हलेसी तुवाचुङ नगरपालिका खोटाङका उपमेयर रमेशकुमार राउतले बिहान ६ बजेसम्म ओछ्यान छाडिसक्छन् । उठेपछि बिहानको नित्यकर्म गर्छन् । त्यसपछि तातोपानी पिउँछन् । दिनभरि गरिने कामका तालिका हेर्छन् । कतिपय अवस्थामा तालिका बनाउँछन् । त्यसपछि समाचार हेर्छन् । पढ्छन् । यसरी टहलिँदा खाना खाने समय हुन्छ । कार्यालय होस् या ‘फिल्ड’ जाँदा बिहान नौदेखि साढे नौ बजेसम्ममा खाना खाइसक्छन् । सरदर १० बजे ‘क्वार्टर’बाट बाहिरिइसक्छन् ।
धेरैजसो समय कार्यालयमै भेटिइन्छन् । सेवाग्राहीसँग कार्यालयमै भेटघाट भइरहन्छ । अपरझट कामका लागि ‘क्वार्टर’सम्म आइपुग्नेलाई कहिलेकाहीं समय दिनैपर्यो । तर, ‘क्वार्टर’सम्म आइपुग्ने एकादुईमात्रै हुन्छन् । भेटघाटका लागि ‘क्वार्टर’मा कसैलाई बोलाउँदैनन् ।
जनप्रतिनिधि भएकाले कार्यालयमा १०–५ बस्नैपर्छ भन्ने छैन । कहिलेकाहीं त्योभन्दा धेरै समय बिताउनुपर्छ । कार्यालयमा रहँदा सेवाग्राहीको गुनासो सुन्नुपर्छ । ‘गुनासा, असन्तुष्टि धेरै सुन्नुपर्छ । योजना माग्ने सेवाग्राही मेयरसापकहाँ पुग्छन् । जाने ठाउँ पनि त्यहीं हो,’ हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर राउतले सुनाए, ‘तर, कहिलेकाहीं मकहाँ पनि योजना माग्न आइपुग्छन् । मसँग असम्बन्धित कामका लागि पनि सेवाग्राही मसँगै ठोक्किइरहन्छन् । गुनासामात्रै होइन कतिपय अवस्थामा विरोधका स्वर पनि मैले नै सुनिदिनुपर्छ ।’
कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीको गुनासो उनले नै सुनिदिनुपर्छ । कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई गुनासो सुनाउन उपमेयरलाई नै सजिलो मानेका हुन सक्छन् ।
कार्यालयमा सुन्नुपर्ने गुनासो, असन्तुष्टि ‘फिल्ड’मा पनि सुनिदिनुपर्छ । ‘फिल्डमा जाँदा मेयरसाप हुनुहुन्छ भने हाइसन्चो हुन्छ । केही सुन्नैपर्दैन,’ उनले थपे, ‘म एक्लै पुगें भने सेवाग्राहीका माग, गुनासा र विरोध नसुनी धरै छैन ।’
‘हलेसी तुवाचुङ नगरपालिका–८, धितुङको एक उपभोक्ता समिति दुई/तीन महिनादेखि विवादित थियो । सम्झौता भएछ,’ उनले प्रस्ट्याए, ‘म काठमाडौंमा थिएँ । सम्झौता किन गरेको भन्दै मलाई हाप र झाप गरेको गर्यै । कुनै पनि योजनाको सम्झौता मैले गर्ने होइन । तर, बुझेकाले पनि मलाई नै भनिरहन्छन् ।’
सेवाग्राही अत्यन्तै बाठा भइसके । ‘ममार्फत मेयरसापसम्म पुर्याइदेलान् भन्ने उनीहरूको लोभ हुनुपर्छ,’ उनको भनाइ छ, ‘मेयरसापलाई भन्न अप्ठ्यारो लागेर पनि होला कि ? गुनासो, असन्तुष्टि सुन्दासुन्दै कहिलेकाहीं त मैले टाउको निकै दुखाउनुपर्छ ।’
कार्यालयबाट ‘क्वार्टर’ फर्कंदा चार/पाँच बज्छ । ‘फिल्ड’ गएको बेला अलि ढिला हुन्छ । बेलुका व्यक्तिगत कामलाई प्राथमिकता दिन्छन् । तर, कतिपय काम टेलिफोनबाटै गर्नुपर्ने हुन्छ । योजनाका सिजनमा फोन धेरै आउँछन् । सालिन्दा चार सयसम्म योजना चल्छन् । योजनाका सम्झौता र फरफारक दसैंपछि हुन्छन् । त्यसबीचमा फोन बाक्लै आउँछ ।
सामान्यतः बेलुकाको खाना खाँदा आठ बजिसक्छ । खाना खाएपछि समाचार हेर्छन् । पढ्छन् । पाएसम्म माओवादी सशस्त्र जनयुद्धबारे किताब, आलेख, समाचार नछुटाई पढ्छन् । केही अनलाइन म्यागेजिनले नियमितजसो त्यस्ता सामग्री प्रकाशन गर्दै आएका छन् । त्यस्ता सामग्री प्रकाशन हुने बारसमेत थाहा भएकाले पढ्न छुटाउँदैनन् । त्यतिबेला सुत्न केही ढिला हुन्छ । नत्र अन्य समय राति १० बजेभित्र ओछ्यान पुगिसक्छन् ।