तपाईं लाहुरे कि पत्रकार बन्ने ? भन्ने प्रश्न सोधियो भने धेरैजसो युवाले लाहुरे नै बन्ने उत्तर दिन्छन् । तर, झापाका दीपिन राईमा भने यो कुरा लागू हुँदैन । हिजोआजका युवा लाहुरे बन्न जति आकर्षित छन्, त्योभन्दा बढी पत्रकारिता गर्न आकर्षित उनले पत्रकारिताकै लागि भारतीय सेनाको जागिर त्यागे ।
कुरा २०५१ को हो । त्यतिबेला उनी आईएको पढाइ सकेर बसेका थिए । उनका हजुरबुवा (अम्बरबहादुर राई, जो भारतीय सेना थिए) ले भारतीय सेना हुन कर गरे । हजुरबुवाको जिद्दीका अघि उनको केही लागेन । हजुरबुवाको मन राख्नकै लागि भए पनि भर्ती हुने लहरमा मिसिए । सुरुमा भारतीय सेनाको ‘क्लर्क’ मा प्रतिस्पर्धा गरेका उनले असफल भएपछि लगत्तै ‘जीडी’ मा नाम निकाले । ‘कपाल चिन्डे र छातीमा २१ नम्बर लेखिदिइ त हाल्यो । ११ जीआरको १४ मेरो आर्मी नम्बर थियो,’ उनले विगत कोट्याए ।
पत्रकार दीपिन राई लाहुर जानुअघि पत्रकारिता गर्थे । ०४९ देखि झापाबाट प्रकाशित ‘विवेचना’ दैनिकमा काम गर्दै आएका उनले भर्ती हुँदासम्म तीन वर्ष पत्रकारिता गरिसकेका थिए । त्यसैबीच, झापाबाटै तिलविक्रम कन्दङ्वाद्वारा प्रकाशित ‘जनचाहना’ साप्ताहिकमा सहसम्पादक भएर काम गरे । केही समय कार्टुनिस्ट (व्यंग्य चित्रकार) पनि भए । भन्छन्, ‘ठूलो आलुमा खोपेर चित्र बनाई काटुर्न बनाउँथे ।’ यसबीच उनले पत्रकारिताको स्वाद चाखिसकेका थिए । पत्रकार बन्ने एकमात्र उद्देश्य लिएका उनलाई हजुरबुवाले लाहुरे बन्न बाध्य बनाए । ‘पल्टनमा हुँदा सपनामा पनि रिपोर्टिङ गरेको र समाचार लेखेको देख्थेँ,’ उनी सम्झन्छन्, ‘जसरी भए पनि पत्रकारै बन्ने भित्री इच्छाले पल्टनमा मन अडेन । कसरी नेपाल फर्काैं भन्ने मात्र भइरहन्थ्यो ।’
पल्टनका तालिम गुरुजी (दलबहादुर लिम्बू) लाई आफ्नो पत्रकारिता गर्ने रुचि रहेको तर हजुरबुवाले जबरजस्ती भर्ती गराएकाले पत्रकारिता गर्न नेपाल फर्कने कुरा पटक/पटक जाहेर गरें । तर, कसाहीको अगाडि राँगो रोएको अर्थ हुन्न भनेजस्तो गुरुजीले उनले भनेको मान्ने कुरै भएन । त्यसपछि पल्टनबाट भाग्नुको विकल्प थिएन । अन्ततः तालिमकै दौरान भागेर नेपाल फर्कें । ६ महिना तालिम गरिसकेको थिएँ । ‘भारतदेखि भर्ती लागेको ठाउँ धरानको घोपा क्याम्पसम्म म हराएको खबर पठाएर खोज्ने काम भयो । तर, पत्ता लगाउन सकेनन्,’ उनले भने, ‘नागरिकताअनुसार दीपेन्द्रकुमार राईको नामबाट भर्ती भएको थिएँ । बाहिर मलाई दीपिन राई भनेर चिन्थे ।’ हजुरबुवा अवकाश हुनुभएपछि उनको मन पल्टनमा अडिएन । भन्छन्, ‘हजुरबुवा नेपाल फर्केपछि पल्टन नै सुनसानजस्तो लाग्यो । कतिखेर भागौँ भन्ने मात्र लागिरह्यो ।’ उनी भागेर नेपाल आए पनि परिवारले नराम्रो ठानेन । किनकि मावली हजुरबुवा (गजबहादुर लिम्बू) ले उनको चिना हेर्दै पल्टनमा पनि ठूलै मान्छे हुने र नेपालमा पनि नाम कमाएरै बस्ने भविष्यवाणी गरिदिएका रहेछन् ।
