जनपक्षीय पत्रकारिताको चर्चा गर्नुअघि नेपाली सञ्चारमाध्यमका केही कटु यथार्थबाट आलेख आरम्भ गर्छु । जसरी अधिकांश दक्षिण अमेरिकी मुलुकमा संयुक्त राज्य अमेरिकामा उत्पादन भएको ९० प्रतिशतभन्दा बढी टेलिभिजन कार्यक्रमम प्रसारित हुने गर्छ, त्यसरी नै नेपाली समाजमा भारतीय टेलिभिजन कार्यक्रममको वर्चश्व रहेको छ । अझ भारतीय चलचित्र, गीत–संगीतको प्रभाव त झन् नेपाली समाजमा सभ्यताको मापनजस्तो बन्न पुगेको छ । सोझो अर्थमा भन्ने हो भने नेपाली समाजको बालयुवा र वृद्धा तीनवटै पुस्ताको मनोविज्ञानको निर्माण तिनै भारतीय टेलिभिजनले गरिरहेका छन् । एउटा भारतीय टेलिशृंखलाको प्रभाव नेपाली समाजको पति–पत्नीको सम्बन्धमा प्रतिविम्बित हुन्छ । एउटा किशोरको सपना काल्पनिक भारतीय चलचित्रले निर्माण गरिदिन्छ । नेपाली वृद्धवृद्धाको अनुभवी समय भारतीय धार्मिक सिरियलले बिताइदिन्छ ।
नेपाली समाजमा भारतीय टेलिभिजनको यस्तो एकाधिकार प्रसंगलाई छाडेर मुलुकको स्थापित दैनिक अखबार, टेलिभिजन वा रेडियोको व्यवस्थापकीय पक्षलाई हेर्ने हो भने ७५ प्रतिशतभन्दा बढी त्यस्ता सञ्चारमाध्यम बहुराष्ट्रिय कम्पनीको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा चल्ने गरेका छन् । बाँकी करिब २० प्रतिशत सञ्चारमाध्यम देशका ठूला व्यापारी, प्रशासक तथा शासक वर्गको निगाहामा एउटा खुट्टा टेकेर उभिएका छन् । राष्ट्र र जनताको पक्षमा उभिने करिब पाँच प्रतिशत सञ्चारमाध्यमको अवस्था अन्तिम अवस्थामा घाटे वैद्यको भरोसामा घाट पु¥याइएको बिमारीजस्तो रहेको छ । एक दशकअघिसम्म वैकल्पिक मिडियाको भूमिका निर्वाह गरिरहेका केही साप्ताहिक तथा मासिक पत्रिका या त बन्द भएका छन् या त आफ्नो रङ बदलेर घिस्रिरहेका छन् । नेपालको युगान्तकारी परिवर्तनको संवाहकका रूपमा जनयुद्धकालमा सञ्चालित एफएम रेडियो संग्रहालयमा झैं शोभा बढाएर थन्किएका छन् । निजी क्षेत्र र समुदायको स्वामित्वमा रहेको एफएम रेडियारू भोल्टेज कम हुँदा टेलिभिजनमा देखिने अस्पष्ट परिदृश्यजस्तो हुन पुगेको छ । पछिल्लो चरण विकास भएका अनलाइन बिग्रिएका दिशासूचक यन्त्रजस्तो दिशाविहीन बन्न पुगेका छन् ।
यस्तो किन भयो ? एक्काइसौं शताब्दीको पहिलो दशकमा संसार थर्काउने क्रान्तिकारी आन्दोलन अघि बढेको मुलुकमा किन वैकल्पिक धारको मिडिया विकास हुन सकेन ? किन ‘पुँजीवादी मिडिया मिसन’को टाङमुनि छिरेर ‘जनपक्षीय मिडिया मिसन’ आत्मसमर्पण गर्न बाध्य हुनुप¥यो ? किन जनपक्षीय मिडियाको धार यति कमजोर बन्न पुग्यो ? पुँजीको सिकन्जामा कैद कथित प्रेस स्वतन्त्रता बुर्जुवालाई झैं