मेरो नाममा अरूले प्रेमपत्र लेखिदिएपछि उनले विद्यालय छाडिन्



‘आममानिस घरपरिवार बनाउन तल्लीन छन् । बालबच्चाको शिक्षादीक्षाबारे चिन्तन गर्छन् । त्यस्तो समयमा म राजनीतिमा प्रवेश गरें,’ हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतको भनाइ छ, ‘मेरा लागि राजनीति सबै–सबै भयो । आममानिस घरपरिवार बनाउन लागिपरेको बेला म गाउँठाउँ बनाउने काममा व्यस्त छु ।’

राउत हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित भएको तीन वर्ष पूरा भयो । संवत् २०७९ वैशाख ३० गते हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित उनीलगायत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तीन वर्षमा गरेको काम सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएकै छन् । तर, उपमेयरको जीवनशैलीबारे भने नगरवासीलाई धेरैलाई थाहा नहुन सक्छ । उपमेयर रमेश राउतको थाहा नभएको जीवनशैली जानकारी गराउने प्रयत्न गरिएको छ ।

मकै–भटमास र मोही मीठो

मकै–भटमास र मोही असाध्यै मन पर्छ । मकै–भटमास र मोही खान पाए खाना खानै पर्दैन । मकै–भटमास र मोही सधैं उपलब्ध हुँदैनन् । तसर्थ, जे पाक्छ, त्यही खान्छु । सामान्यतः नेपाली भान्छामा दालभातै पाक्छ । सिमीको तरकारीचाहिँ खान नपरे हुन्थ्यो । साथीभाइ, इष्टमित्रसँग अर्थपूर्ण कामका लागि बस्नैपर्दा होटल तथा रेष्टुरेन्ट पुग्छु । होटल तथा रेष्टुरेन्ट पुग्दा दुध चिया मगाउन बिर्सन्न । म बाल्यकालदेखि पकाउँथे । हिजोआज पनि समय मिल्नासाथ भान्छामा पस्छु ।

अनौपचारिकै सजिलो

जनप्रतिनिधि भएकाले कतिपय अवस्थामा औपचारिक पोसाक लगाउनैपर्छ । तर, अनौपचारिक पोसाक लगाउन सहज लाग्छ । त्यसमध्ये जिन्स पाइन्ट र टी–सर्ट लगाउन सजिलो लाग्छ । पछिल्लो समय दौरासुरुवालप्रति आकर्षण बढेको छ । मसँग खाँडीको सहित चार जोर दौरासुरुवाल छन् । खाँडीको दौरासुरुवालको कपडा किन्न सात हजार रुपैयाँ लाग्यो । सिलाउन दुई हजार ।

मंगलटारको वडाध्यक्ष हुँदा जेबी टेलर्स ललितपुरमा एक जोर दौरासुरुवाल किन्दा पाँच हजार लागेको थियो । वकिल पास गरेपछि मैले पहिलोपटक संवत् २०७३ मा कालो कोट लगाएको थिएँ । पेसागत तालिमभरि कालो कोट लगाएँ । जेबी टेलर्समा साथी काम गर्थे, त्यहाँ कोट सिलाउँदा महँगो पथ्र्यो । साथीकै सल्लाहमा जेबीमा कपडा किनेर बाहिर कोट सिलाउँथें ।

सालिन्दा लत्ताकपडामा २० हजारजति खर्च होला । कपडाको रङ रातो मन पर्छ । अधिकांश कपडा ‘रेडिमेड’ हुन्छन् । कपडाको ब्रान्ड खासै वास्ता गर्दिनँ । ढाकाटोपीमात्रै होइन, कालो टोपी पनि लगाउँछु ।

केही नगर्ने

फिटनेससम्बन्धी केही गर्दिनँ । गर्नुपर्छ भन्ने अनुभूति गरेको छु । वडाध्यक्ष हुँदादेखि मोटरसाइकलमा हिँडियो । सबै ठाउँ हिँडेर पुग्न सम्भव थिएन । हिजोआज पनि सवारीसाधनमै हिँडिन्छ । खानपिनमा बन्देज छैन । काठमाडौंमा रहँदा दुई÷तीन वर्ष मर्निङवाक नियमित गर्थें । हिजोआज छैन ।

माओवादी विद्रोहबारे अध्ययन

जनताका काममा व्यस्त भएकाले हिजोआज किताब पढ्न पाएको छैन । तर, ऐन कानुन पढेकै छु । विद्यार्थीकालमा कर्ण शाक्य, बाराक ओबामालगायतलाई पढें । साहित्य र इतिहासका किताब पढ्न जाँगर चल्छ । तीन/चार वर्षदेखि माओवादी विद्रोहबारे गहन अध्ययन गरिरहेको छु ।

