पैदल हिँडेरै २७ जिल्ला पुगेका पूर्वमन्त्री


‘भएका अथाह प्राकृतिक स्रोत–साधन सदुपयोग गरे लाख हुन्छ,’ सांसद रामकुमार राई ‘पासाङ’ले भने, ‘त्यतिमात्रै गर्न सके मुलुकले काँचुली फेर्ने थियो ।’ देश बनेपछि देशवासी सम्पन्न भइहाल्छन् ।

‘विकास भनेको सडक पनि हो । म जनप्रतिनिधि नहुँदा अप्पर सगरमाथा र र्यापले खन्न छाडेको दिक्तेल–हलेसी सडक पूरा गरें,’ कोसी प्रदेशका तात्कालिक खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री राईले जानकारी गराए, ‘रत्न राई ‘दर्शन’, माओवादी पार्टी र वाईसीएलका साथीहरूको सहयोगले सडक निर्माण सम्पन्न गर्न सम्भव भयो । जिल्लामा गाडी भित्र्याउन दिक्तेलका ११ जना व्यापारीले साथ दिए ।’ पूर्वमन्त्रीले समेत आठ दिन बाटो खने ।

ढिँडो–गुन्द्रुक पहिलो रोजाइ

ढिँडो र गुन्द्रुक असाध्यै स्वादिलो लाग्छ । त्यसो भन्दैमा सधैंजसो ढिँडो र गुन्द्रुक खान पाइँदैन । अगाडि आएको सबै खानेकुरा खान्छु । खुर्सानी धेरै लगाइएको तरकारी भने खान सक्दिनँ । सांसद भएकाले होटल तथा रेष्टुरेन्ट पुगिरहनुपर्छ । मिठै भए पनि त्यहाँको खानेकुरा खासै रुच्दैन । खानै परे सुक्खा रोटी र फलफूल मगाउँछु । म समय मिल्दा भान्छामा पस्छु । हिजोआज पनि खाना पकाउन रहर लाग्छ ।

टोपी नलगाउँदा मौवा

प्रायः सर्ट–पाइन्ट लगाउँछु । साथीभाइले उपहारस्वरूप कपडा दिन छाडेका छैनन् । अप्ठ्यारो लागे पनि मन्त्री हुँदा औपचारिक कपडा लगाएँ । वर्षमा १०/१५ हजार रुपैयाँसम्मको कपडा किनेकै हुन्छु । कपडा किनेरै सिलाउँछु । सिलाउने विशेष ठाउँ छैन । जहाँ पायो, त्यहीं सिलाउने हो । पहिले खाँडीको कपडा पनि लगाउँथें । बुवाआमाले टोपी नलगाउँदा मौवा हुन्छ भन्नुहुन्थ्यो । तसर्थ, टोपी लगाउँछु । ह्याट, क्याप पनि नलगाउने होइन ।

फुर्सदमा मर्निङवाक

समय मिल्नासाथ मर्निङवाक निस्कन्छु । त्यसबाहेक फिटनेससम्बन्धी केही गर्दिनँ ।

मार्क्सवादी पुस्तक पढेर ‘इन्जोय’

पाएसम्म मार्क्सवादी किताब किन्छु । संकलन गर्छु । मार्क्सवादी पुस्तक पढेर रमाउँछु । पाएसम्म मार्क्सवादी किताब किन्छु । संकलन गर्छु । कतिपय लेखकले उपहारस्वरूप पुस्तक दिन्छन् ।

पैदल हिँडेर २७ जिल्ला

रुचि भए पनि कामसहितको घुमफिरबाहेक घुम्नकै लागि कतै निस्केको छैन । नेपालका आधाउधी जिल्ला टेकेको छु । जनयुद्धताका पैदल हिँडेर २७ जिल्ला पुगेको थिएँ । त्यतिबेला पैदल हिँडेर भारतसम्म पुग्नुपर्ने बाध्यता आइलागेको थियो । पुगेकामध्ये इलाम असाध्यै मन पर्यो । खोटाङ त झन् मन पर्ने नै भयो ।

फुर्सद पाइहालेमा किताब

फुर्सद कहिल्यै हुँदैन । फुर्सद निकाल्नुपर्छ । तर पनि फुर्सद निकाल्न गाह्रो भइरहेको छ । फुर्सद पाइहालेमा किताब पढ्छु । परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान गएकै छैन ।