किन हामीलाई पनि वास्तविक र सुन्दर लाग्न थाल्यो ? किन हामीले पुँजी निर्देशित कथित मूलधारको व्यावसायिक पत्रकारिता जनपक्षीय पत्रकारिताभन्दा सफल ठान्न थाल्यौं ? मुलुक संघीयतामा गएर प्रशासनिक संरचनामा ठूलो फेरबदल आउँदा पनि सञ्चार क्षेत्रको पुनःसंरचनाको मुद्दा किन बलशाली हुन सकेन ? किन साना लगानीका मिडिया जुन राष्ट्र र जनताको पक्षमा उभिन्छन्, तिनलाई प्रोत्साहित गर्ने एउटा सानो काम पनि गर्न सकिँदैन ? यी र यस्ता अनेकौं प्रश्न नेपालका क्रन्तिकारी पत्रकारसामु अत्यन्त पेचिलो प्रश्न बनेर उभिएको छ । यी सबै प्रश्नको समीक्षा वा उत्तर खोज्नु यो लेखमा सम्भव छैन । र, हुँदैन पनि । यस आलेखमा केवल जनपक्षीय पत्रकारिताबारे पछिल्लो चरण फैलाइएको भ्रमबारे सामान्य टिप्पणी गर्नुमात्र रहेको छ ।
समाज विकासको प्रत्येक ऐतिहासिक चरणको आ–आफ्नो विशेषता रहेको छ । दासयुगमा भौतिक शक्ति नै शासन गर्ने माध्यम बन्यो । जसले भौतिक अर्थात् शारीरिक एवम् श्रमशक्तिमाथि नियन्त्रण गर्न सक्यो, त्यही व्यक्ति शासक बन्यो । सामान्तवादी युगमा भूमिमाथिको बढीभन्दा बढी नियन्त्रण र त्यसलाई स्थायित्व दिन गरिएको धार्मिक मनोविज्ञानको सिर्जना नै यस युगको शासन प्रणालीको रक्षा कवच बन्न पुग्यो । तर, हामी बाँचेको पुँजीवादी युगको चरित्र अघिल्लो दुई युगको भन्दा फरक रहेको छ ।
पुँजीवादी शासन–प्रणालीको प्रारम्भिक जग ठूला सैन्य शक्ति र हतियारको बलमा हालियो । तर, यसलाई टिकाउन उसले नयाँ हतियार खोजी ग¥यो । दोस्रो विश्वयुद्धको अनुभवपश्चात् सैन्य शक्ति र हतियारभन्दा ठूलो वैकल्पिक हतियारका रूपमा उसले सञ्चारमाध्यमलाई अघि सा¥यो । परिणामस्वरूप पुँजीवादी शासकको संरचनागत लगानीमा ठुल्ठूला कर्पाेरेट मिडिया जन्म्यो । तिनै पुँजीवादी मिडियाले आजको दुनियाँमा उसको पक्षमा जनमत सिर्जना गरिरहेको छ । सामाजिक सत्ताको संरचना एकपछि अर्काे बलियो बनाउँदै गइरहेको छ । पुँजी नियन्त्रित कथित ‘प्रेस स्वतन्त्रता’ र निष्पक्षताको नाममा पुँजीवादी सत्ताको पक्षमा जनमत सिर्जना गर्नु र पत्रकारितालाई निवर्गीय पेसाका रूपमा स्थापित गरेर समाजमा वैचारिक अराजकता पैदा गर्नु नै पुँजीवादी सञ्चारमाध्यमको सबैभन्दा ठूलो अभीष्ट रहेको छ । कथित व्यावसायिकताको जामा पहि¥याएर समाजमा पुँजीवादी विचारको वर्चश्व कायम गर्नु नै पुँजीवादी सञ्चारमाध्यमको प्रखुम लक्ष्य रहेको प्रस्ट छ ।