भर्ती छाडेयता निरन्तर पत्रकारितामै क्रियाशील उनले ०५४ मा तिलविक्रम कन्दङ्वाद्वारा प्रकाशित ‘मुक्ति आवाज’ साप्ताहिकको सहसम्पादक र सात वर्ष कार्यकारी सम्पादकको भूमिका निर्वाह गरे । त्यसपछि केही समय ‘समावेशी’ चलाए । अहिले भने झापाबाट प्रकाशित ‘यलम्बर टाइम्स’ को सम्पादकका रूपमा कार्यरत छन् ।
उनलाई पत्रकारिताको यति धेरै लत किन लाग्यो ? भन्छन्, ‘०४५ को भूकम्प जाँदा इलाममा कक्षा ७ मा अध्ययन गर्दै थिएँ । भूकम्पबाट घाइते भएकालाई उद्धार गर्न आएको हेलिकोप्टरमा केही पत्रकार पनि थिए । उनीहरूले संकलन गरेको समाचार टेलिभिजन, रेडियो र पत्रिकामा प्रकाशन/प्रसारण भएको देखेँ । त्यसपछि मलाई पनि पत्रकारिता गर्ने रहर जाग्यो ।’
पत्रकारिता गर्दा थुप्रै हन्डर/ठक्कर भोग्नुपरेको उनलाई कहिले तस्करले आक्रमण गरे, कहिले राजद्रोह आरोपमा सताइए त कहिले सेनाले बंकरमा राखेर यातना दियो । ०५४ मा समाचार लेखेकै आधारमा केही इष्र्यालु अवैध व्यापार गर्नेले आक्रमण गरे । टाउकोमा २८ टाँका लगाउनुपर्यो । मेची अञ्चल र सिलगुडी अस्पतालमा ६ महिना बस्नुपर्यो । ०५८ मा समाचार लेखेकै कारण माओवादीले झापाबाट विस्थापित गर्यो । ०६२/६३ को जनआन्दोलनक्रममा राजद्रोह आरोपमा प्रेस काउन्सिलबाट पत्रिकालाई उपलब्ध गराइँदै आएको सुविधा वञ्चित गरियो । त्यतिबेलै माओवादीको मुखपत्र ‘मुक्ति आवाज’ साप्ताहिक चलाएको आरोपमा तत्कालीन शाही सेनाले झापाको चारआली ब्यारेकमा नौ दिनसम्म बंकरमा राखेर यातना दिएको थियो । त्यतिबेला दिएको यातना आज पनि घरिघरि बल्झने उनी बताउँछन् । ‘यति धेरै दुःख पाउँदा पनि भारतीय सेनाको जागिर त्यागेर पत्रकारिता अँगालेकोमा कुनै पश्चाताप छैन,’ उनी भन्छन्, ‘बरु मेरो कलमले समाज र राष्ट्र रूपान्तरणमा धेर–थोर योगदान पु¥याएकोमा गर्व लागेको छ ।’
पत्रकारिता गरेर लाहुरेजति ‘दाम’ कमाउन नसके पनि उनले ‘नाम’ त कमाएकै छन् । कोठाभरि पुरस्कार र सम्मानपत्रको खात छ । भावुक हुँदै भन्छन्, ‘कहिलेकाहीँ पैसा नहुँदाको पीडा पुरस्कार र सम्मानपत्र हेरेर पनि भुल्ने गरेको छु ।’ उनीसँगै भर्ती भएकाहरू पेन्सन आइसके ।
ती साथीहरूले आफूले कमाएको पैसा के गर्ने ? भनेर उनीसँगै सल्लाह माग्छन् । उनी भन्छन्, ‘यसबाट पनि मैले जे गरे छु ठिकै गरेको रहेछु भनेर चित्त बुझाउँछु ।’
पत्रकार राईले किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहित्य उत्थान संघ, स्व. डिकमान विरही पत्रकारिता पुरस्कार, आदिवासी जनजाति उत्कृष्ट पत्रकारिता पुरस्कारलगायत डेढ दर्जन पुरस्कार हात पारिसकेका छन् । उनी काठमाडौंकेन्द्रित पत्रकारितालाई मोफसलमा विस्तार गर्नुको साथै समावेशी मिडिया र मिडियामा आदिवासी जनजातिको पहुँच हुनुपर्ने धारणा राख्छन् । उनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा संस्थापक सदस्य/केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ झापाका कोषाध्यक्ष/केन्द्रीय पार्षदलगायत जिम्मेवारी सम्हालिसकेका छन् ।