संकटकाल लागेपछि शिक्षण पेसा छाडे । त्यसपछि पत्रकारितामा लागे । पत्रकारितामा लाग्नु बाध्यता थियो ।
साहित्यका विद्यार्थी भएकाले उनी साहित्यका विभिन्न विधामा कलम चलाउँथे । साहित्य लेख्नेक्रममा पत्रकारितातिर आकर्षण बढ्यो । झापाको दमकबाट प्रकाशित ‘झिल्लिका’ हवाई पत्रिकामा लेख्ने र ग्राहक बनाउने कामले पत्रकारितामा लाग्न झन् मलजल गर्यो ।
संवत् २०५९ मध्यतिर दमकमा भएको आधारभूत पत्रकारिता तालिममा सहभागी भएपछि पत्रकार बन्ने वातावरण बन्यो । पत्रकारितामा लाग्नुअघि साहित्यमा ‘जम्नेली माइला’ को नामले परिचित उनी एउटा गजल सुनाउन दुई घन्टाको बस यात्रामा हिँडेको सुनाए । ‘समय र पैसा खर्च गरेर गयो,’ उनले दुःखेसो पोखे, ‘कहिलेकाहीं त दिनभरि बस्दा पनि वाचन गर्ने पालो आउँदैनथ्यो ।’
समाचारको खेती फस्टाउँदै गएपछि साहित्य लेखन पातलिँदै गयो । समाचार लेख्न जान्ने भएपछि मोरङको पथरीबाट प्रकाशित मोफसल साप्ताहिक, धरानबाट प्रकाशित धरान टाइम्स दैनिकमा काम थाले । ब्लास्ट दैनिक, औजार दैनिक हुँदै गोरखापत्र दैनिकमा समेत काम गरेको अनुभव छ । उनले पूर्वाञ्चलका विभिन्न एफएम रेडियो, मकालु टेलिभिजन, इसमता डटकमलगायत अनलाइन म्यागेजिनमा काम गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङको निर्वाचित कार्यसमिति सदस्य, महासंघकै केन्द्रीय पार्सद, किरात राई पत्रकार संघ केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । त्यतिमात्रै होइन, किरात राई विद्यार्थी संघ पूर्वकेन्द्रीय अध्यक्ष उनी किरात राई यायोक्खा केन्द्रीय सदस्य हुन् । ‘पत्रकार समाजको इन्जिनियर हुन्,’ पत्रकार अर्जुन जम्नेली राईको बुझाइ छ, ‘समाजका विकृति, विसंगतिविरुद्ध लड्ने, सभ्य समाज स्थापित गर्नेसम्बन्धमा पत्रकारको जिम्मेवार भूमिका रहन्छ ।’ उसले आफू रहेको कार्यक्षेत्रभित्रको राजनीति, सामाजिक, आर्थिक, सांस्कृतिक विकास र विस्तारका लागि ‘रोडम्याप’ दिन सक्नुपर्छ । खोजी समाचार वा विचार निरन्तर दिइरहनु पत्रकारको दायित्व हो ।
पत्रकार राईले समाचार लेख्नसम्म लेखे । हिजोआजसमेत लेख्दै आएका छन् । लेखेकामध्ये कान्तिपुर साप्ताहिकमा प्रकाशित श्रीमान्ले श्रीमती साटेको समाचारले उनलाई स्थापित गरायो । मोरङको पथरीमा रहेको एक निजी विद्यालयअगाडि अनियमित निर्माणाधीन पक्की घर उनले लेखेको समाचारकै कारण भत्काउन बाध्य पारियो ।
‘नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत विषय राजनीतिबाट प्रभावित हुँदै आएको छ,’ उनको दाबी छ, ‘ठूला मिडिया हाउसमा कार्यरत पत्रकारसमेत कुनै न कुनै रूपमा राजनीतिक दलसम्बद्ध छन् । नेपाल पत्रकार महासंघमा पनि दलका नेताहरूले नै नेतृत्व गर्दै आएका छन् । एउटा सिद्धान्त वा विचारमा बाँधिनु पत्रकारिताको सिद्धान्तविपरीत मानिन्छ ।’