यसरी एकातिर पुँजीवादी सत्ता संरचनाले विश्वव्यापी रूपमा ‘कर्पाेरेट मिडिया’को संस्थागत विकासद्वारा आफूलाई बलियो बनाउँदै लगेको छ भने अर्काेतिर वैकल्पिक धारको मिडिया ठूलो अन्योल र भ्रमको बीचबाट गुज्रिरहेको छ । पछिल्लो चरण जनपक्षीय मिडियामा आएको सबैभन्दा ठूलो विचलन लक्ष्य र उद्देश्यप्रति अस्पष्ट हुनु हो । वर्गसंघर्षमा आएको फेरबदललाई नै लक्ष्य र उद्देश्यको फेरबदल ठान्ने गलत चिन्तनको कारण जनपक्षीय मिडियाको धार कमजोर हुँदै जान थालेको छ । यस्तो चिन्तनले वर्गपक्षधरताको धारलाई कमजोर मात्र बनाएको छैन, वर्ग समन्वयको नयाँ संशोधनवादी धारको आकारसमेत ग्रहण गर्न पुगेको छ । यस्तो चिन्तनधाराले पुँजीवादी सत्ता संरचनाले खडा गरेको कर्पाेरेट मिडियालाई सफल, व्यावसायिक र मूलधारको पत्रकारिताका रूपमा व्याख्या गर्ने र आफूहरूलाई त्यही कित्तामा उभ्याउने कोसिस गर्दै आइरहेको छ ।
निश्चय नै स्रोत–साधन र प्रविधि प्रयोग एवम् सामाजिक प्रभाव र व्यवस्थापकीय कोणबाट उनीहरू हामीभन्दा श्रेष्ठ देखिएका छन् । त्यो मुख्य कुरो होइन, मुख्य कुरो त सञ्चारमाध्यमले बोक्ने एजेन्डा हो । कुनै पनि सञ्चारमाध्यमको चरित्र उसले बोक्ने एजेन्डाले निर्धारण गर्छ । जनपक्षीय सञ्चारमाध्यमको आधारभूत र प्राथिमिक सर्त भनेको जनता, राष्ट्र र समकालीन समाजको आवश्यकताको सम्बोधन र आत्मसात् हो । सामूहिक चिन्तन र संस्कृति विकास जनपक्षीय माध्यमको अन्तर्वस्तु हुने गर्छ भने पुँजीवादी माध्यमले समाजलाई व्यक्तिमा लगेर विघटन गर्न खोज्छ । पुँजीवादी चिन्तनधाराले प्रत्येक व्यक्तिलाई सूचना प्राप्तिलाई अधिकारका रूपमा अथ्र्याउँछ र सूचना प्रविधिमाथिको पहुँचलाई नै आफ्नो स्वतन्त्रता हो भन्ने मनोविज्ञान विकास गराउँछ । उसले सूचनाको चरित्र र आफू बाँचेको समाजलाई त्यसले कस्तो प्रभाव पारिरहेको छ भन्ने हेक्का राख्दैन । यसरी जनपक्षीय पत्रकारिताको पहिलो चुनौती भनेको यस क्षेत्रमा देखापरेको सैद्धान्तिक अस्पष्टता नै हो । त्यसैले पुँजीवादी सञ्चारमाध्यमले खडा गरेको भ्रम र अन्योल चिर्दै समाजवाद प्राप्तिको ध्येयमा सतिसाल भएर उभिनु नै आजको क्रान्तिकारी पत्रकारको पहिलो दायित्व हो ।
जनपक्षीय सञ्चारमाध्यमको अघि देखापरेको अर्काे प्रमुख चुनौती भनेको व्यवस्थापनको प्रश्न हो । व्यवस्थापनको प्रश्न मुख्य रूपले स्वामित्वको प्रश्नसँग जोडिएको हुन्छ । पुँजीवादले बहुराष्ट्रिय कम्पनीमातहत सञ्चारमाध्यमलाई संकेन्द्रित गरेको छ । उसको यो नीति आर्थिक व्यवस्थापनको पाटोमा मात्र नभएर, सम्पादकीय नीतिको पनि संकेन्द्रन हो । त्यसैले विकासशील वा विकासोन्मोखु जुनसुकै राष्ट्रमा भए पनि संसारभरका पुँजीवादी सञ्चारमाध्यमको मूलभूत चरित्र एउटै हुने गर्छ । उदाहरणका लागि नेटो सैनिकले गरेको आक्रमणप्रति