युरोप घुम्ने रहर

घुमफिरमा धेर–थोर रुचि छ । पोखरा, लुम्बिनी, दोलखा र तातोपानी पुगेको छु । सोलुखुम्बु, मनाङ र मुस्ताङ पुग्ने असाध्यै रहर छ । विदेशमा युरोप पुग्ने मन छ । युरोप सभ्यताको धनी मानिन्छ ।

न्यु मिडियाकै भर

फुर्सद भनेको व्यवस्थापन गर्ने हो । आममानिस घरपरिवार बनाउन तल्लीन छन् । बालबच्चाको शिक्षादीक्षाबारे चिन्तन गर्छन् । त्यस्तो समयमा म राजनीतिमा प्रवेश गरें । मेरा लागि राजनीति सबै–सबै भयो । मजस्ता जनप्रतिनिधि गाउँठाउँ बनाउन व्यस्त छौं । आममानिस घरपरिवार बनाउन लागिपरेको समय मजस्ता जनप्रतिनिधि भने गाउँठाउँ बनाउन ‘स्ट्रेस’ राखेर काम गर्न थाल्यौं ।

फुर्सद पाइहालेमा अनलाइन म्यागेजिनलगायत न्यु मिडिया पढेर फुर्सदको समय सदुपयोग गर्छु । बिहान–बेलुका घरपरिवारलाई समय दिएकै छु ।

त्यसपछि छाडें

एसएलसीसम्म भलिबल खेल्थें । त्यसपछि खेल्न छाडें ।

सेकेन्ड ह्यान्डको सकस

आइफोन–१२ प्रयोग गर्दै आएको छु । १ लाखमा सेकेन्ड ह्यान्ड आइफोन किनेको थिएँ । रहर लागेर किनेको सेकेन्ड ह्यान्डले दिनसम्म दुःख दिइरहेको छ । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, टिकटकलगायत प्रयोग गरेको छु ।

धेरै भो छाडेको

टेलिभिजन हेर्न छाडेको धेरै भयो । पहिले–पहिले टेलिभिजनमा ८ बजेको समाचार नहेरी चित्त बुझ्दैनथ्यो । त्यतिबेला इन्द्र लोहनीको बहस, विजयकुमारको दिशानिर्देश र भूषण दाहालको फायर साइड हेर्थें ।

युट्युबै काफी

पहिले पनि चलचित्र कमै हेर्थें । पछिल्लो समय युट्युबमै चलचित्र हेर्ने गरेको छु ।

ज्यानलाई सुविस्तै

अहिलेसम्म पूर्ण रूपमा स्वस्थ छु ।

८ घन्टासम्म मञ्च ‘कभर’

विद्यार्थीकालमा दमदार भाषण गर्थें । लगातार ८ घन्टासम्म उद्घोषण गरेर मञ्च ‘कभर’ गर्थें । पछिल्लो समय आफूले गरेको भाषणप्रति चित्त बुझेको छैन । तयारी नपुगेर हो कि ?

शुभकार्यको शोभा बढाउन कोदाको रक्सी

मादक पदार्थको स्वाद थाहा छ । स्वाद थाहा पाएको धेरै भएको छैन । अधिवक्ताको लाइसेन्स लिएपछि कुमारीपाटी ललितपुरमा ल फर्म खोलेका थियौं । फर्म खोलेर काम थाल्यौं । त्यो बेलादेखि मादक पदार्थ खान थालें । मलाई खाने बानी पार्न साथीहरूले भोड्काबाट सुरु गराए ।

जनप्रतिनिधि भएपछि शुभकार्यमा निम्ता आइरहन्छ । भ्याएसम्म निम्ता छुटाउँदिनँ । बेलामौकामा आफैंले खोज्दै जानुपर्छ । अहिले निम्ता आउँदा मान्न नजाने कुरै छैन । शुभकार्यको शोभा बढाउन कोदाको रक्सी लिन्छु ।

त्यसै–त्यसै कस्तो गाढा माया बसेछ

गीत–संगीत सुन्छु । दोहोरी गीतसमेत रुचिपूर्वक सुन्दै आएको छु । राजु परियार, बद्री पंगेनी, शिला आले र भगवान भण्डारीहरूलाई सुन्छु । रामकृष्ण ढकाल, समीक्षा अधिकारीहरूलाई पनि सुनेकै छु । म आफ्नैपारामा गुनगुनाउँछु । ‘त्यसै–त्यसै कस्तो गाढा माया बसेछ’ गुनगुनाइरहेको हुन्छु ।