राजनीतिक व्यवस्था परिवर्तन गर्न पत्रकारको भूमिका अहम् थियो । २००७, ०४६ र ०६२÷०६३ को परिवर्तनमा पत्रकार र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको थियो । आमनेपालीको सामूहिक स्वार्थका लागि मिसन ठीक थियो । तर, पछिल्लो समय दलहरूमा विभाजित भएर विपरीत विचार राख्ने दल र दलसम्बद्ध नेताका समाचार ‘ब्ल्याकआउट’ गर्ने, एक पक्षमा लागेर अर्काको उछित्तो काढ्ने काम आलोच्यमात्र होइन, निन्दनीय हुने उनको ठम्याइ छ ।
‘आफूलाई मूलधारको दाबी गर्ने मिडिया हाउसले उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंगको आवाज नसुन्नु र शक्तिकेन्द्रवरिपरि घुमिरहने काम सिद्धान्तविपरीत हो,’ उनले थपे, ‘संघीयता कार्यान्वयन हुँदै जाँदा आर्थिक अधिकार स्थानीय तहमा केन्द्रित भएको बेला पत्रकार नगर र गाउँपालिकामा खरो प्रतिपक्षको भूमिकामा रहनुपर्छ ।’
मिसन र व्यावसायिक पत्रकारिताप्रति दुविधामा पर्न नहुने उनले सुझाए । पत्रकारिता कुनै न कुनै रूपको मिसन नै हो । ‘मिसन पीडितको पक्षमा हुनुपर्छ,’ उनको तर्क छ, ‘अधिकार स्थापित गर्ने, अपराध कम गर्ने, भ्रष्टाचार निर्मूल गर्ने मिसन हुन सक्छ । तर, ठूला मिडिया हाउसले आफ्नो विचारसँग नमिल्ने दल नेतृत्वको सरकार ढाल्ने भूमिका खेल्दा व्यावसायिक र उत्पीडित समुदायको पक्षमा कलम चलाउनेलाई मात्र मिसन पत्रकारिता र जातिवादी भन्ने आरोप लाग्ने गरेको छ ।’
व्यावसायिक पत्रकारिताको नाममा हुँदै आएको हर्कतप्रति राज्यको मूलधारबाट अलग रहेका समुदाय आक्रोशित छन् । नेलालका प्रत्येक मिडिया हाउसले ९० प्रतिशत समाचार शक्तिमा रहेका व्यक्तिको भजन गाउँदै आएको उनको आरोप छ । समाचार कक्षको संरचना समानुपातिक तथा समावेशी सिद्धान्तअनुसार हुनुपर्छ । ०६७ फागुन २३ देखि २६ गतेसम्म उनलाई ज्यान मार्ने धम्की दिइयो । तिम्रो हत्याका लागि बन्दुक आइसक्यो, होसियारी बस भन्ने एसएमएस आइरह्यो । खोलाजन्य वस्तु तस्करी र वन पैदावर तस्करीविरुद्ध समाचार लेख्दा पटक–पटक ज्यान मार्ने धम्की दिइयो । तस्करले अराजक समूह प्रयोग गरेर पटक—पटक अपमान प्रयास गरिए पनि उनले भ्रस्ट र तस्करीविरुद्ध समाचार लेख्न छाडेनन् ।
नेपालमा कालो बजारी, तस्कर र अराजक समूहबाट पत्रकार असुरक्षित छन् । ८० प्रतिशत पत्रकार आफ्नै व्यवहारका कारण असुरक्षित रहेको उनको बुझाइ छ । नेपालमा हरेक विषयमा राजनीति हाबी छ । मिडिया हाउसले प्रकाशन/प्रसारण गर्ने अत्यधिक विषयमा राजनीति हुँदै आएको छ । मूलधारभन्दा फरक विचार राख्ने पार्टीलाई नेपाली मिडियाले बेवास्तामात्र होइन, खिसिट्युउरी हुँदै गरेको उनले अनुभूति गरेका छन् ।
राजनीतिक विषय कम गरेर युवालाई स्वरोजगार बन्न प्रोत्साहन गर्ने, औद्योगिक, आर्थिक उपार्जनका उपाय, स्वास्थ्य, शिक्षा, सामाजिक, सांस्कृतिक अन्तरघुलन हुने विषय, पर्यटन, हाइड्रोपावर, आधुनिक कृषि प्रविधि अर्थात् सेवा पत्रकारिताको संस्कार बसाउनुपर्ने उनको मान्यता छ ।
पत्रकारिताको मूल सिद्धान्त ‘भ्वाइस लेस अफ दी भ्वाइस’ बन्नु पत्रकारको मुख्य दायित्व हो । ‘पत्रकारितामा एड्भोकेसी जर्नालिजम भन्ने विषय हुन्छ,’ उनले सुनाए, ‘सबैले वकालत नै गर्नुपर्छ भन्ने होइन । तर, पत्रकारले आवाजविहीनको आवाज बन्नुपर्छ ।’