अमेरिका, बेलायत वा नेपालमा सञ्चालित पुँजीवादी मिडियाको एउटै स्वर हुने गरेको छ । त्यसलाई नाजायज भनेर प्रश्न उठाउने हिम्मत कसैले जुटाउन सक्तैनन् । यो पुँजीवादी सञ्चारमाध्यमको सम्पादकीय नीति केन्द्रीकरणको प्रतिविम्बन हो । विश्वव्यापी रूपमा जनपक्षीय सञ्चारमाध्यमको यस्तो संरचना तत्काल सम्भव छैन तर आ–आफ्नो विशिष्टतामा अलग–अलग देशमा यस्तो केन्द्रीकृत संरचनाको अभ्यास गर्न सकिन्छ । जनयुद्धकालताका नेपालमा त्यसप्रकारको अभ्यास भएको थियो ।
सूचना सम्प्रेषणको त्यो जटिल परिस्थितिमा पनि पूर्व, मध्य वा पश्चिम अथवा प्रवासमा समेत हाम्रो सञ्चारमाध्यमको भाषा एउटै हुने गथ्र्याे । त्यस्तो जोखिमपूर्ण अवस्थामा पनि हाम्रा सञ्चारमाध्यम कति सशक्त र प्रभावकारी थिए भन्ने कुरा आज गर्वको विषयमात्र बन्न पुगेको छ । आजको सहज परिस्थिति र जनशक्तिको केन्द्रीकरणले पनि किन हिजोको त्यो गौरवमय विरासत धान्न सकेन ? उत्तर सरल छ— हामीभित्र पुँजीवाद छि¥यो । छिर्न त अरू वादहरू पनि छि¥यो तर मूल रूपमा पुँजीवाद छि¥यो र हामीलाई व्यक्तिमा विघटन गरिदियो । हिजो हाम्रो सामूहिक शक्ति र संरचना थियो । स्वामित्वको प्रश्न बलिदानको गौरवगाथासँग जोडिएको थियो । आज हामी छुट्टाछुट्टै छौं । छुट्टिएर पुँजीवादसँग एकाकार हुनुमा गौरवबोध गरिरहेका छौं । आफ्नो र आफ्नो परिवारको स्वामित्व राखेर प्रकाशन गृह बनाउने र समाजवादको समपना बाँड्ने पाखण्डी चिन्तन हामीमा हाबी भएको छ । अथवा कुनै दलाल व्यापारीसँग जनयुद्धको गौरवगाथासँग जोडिएको विरासत बेचेर आफूलाई क्रन्तिकारी धारकै पत्रकारिता गरिरहेको छु भन्ने मनोरोगले ग्रसित भइरहेका छौं ।
सबैभन्दा पहिले हामीले विकृतिको भुमरीबाट निस्कन जरुरी छ । हाम्रो कमजोर भएको वर्गपक्षधरतालाई हामी सबैले फिर्ता ल्याउन सक्यौं भनेमात्र पनि यसप्रकारको संरचना निर्माण प्रक्रियामा आधा अघि बढाउन सकिन्छ । मुलुक संघीय संरचनामा गएपछि सातवटा संघीय राज्य निर्माण भए । सातवटा संघीय राज्यहरूमा प्रत्येक राज्यमा कम्तीमा जनताको एउटा रेडियो, एउटा टेलिभिजन, एउटा दैनिक पत्रिका र तीनवटा साप्ताहिक तथा आवश्यकतानुसार अनलाइनको अवधारणा अघि सारिनुपर्छ । ती सञ्चारमाध्यमको स्वामित्व पार्टी समर्थक, राष्ट्रिय उद्योगपति र सञ्चारसम्बद्ध संगठनका त्रिपक्षीय सहकारिताको मोडेलमा निर्माण गर्न सकिन्छ । यस्तो साझा स्वामित्वको मोडेलबारे गम्भीर छलफलद्वारा एउटा साझा र वैज्ञानिक निष्कर्षमा पुग्न सकिन्छ । यो संरचनाले व्यवस्थापकीय विधिको नयाँ विकास गर्नेछ । विगतमा पार्टीले सञ्चारमाध्यममा गरेको