आफ्नो नाममा अरूले लेखिदिएको प्रेमपत्र

मानिसले जान–अन्जानमा गल्ती गर्छन् । मैले पनि गरेको हुँला । तर, मचाहिँ ‘डिफेन्सिभ’ भएरै काम गर्छु । अरूको नजरमा गल्ती लागे पनि म ‘डिफेन्सिभ’ भएरै काम गर्न रुचाउँछु ।

गल्ती नगरी सजाय नपाए पनि जीवनभरि पछुतो लाग्ने त्यो घटना बिर्सन सकेको छैन । म ५ कक्षामा अध्ययनरत थिएँ । ओखलढुंगाबाट ५ कक्षाकी विद्यार्थी बनेर मंगलटार पढ्न आएकी उनलाई मेरो नामबाट कसले हो, कसले ‘लभ लेटर’ लेखेछन् । त्यो चिठी मेरै किताबको चेपमा कसैले हालिदिएछन् । उनी रोइन् । म पनि रोएँ । मेरो नाममा लेखिएको त्यो चिठी मैले लेखेको होइन भनेर शिक्षकले थाहा पाएनन् । मैले पनि चित्तबुझ्दो जवाफ दिन पाइनँ । उनले स्कुल छाडिन् । त्यो घटनाले मलाई चिमोटिरहन्छ ।

त्यतिबेला विद्यालय भवन बनाउन फलामे ‘ब्लक सिष्टम’ आएको थियो । हाम्रो विद्यालयमा ब्लक बनाउन सामान थुपारियो । एउटै कक्षामा पढ्ने दुई÷तीनजनाले दिनैपिच्छे नट खोलेर घर लैजान्थ्यौं । नटले कर्द बनाउन सकिन्छ भन्ने सुनेका थियौं । यो २०५५/०५६ सालको कुरा हो । हामीले नट घर लगेको प्रधानाध्यापकले चाल पाए । मलाई अफिसमा बोलाइयो । मैले यादव र सन्तोषलाई पनि पोलें । आफूले आठवटा नट लगेको जानकारी गराएँ । आठवटा नट बुझाएपछि माफी मिनाहा भयो । दुई साथीको घरमा नट भेटिएन । उनीहरूले पाउनसम्म सजाय पाए ।

दुवै घर भूकम्पका

हामी सगोलमा छौं । हामी बस्दै आएको घर ०४५ सालमा भूकम्पको ऋणमा बनाइएको हो । सामान्य घुमाउने घर ढुंगामाटोले बनाइएको छ । ४५ सालको भूकम्पपछि १० हजार ऋणमा घर बनाइएको थियो । पछि ऋण मिनाहा भयो । अर्को घर ०७२ को भूकम्पपछि बनाइयो । दुवै घर भूकम्पका हुन् ।

ज्योतिषशास्त्रमा विश्वास

मेरो राशी मेष हो । दोस्रो स्थानीय तह निर्वाचनअघि बुवाले मेरो ग्रहदशा लक्ष्मी दाहाल (बडहरे, खोक्सेली) लाई हेराउनु भएछ । म आफैंले भने त्यसअघि र पछि ग्रहदशा कहिल्यै हेराएको थिइनँ । ग्रहशान्ति पनि गराएको छैन । तर, ज्योतिषशास्त्रप्रति गहिरो विश्वास लाग्छ । यो गणित पनि हो ।

१० पढ्दासम्म ‘फेयर एन्ड लभ्ली’

आठ/नौ कक्षा पढ्दादेखि कपालमा नवरत्न तेल लगाउँदै आएको छु । डन्डिफोरको औषधि हुन्छ भनेर १० कक्षा पढ्दासम्म फेयर एन्ड लभ्ली पनि प्रयोग गरें । केश काट्न जाँदा फेसियल गर्न छाडेको छैन ।

आफैंबाट प्रेम प्रस्ताव

हामीले प्रेम बिहे गरेका हौं । परिवेश मिलाएर मैले प्रेम प्रस्ताव राखेको थिएँ ।

देश जनताले नै बनाउने

हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटार खोटाङको वडाध्यक्ष हुँदा वडा बनाउनै केन्द्रित भएँ । अहिले उपमेयरको भूमिकामा छु । पालिकामै केन्द्रित छु । पालिकाभन्दा अरू बनाउने सोचेकै छैन । मुलुकमा तीन तहको सरकार छ । सबैले आ–आफ्नो तह बनाउन इमानदार भए देशवासीको आधारभूत आवश्यकता पूरा हुन्छ । त्यसपछि जनताले नै देश बनाउँछन् ।

सोचेको पनि छैन

जन्मेपछि मर्नैपर्छ । मृत्यु अकाट्य छ । मृत्युदेखि डर लाग्दैन । मृत्युबारे सोचेको पनि छैन । तर, मृत्यु सहज भएकै राम्रो ।

प्रतिक्रिया दिनुहोस्