मर्न पाए तिम्रो मुख हेरी, छोड्थ्यो कि त सुसाउन सल्लेरी


‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए’ (पुरुष)

‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर’ (महिला)

उल्लिखित शब्द लोकगायक विष्णु खत्रीको दसैंगीत ‘रिनैरिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दसैंमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ ।

श्रीमान् भन्छन्– के दसैं मान्छ्यौ र रिनैरिनको
मेरो केही भर छैन आउने दिनको…
श्रीमती भन्छिन्– के दसैं मानौं र रिनैरिनको
शून्य छ गामबेंशी तिमीविनाको…

कोरोना महामारीका कारण कमाइ गुमेको छ । दसैं खर्च पठाउन सक्ने स्थिति छैन । यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन् ।

श्रीमती भन्छिन्–

चर्न गा’को गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ…

श्रीमान् आफैंसँग गुनासो गर्छन्–

बाउ त बने बाउजस्तो भैन म
हेर्नै छाडें आफ्नो मुख ऐनामा...

चाडबाडमा पनि परिवारको मन दुखाएकामा उनी पछुतो मान्छन् । परदेशी हुनुको विवशता स्वीकार्छन् । गीतको सवाल–जवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन्–

मर्न पाए तिम्रो मुख हेरी
छोड्थ्यो कि त सुसाउन सल्लेरी
रिनैरिनको…

गीत टुंगिन्छ । गायक खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म तीन लाखभन्दा बढी भ्युज बटुलेको छ । गीतमा खत्री र गायिका पूर्णकला बीसीको स्वर छ । रचना र संगीत पनि गायक खत्रीकै छ ।

सुमधुर क्रियसनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओबी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई श्रोता/दर्शकले रुचाएका छन् ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दसैं तिहार सँगै मनाउँला’, ‘दसैंमा आऊ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दसैंगीत सार्वजनिक भएका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका उनी दुई दशकदेखि लोकसंगीतमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्