट मिडिया ।’
पत्रकारिता गर्ने सिलसिलामा यसअघि थुप्रै मिडिया हाउससँग जोडिएर काम गरेको उनीसँग अनुभव छ । कोसी मासिकबाट थालेको पत्रकारिता यात्राले निरन्तरता पाएकै छ । पर्यटन पत्रकारितामा जमेका उनी कोसी मासिकपछि गन्तव्य नेपाल साप्ताहिकको वरिष्ठ संवादाताका रूपमा काम थाले । आर्थिक दैनिकमा साढे दुई वर्ष जागिरे जीवन बिताए । त्यसपछि पुनः गन्तव्य नेपाल साप्ताहिकमै कार्यकारी सम्पादक भएर काम गरे ।
छापामाध्यममा काम गर्दै गरेका उनलाई टेलिभिजनमा काम गर्ने इच्छा भयो । त्यही इच्छाशक्तिले एस टेलिभिजनमा पर्यटन संवाद नामक कार्यक्रम सञ्चालन गरे । न्युज २४ टेलिभिजनमा समेत काम गरेको अनुभव छ । यसबीचमा उनले खालिङ समुदायसँग जोडिएर काम गर्न जाँगर चलाए । उनले सुन्म्यसङ स्थापना गरी खालिङ समुदायभित्र पत्रकारिताप्रतिको आकर्षण बढाउने कोसिस गरे । त्यस पत्रिकाको संस्थापक प्रधानसम्पादक हुन् । सुन्म्यसङ खालिङ संस्थाको मुखपत्रका रूपमा प्रकाशित हुँदै आएको छ ।
किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका उनी किरात राई विद्यार्थी संघ आरआर क्याम्पस इकाइ समिति सचिव भएर काम गर्दैगर्दा यलम्बर पत्रिकाको सम्पादकको भूमिका निर्वाह गरे । आफ्नो क्षेत्र र समुदायको उत्थानलाई विशेष जोड दिएका उनले पत्रकारितालाई व्यावसायिक रूपमा अँगाल्दै, त्यस माध्यमबाट सिंगो समुदायको उत्थानमा केही योगदान पुर्याउन पाउँदा गौरवान्वित छन् ।
पत्रकारितामा करिअर बनाएका खालिङले छापामाध्यमका अलावा उद्घोषणमा समेत आफूलाई स्थापित गर्न सफल छन् । उद्घोषणमा समेत त्यत्तिकै व्यस्त छन् । उनी विशेषगरी औपचारिक कार्यक्रम सञ्चालनमा दख्खल राख्छन् । उनले दर्जनौ राष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गरिसकेका छन् । गरिरहेका छन् । प्रस्ट र दमदार आवाजका साथै प्रत्येक विषयवस्तुलाई गहन र सूक्ष्म ढंगले विश्लेषण गर्न सक्ने क्षमता भएकाले उनको उद्घोषणकला सुन्नेले मन पराउँछन् ।
कास्कीको पोखरामा रहेको फेवातालको मध्यभागमा आयोजित स्टेज कार्यक्रम होस् या विभिन्न पाँचतारे होटलमा आयोजित कार्यक्रम हुन् या त विगत केही वर्षदेखि ठमेलको सडकमा दसौं हजार मानिसबीचमा आयोजना गरिने न्यु इयर इभमै किन नहोस् उनको उद्घोषण दमदार रह्यो । जसले गर्दा यस क्षेत्रमा उनको चर्चा ह्वात्तै बढ्यो ।
कक्षा पाँचमा पढ्दादेखि नै कार्यक्रम सञ्चालन गर्न सुरु गरेका उनले गाउँमा विभिन्न क्लब खोलेर कार्यक्रम गर्थे । कार्यक्रम आफैंले सञ्चालन गर्थे । सानैदेखि उद्घोषण क्षमता भए पनि अवसर नपाएकाले यसअघि आफूमा भएको कला प्रस्फुटन हुन नसकेको उनी बताउँछन् । उनले पत्रकारिता तथा उद्घोषणसम्बन्धी राष्ट्रियस्तरका थुप्रै तालिम लिएका छन् ।
पत्रकार तथा उद्घोषणको अलावा उनी सानैदेखि विभिन्न संघ–संस्थाको निर्णायक पदमा समेत पुगिसकेका छन् । खालिङ समुदायको छाता संगठन किरात खालिङ राई उत्थान संघका पूर्वकेन्द्रीय महासचिवसमेत रहेका उनी राष्ट्रिय पर्यटन पत्रकार संघका केन्द्रीय उपाध्यक्ष, सोलुखुम्बु–काठमाडौं पत्रकार समाज अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् ।
आफूले पाएको जस्तोसुकै जिम्मेवारी सम्पन्न गर्न दृढता र इमानदारीसाथ लागिपर्ने पत्रकार खालिङले हालसम्म दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वपर्यटनमन्त्री पोस्टबहादुर बोगटी, पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटा, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वमन्त्री गोपाल किराती, पूर्वएआईजी रामकाजी बान्तावा, राष्ट्रियगान सर्जक व्याकुल माइलालगायतको हातबाट उनले राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसकेका छन् । उनले पुरस्कार लिनेक्रममा २०७४ मा एकै दिन दावानोर्बु पत्रकारिता पुरस्कार र उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार २०७४ प्राप्त गरेका थिए ।