विद्यालय तहसम्म फुटबल

म ब्याडमिन्टन खेल्छु । मलाई फुटबल पनि मन पर्छ । विद्यालय तहसम्म खेलें । हिजोआज पनि गेम हेर्छु ।

अरबबाट भाइले पठाइदिएको त्यो मोबाइल

मैले प्रयोग गर्ने मोबाइल भिभो हो । पहिले सामसुङ प्रयोग गर्थें । आफूसँग भएको मोबाइल प्रयोग गर्न नमिल्ने वा हराएपछि मात्रै किन्ने गरेको छु । अहिलेको मोबाइल भाइले अरबबाट पठाइदिएका हुन् । मोबाइलमा गेम नखेले पनि चेसचाहिँ हेर्छु ।

समाचारपछि रेस्लिङ

टेलिभिजन हेरिहाल्दा समाचारले प्राथमिकता पाउँछ । रेस्लिङ पनि हेर्छु ।

भाइले ल्याइदिएको त्यो टीभी

घर (खोटाङ)मा भएको टीभी भाइले ल्याइदिएका हुन् । आजसम्म चारवटा चलचित्र हेरेको छु । काठमाडौंमा सुटिङ गरेको हेर्ने मौका पाएपछि फिल्म हेर्न छाडें । सुटिङ त नाटकजस्तो लाग्यो । बरु नाटक जीवन्त हुन्छ । कसैको अनुरोधमा फिल्म हेर्न हलसम्म पुगे पनि निदाइहाल्छु । सबैभन्दा पहिले हेरेको चलचित्र कुसुमेरुमाल हो । त्यसपछि हेरेको चलचित्रको नाम थाहा भएन ।

मासुभन्दा सलादमा ध्यान

उच्च रक्तचाप र युरिक एसिडले समातेको छ । त्यसबाहेक स्वस्थ छु । आहार, विहार र विचारमा ध्यान दिने हो भने स्वस्थ रहन सकिन्छ । खाना ठिक्कमात्रै खान्छु । सामान्यतः व्यायाम गरेकै हुन्छु । मासु खाँदा मासुभन्दा धेरै सलादमा ध्यान दिन्छु । एकताका त पेटले मागेजति खान्थें । हिजोआज मीठो हुँदाहुँदै छाड्छु ।

मैले गरेको भाषणको सिलसिला नमिल्ने

आफूले गरेको भाषण आफैंले मूल्यांकन गर्दा म भाषण गर्न जान्दिनँ । मैले गरेको भाषणको सिलसिला मिलेको हुँदैन । शुभचिन्तकले सुनाएअनुसार भाषण गर्दा ‘चैं’ थेगो प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर भाषण गर्नुपर्छ । भाषण गर्नअघि तयारी गर्ने बानी छैन ।

मादक पदार्थ छाडेको ३० वर्ष

संवत् २०५० सम्म मादक पदार्थ खान्थें । त्यसपछि छाडेको हुँ । एकताका मात लाग्नेगरी मादक पदार्थ खाएको बिर्सेको छैन ।

गीत–संगीतको पारखी

गीत–संगीत सुन्छु । गीत–संगीत असाध्यै मन पर्छ । नारायणगोपाल, बच्चुकैलाश, राजेशपायल राई, मेलिना राईलगायत मन पर्छन् ।

विद्यालय पुग्दा ढिला हुँदा उँधोमुन्टो

जान–अञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । आजसम्म पश्चाताप लाग्नेगरी गल्ती गरेको सम्झना छैन । बिहान–बिहान घाँस–दाउरा गरेर विद्यालय जानुपथ्र्यो । एक दिन घाँस काटेर घर पुग्दा खाना पाकेको थिएन । खाना खाएर हिँड्दा विद्यालय पुग्न ढिला भयो । विद्यालय ढिला पुग्दा शिक्षक हरि राईले हात टेकेर उँधोमुन्टो पारेर खुट्टा उँभो पार्न लगाएका थिए । सजाय दिने सर जीवितै हुनुहुन्छ ।