लगानी या त पूर्ण रूपमा असफल भयो या त दलालीकरणमार्फत निजी सम्पत्तिमा रूपान्तरित हुन पुग्यो । यसो हुनुका कारण नीतिमा आएको विचलनमात्र नभएर, विधिको विकास हुन नसक्नु पनि हो । व्यवस्थापनमा सँगै जोडिएर आउने अर्काे पक्ष विज्ञापन र विक्रमी वितरण प्रणाली हो । नेपालमा विज्ञापनको साठी प्रतिशतभन्दा बढी हिस्सा बहुराष्ट्रिय कम्पनीको नियन्त्रणमा छ ।
यसको एक प्रतिशत हिस्सा पनि जनपक्षीय माध्यमले पाउन सक्ने अवस्था छैन । करिब तीस प्रतिशत हिस्सा ओगट्ने सरकारी विज्ञापन पनि प्रशासनिक संयन्त्रमार्फत पुँजीवादी सञ्चारमाध्यमकै स्रोत बन्ने गरेको छ । बाँकी रहेको दस प्रतिशत पनि प्रभावको नाममा तिनै ठूला मिडियाको खोजीमा हुन्छन् । यस्तो अवस्थामा पार्टीले प्रचार विभामार्फत नयाँ व्यवस्थापकीय नीति बनाउन जरुरी छ । सरकारमा रहँदा समानुपातिक विज्ञापन नीति परिमार्जनसहित व्यावहारिक रूपमा कार्यान्वयन गरी सरकारी विज्ञापनको मुख्य हिस्सा साना लगानीका मिडियामा केन्द्रित गरिनुपर्छ । बहुराष्ट्रिय कम्पनीको नियन्त्रणमा रहेको विज्ञापनको हिस्सालाई राष्ट्रिय विज्ञापन नीति बनाई, उसको एकाधिकारवादी चरित्रलाई भत्काउने हिम्मत गर्नुपर्छ । बाँकी दस प्रतिशतको हिस्सालाई जनपक्षीय सञ्चारमाध्यमको विश्वसनीयता वृद्धि गर्दै आफ्नो पक्षमा तान्न सक्नुपर्छ । यसरी जनपक्षीय सञ्चारमाध्यमको विकास र रक्षा सामान्य सहकारी निर्माण गरेर होइन एउटा हस्तक्षेपकारी सशक्त अभियान चलाएरमात्र सम्भव हुन्छ । विज्ञापनको स्रोतबाट व्यवस्थापकीय पक्षमा टेवा पुग्न थालेपछि स्वतः मिडियाको अन्तर्वस्तुको पाटो बलियो हुँदै जान्छ र हाम्रोजस्तो कम्युनिस्ट बहुल मुलुकमा जनपक्षीय मिडियाको माग बढ्न थाल्नेछ । यसलाई सहज बनाउन देशव्यापी रूपमा वितरण सञ्जाल निर्माण जरुरी छ ।
आजको सन्दर्भमा नेपालमा जनपक्षीय पत्रकारिताको कुरा गर्दा साना लगानीका मिडिया केन्द्र भागमा आउने गर्छ । राजधानीभित्र ठूला लगानीको मिडिया अर्थात् पुँजीवादी कर्पाेरेट मिडियाको छायाँमा प्राण धानिरहेका साना मिडिया र अधिकांश मोसफलबाट कष्टपूर्ण यात्रामा घस्रिरहेका साना लगानीका मिडियाले आजका नेपालमा जनपक्षीय सञ्चार कर्मको विरासत धानिराखेका छन् । यिनै मिडियाको रक्षा र विकास सही अर्थमा जनपक्षीय सञ्चारकर्मको रक्षा हुन पुग्छ । जनपक्षीय सञ्चारमाध्यमको अन्तर्वस्तुलाई लिएर पछिल्लो चरण अलि बढी नै भ्रम छर्न खोजिएको छ । पुँजीवादी सत्ता संरचना रक्षाका लागि कर्पाेरेट मिडियाले जुन अन्तर्वस्तु सम्प्रेषण गरिरहेको छ, त्यही अन्तर्वस्तुबाट जनपक्षीय पत्रकारिता पनि प्रभावित हुँदै गइरहेको छ । पुँजीवादी मिडियाले राजनीतिक र सांस्कृतिक रूपमा यथास्थितिको पक्षपोषण गरिरहेका हुन्छन् । आर्थिक उत्पादन सम्बन्धलाई पनि आफ्नो हितअनुकूल व्याख्या गर्ने तथा आमजनतामा भ्रमपूर्ण चेतना निर्माण गर्नु नै पुँजीवादी सञ्चारमाध्यमको मुख्य अन्तर्वस्तु हुने गरेको छ ।
