सानैदेखि पत्रकार बन्ने दृढइच्छा बोकेका भोटराज राई स्थापित पत्रकारको नाम हो । सानोमा रेडियो र टीभीको समाचार सुन्न र हेर्न रुचाउने राईले एसएलसीलगत्तै पत्रकारितालाई आत्मसात् गरे ।
साबिक मात्तिम–१ खोटाङ (हाल : साकेला गाउँपालिका) मा बाबु जितमान राई, आमा वर्तकुमारी राईको कान्छो छोराका रूपमा जन्मेका राईले उदयपुरको गाईघाटदेखि एसएलसी उत्तीर्णपछि पत्रकारितामा प्रवेश गरे ।
पत्रकारिताका गुरु महेश्वर चाम्लिङसँग धरानबाट प्रकाशित ब्लास्ट दैनिकको उदयपुर सहयोगी हुँदै संवत् २०५८ मा पुष्टि साप्ताहिक पत्रिकामा स्थापनाकालदेखि नै आबद्ध रहेर पत्रकारिता यात्रालाई निरन्तरता दिए । पुष्टिमा संवाददातादेखि सहायक सम्पादकसम्म बनेका उनी ०६० मा चाम्लिङद्वारा प्रकाशित माझखर्क साप्ताहिकको उपसम्पादक बने । ०६२ मा पूर्णपुष्टि साप्ताहिक स्थापनासँगै कार्यकारी सम्पादकका रूपमा कार्यरत उनी सोही वर्षदेखि गोरखापत्र दैनिक र एभिन्युज टेलिभिजनमा जोडिए ।
संवत् ०६३ देखि ०६७ सम्म उदयपुरको पहिलो एफएम रेडियो त्रियुगामा समाचार प्रमुखको भूमिकासमेत निर्वाह गरेका उनी मूलधारको पत्रकारितामा यात्रारत छन् । मिहिनेती, मिलनसार, उत्तरदायी, इमानदार व्यक्तित्वका कारण उनी छोटो समयमै पत्रकारितामा स्थापित भए ।
पत्रकारितालाई उत्कृष्ट समाजसेवा ठान्ने उनी पीडित र दुःखी–गरिबको हितमा समाचार लेख्न रुचाउँछन् । आफूले लेखेको समाचारले पीडितको हित भएको सुनेको दिन हर्षित हुने राईको डेढ दशक लामो पत्रकारिता यात्रा निरन्तर र अझ फराकिलो ढंगले अगाडि बढिरहेको छ ।
०६१ मा नेपाल पत्रकार महासंघको सदस्यताप्राप्त उनी ०६४ मा उदयपुर शाखा सदस्य, ०६७ मा सहसचिव, ०७० मा सविच र अहिले उपाध्यक्ष छन् । उदयपुरका उनी एकमात्र पत्रकार हुन्, जो पत्रकारहरूको साझा संगठन पत्रकार महासंघ उदयपुरको कार्यसमितिमा निरन्तर आबद्ध छन् ।
लामो समय स्वतन्त्र विचारमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार राई ०७४ मा तात्कालिक प्रेस सेन्टर नेपालमा आबद्ध भई प्रदेश नम्बर १ को वरिष्ठ उपाध्यक्ष बने । सामाजिक गतिविधिमा समेत रुचि राख्ने पत्रकार राई तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) उदयपुर संस्थापक अध्यक्ष हुन् भने किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष छन् ।
पत्रकारिताका विभिन्न विधाबाट पुरस्कृत र सम्मानित भइसकेका उनले मर्निङ टाइम्स (धरान) ०६७, जनविश्वास साप्ताहिक (धनकुटा) ०६९ र एभिन्युज खबर (टीभी) ०६३ मा उत्कृष्ट संवाददाता पुरस्कार पाए । नाट्य गृह नेपाल उदयपुर र लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौंबाट ०६४ र नेपाल ट्राफिक प्रहरी, पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट ०६७ मा सम्मानित भएका उनी ०७० मा तत्कालीन जिल्ला विकास समिति उदयपुरबाट उत्कृष्ट सरसफाइ पुरस्कारबाट पुरस्कृत भएका थिए ।
मर्यादित र व्यावसायिक पत्रकारितालाई आत्मसात् गर्दै सशक्त पत्रकारिता गर्दै आएका उनी पछिल्लो समय खोज पत्रकारितामा केन्द्रित छन् । छोरी सामुना, छोरी सुशान (जुम्ल्याहा), श्रीमती शान्तिसाथ उदयपुर सदरमुकाम गाईघाट रहेका उनले अबको पत्रकारिता फरक शैली र नयाँ धारणाबाट अगाडि बढाउने योजना सुनाए । समय अनुकूल परिष्कृत र परिमार्जित हुँदै प्रविधिसँग गहिरो जानकारी राख्ने उनी आफ्नो जीवन पत्रकारितामै समर्पित गर्ने बताउँछन् ।