मेयर राईको एक दिन



हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बिहान ६ बजेअघि नै उठिसक्छिन् । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर राई उठ्नासाथ सर्वप्रथम बिहानको नित्यकर्म गर्छिन् । त्यसपछि तातोपानी पिउँछिन् । कफी पिउन थालेको वर्षौं भयो । तसर्थ, पानी पिएपछि कफी पिउन बिर्सने कुरै भएन ।

मेयर भएकाले भेटघाटका लागि ‘क्वार्टर’ सम्म आउने पनि बाक्लै हुन्छन् । ‘भेटघाटको प्रकृति हेरेर सयम लामो छोटो हुन सक्छ,’ उनले भनिन्, ‘भेटघाटलाई समय खर्चन नपर्ने बिहानको समय हलेसीवरिपरि निस्कन्छु । जहाँ मैले जानैपर्ने थियो । जानैपर्ने हुन्छ ।’

बिहानको खाना ९ः३० बजे तयार हुन्छ । ‘कतै निस्कनु छ भने खाना पर्खेर बस्दिनँ । कहिलेकाहीं कर्मचारीभन्दा छिटो कार्यालय पुग्नुपर्छ भन्ने मान्यता राख्छु । र, पुगेकी पनि छु,’ उनको भनाइ छ, ‘कर्मचारीलाई मनोवैज्ञानिक रूपमा ‘ट्रिट’ गर्न पनि त्यसो गर्छु ।’

जनप्रतिनिधिले १० देखि ५ बजेसम्म कार्यालयमा बिताउनुपर्छ भन्ने छैन । ‘कामको प्रकृतिअनुसार कार्यालयमा रहन्छु,’ उनले थपिन्, ‘कहिलेकाहीं साँझ ६/७ बजेसम्म पनि कार्यालयमा रहनुपर्छ ।’
कार्यालयमा रहँदा सेवाग्राहीसँग भेटघाट हुने नै भयो । विभिन्न शीर्षकमा योजना माग्न उनीहरू नगर कार्यपालिकाको कार्यालय आउँछन् । सेवाग्राहीमा मागमा केन्द्रित रहेर छलफल गर्नैपर्यो । कुरा सुनिदिनैपर्यो । ‘तर, पहिलेजस्तो योजना माग्नेको भीडभाड लाग्दैन,’ उनले प्रस्ट्याइन्, ‘आपत्कालीन योजना माग त हुने नै भयो । प्रणाली बसालिएकाले जुनसुकै समयमा योजना माग्नेहरू घट्दै गएका हुन् ।’

‘क्वार्टर’बाट बाहिरिएपछि ‘क्वार्टर’ पुग्ने समय एकिन हुँदैन । ‘कहिलेकाहीं बेलैमा पुगें भने क्वार्टरवरिपरि निस्कन्छु,’ उनले जानकारी गराइन्, ‘कतिपयले भेट्न चाहिरहेका हुन्छन् । चाहेरै पनि भेट्ने साइत जुरिरहेको हुँदैन । उनीहरुलाई भेट्छु । नजिकै भएकालाई क्वार्टरसम्मै बोलाउँछु ।’

बेलुका ९ बजे खाना तयार हुन्छ । समयमै क्वार्टर पुग्दा ९ बजे खाना खाइसक्छिन् । त्यसपछि ? ‘गर्नैपर्नेलाई कलब्याक गर्छु,’ उनले सुनाइन्, ‘जसको मैले कल रिसिभ गर्न सकेकी थिइनँ । कसैको म्यासेजको रिप्लाईसमेत गर्छु ।’

खाना खानअघि र पछिको समयमा अध्ययन गरेकै हुन्छु । समय अलि ‘टाइट’ छ । स्थानीय सरकार सञ्चालन ऐन, संविधान, कानुनमा बाँधिएर काम गर्नुपर्ने भएकाले त्यही अध्ययन गर्छु । नगरका प्रशासनिक कामका लागि यो अति आवश्यक छ ।

एकताका कर्ण शाक्यलगायतका किताब पढेकी थिएँ । हिजो पढाइ कम भएको छ । पढ्न मन लागेका किताब संकलन गरेकी छु । समय मिलाएर पढिरहेकी हुन्छु ।

अधिकांश समय राति १० बजेपछि सुत्छु । कतिपय अवस्थामा १२ पनि बज्छ । सुत्नअघि भोलि गर्ने कामको सूची तयार पार्ने बानी पुरानै हो ।

प्रतिक्रिया दिनुहोस्