लकडाउनले जुराएको घर

साकेला गाउँपालिका रतन्छा, खोटाङमा रहेको मेरो घर पहिलो लकडाउनमा बनाएको हुँ । काठ आफ्नै थियो । साथीभाइलाई गुहारेर एकतले घर ठड्याएँ । घर ठडिँदा सात लाख रुपैयाँ सकियो । त्यसअघि सगोलकै घरमा बस्थें ।

राशीबारे अनभिज्ञ

मेरो राशी मलाई थाहा छैन । ग्रहदशा कहिल्यै हेराउँदिनँ । ग्रह र नक्षत्रको फलप्रति विश्वास छैन ।

भेटिहालेमा तेल

भेटिहालेमा कपालमा तेल लगाउँछु ।

मागेरै बिहे झ्याइँझ्याइँ

मैले मागीबिहे गरेको हुँ । किरात राई समुदायको संस्कारअनुसार हाम्रो बिहे झ्याइँझ्याइँ गरिएको थियो ।

प्राकृतिक स्रोत–साधन सिँगारे लाख

नेपालमा प्राकृतिक स्रोत–साधन अथाह छन् । त्यसलाई सदुपयोगमात्रै गर्न सके देश बनिहाल्छ । देश बनेपछि तलतलसम्म बन्दै जाँदोरहेछ ।

म जनपप्रतिनिधि नहुँदा पनि खोटाङको विकासमा लागिपरेकै थिएँ । त्यसमध्येको एक हो– जयराम–दिक्तेल सडक निर्माण । अप्पर सगरमाथाले दिक्तेल–हलेसी सडक पूरा नगरी छाडेको थियो । र्यापले पनि त्यसै गर्यो । खन्न छाडिएको बाटो पूरा गर्न १८ लाख रुपैयाँ जोहो गरियो । जिल्लामा गाडी भित्र्याउन दिक्तेलका ११ जना व्यापारी समेट्यौं । यसको मुख्य भूमिका रत्न राई ‘दर्शन’ले खेलेका थिए । रत्न र मैले माओवादी पार्टीको सहयोग र वाईसीएलका साथीहरूको संलग्नतामा बाटो निर्माण सम्पन्न गर्यौं । मैले पनि आठ दिन बाटो खनें ।

माओवादी शान्ति प्रक्रियामा आएपछि हामीसँग भएका विस्फोटक पदार्थले बाटो खन्न सजिलो बनायो । हामीसँग जिलेटिन धेरै र ओडी थोरै थियो । त्यसैको प्रयोग गरेर दिक्तेल–हलेसी बाटो खन्यौं । त्यतिबेला दिक्तेल–लामिडाँडासमेत सडक खनेका थियौं ।

विकास भनेको यातायात पनि हो । घुमाइ र देखाइको अनुभवले दिक्तेल–हलेसी र दिक्तेल–लामिडाँडा सडक खन्न सम्भव बनायो ।

संखुवासभाको पूर्वपट्टि तमोर र पश्चिममा अरुण नदी बगिरहेको छ । तर पनि ०६१ सालमा त्यहाँ २३ वटा गाडी गुडिरहेका थिए । म पनि प्रत्यक्षदर्शी हुँ । त्यहाँ गुड्ने २३ वटै गाडी हेलिकोप्टरको सहारामा पुर्याइएका रहेछन् । त्यही देखाइ खोटाङमा प्रयोग गरेका हौं । पश्चिम–उत्तरमा दूधकोसी र पश्चिम–दक्षिणमा सुनकोसीमा पुल नहुँदासमेत जयरामदेखि हलेसी हुँदै दिक्तेल र दिक्तेल–लामिडाँडा गाडी गुडायौं । गाडी थपिँदै गए । विगत बिर्सन थालियो ।

मलामी बढाउने काम

मृत्यु नियमित प्रक्रिया हो । मृत्युदेखि डर लाग्दैन । तर, दीर्घरोगी बनेर बाँचिने पो हो कि भनेरचाहिँ कता–कता डर लाग्छ । जनयुद्धमा मृत्युको नजिक–नजिक पुगेको घटना कति हो कति । मानिसले बाँचुन्जेल जे–जे गर्छन्, केवल मलामी बढाउने काम त हो नि ।

प्रतिक्रिया दिनुहोस्