पुँजीवादी विचारधारा निर्माण गर्ने उपकरणका रूपमा रहेको यस्ता मिडियाले शासकको दृष्टिबाट संसार हेर्न र बुझ्न सिकाउँछ । पछिल्लो चरण जनपक्षीय पत्रकारिताको धार कमजोर हुँदै जाँदा यसको अन्तर्वस्तुमा पनि पुँजीवादी एजेन्डा प्रवेश गरेको छ । राजनीतिमा भइरहेको आदर्श एवम् मूल्य–मान्यताको विघटनले जनपक्षीय पत्रकारितामा ठूलो प्रभाव पारिरहेको छ । आदर्श, इमानदारी तथा निष्ठाको विषय कमजोरीको विषयजस्तो बन्न पुगेको छ । इमानदार नेता–कार्यकर्तालाई विम्बका रूपमा नभएर समाजमा केही गर्न सक्ने निकम्माका रूपमा चित्रण गर्न खोजिँदै छ । युवा पंक्तिभित्र या त दब्बु या त अराजक हुने मनोविज्ञानको विकास गर्ने प्रयत्न गरिँदै छ । इतिहास बिर्स, भोलिको चिन्ता नगर, केवल आपूmलाई र आजलाई मात्र हेर भन्ने चिन्तनको विकास गरेर समाजलाई निर्जीव बनाउने जीवन दर्शनको प्रचार पुँजीवादी मिडियाको अन्तर्वस्तु बन्ने गरेको छ । त्यसैले समाजमा आशावादिता र सामूहिकताको प्रचार, इतिहासमा निर्माण भए गरेको बलिदानपूर्ण संघर्षका गाथा तथा समाजवादी सांस्कृतिक चेतको वीजारोपण गर्ने एजेन्डा दह्रोसँग पक्रनु जनपक्षीय पत्रकारको अर्काे महत्वपूर्ण दायित्व हो ।
आजको एक ध्रुवीय पुँजीवादी सत्ता संरचनाद्वारा संरक्षित पुँजीवादी सञ्चारमाध्यसँग प्रतिस्पर्धा गरेर वैकल्पिक मिडियाको रक्षा गर्न सक्तैनौ । न हाम्रो लक्ष्य नै पुँजीवादको फोहोर थुप्रोसँग प्रतिस्पर्धा गर्नु हो । हाम्रो लक्ष्य जनताको वर्गचेतनालाई जगाउँदै पुँजीवादी विचारधारात्मक वर्चश्वविरुद्ध संघर्ष गर्नु हो । केन्द्रीकृत र पुँजी नियन्त्रित आजको दुनियाँमा जनपक्षीय धारको मिडियाको रक्षा एवम् विकास निश्चय चुनौतीको विषय हो । तर, समाजवाद प्राप्तिको हाम्रो प्रतिबद्धताको सामु सबै चुनौती सामान्य हुँदै जान्छ । दृढ इच्छाशक्ति र आफ्नो वर्गप्रतिको अटुट निष्ठा नै चुनौती सामना गर्ने हतियार हुन् । पक्कै पनि आज हाम्रो समाजमा जनपक्षीय पत्रकारिता अँध्यारो गुफाभित्र कतै हराउने हो कि भन्ने चिन्ता छ । तर यसको एउटा सुस्पष्ट दृष्टिकोण छ, आफ्नै लक्ष्य र गन्तव्य छ । सार्थक लक्ष्यसहित अघि बढिरहेको यो गौरवमय यात्राले अँध्यारो सामना गर्नुपरे पनि क्षितिजमा पोखिएको उज्यालो भेट्न असम्भव छैन ।