नेपाली लेखकका दुई किताब अमेरिकामा सार्वजनिक



काठमाडौं । पशुपति घिमिरेद्वारा लिखित अंग्रेजी भाषाका दुई पुस्तक सार्वजनिक भएका छन् । एमाजन डटकमले प्रकाशन गरेका ‘वान्डरिङ वर्डस्’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ नामक पुस्तक केही समयअघि अमेरिकामा सार्वजनिक भएका हुन् ।

एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न १० मुलुकमा लेखकले गरेका यात्रासम्बन्धी १८ रसिला निबन्ध ‘वान्डरिङ वर्डस्’मा समावेश छन् ।

तीन महादेशका केही तरंग उपशीर्षक रहेको पुस्तकबारे लेखक घिमिरेले भनेका छन्, ‘आधा संसार ओगट्ने तीन महादेशको भूगोलको यात्रा हो यो । तर, यहाँ भूगोलमात्रै भेटिने छैन, छिचोल्दै जाँदा इतिहास, परम्परा, भाषा, धर्म, संस्कृति, सभ्यता, कला र साहित्यलगायत अनेक भेटिएला ।’

‘कतै देवकोटा र घिमिरे भेटिएलान्, कतै सोफोक्लिज, सुकरात र सेक्सपियरहरू । कतै मोनालिसाको मुस्कानमा लठ्ठ परियो होला, कतै ट्याक्सी चालकका दुःखमा तप्त भइयो होला,’ उनले अनुरोध गरे, ‘जुन–जुन दृश्यले छोए आफूलाई, द्रष्टाका रूपमा तिनै दृश्यमा दृष्टि परेको होला । जे–जे होला, त्यो त यही पुस्तकभित्र होला, जे यहाँभित्र नहोला सो प्रबुद्ध पाठकले औंल्याउनुहोला । मेरा कमीकमजोरी देखाउनुहोला ।’

वान्डरिङ वर्डस् शीर्षकमा यो किताब अनलाइन स्टोर एमाजनमार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ ।

नेपालमा एक दशक पत्रकारिता गरेर अमेरिका पुगेका घिमिरेको ‘वान्डरिङ वर्डस्’ दोस्रो कृति हो । सन् २०१३ मा नेपाली भाषामा बुद्धवादका तीन आयाम शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो । ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सन् २०१३ मै नेपालीमा प्रकाशित बुद्धवादका तीन आयामको अंग्रेजी संस्करण भएको लेखक घिमिरेले जानकारी गराए ।

सो पुस्तक थ्री डाइमेन्सन्स अफ बुद्धिजमले बौद्ध धर्म, दर्शन, इतिहास र साहित्यबारे विस्तारमा चर्चा गरेको छ । बौद्ध धर्मको समग्र अध्ययन प्रस्तुत गरिएको सो पुस्तकमा यसको दर्शन, इतिहास र बौद्ध धर्मको एसियाभरिको विस्तार समेटिएको छ ।

बौद्ध धर्मको उत्पत्ति र आधारभूत शिक्षा, बुद्धको समयअघिको दार्शनिक पृष्ठभूमि, चार आर्य सत्य, अष्टांगिक मार्ग र प्रतीत्यसमुत्पादको सिद्धान्तबारे विस्तृत व्याख्या गरिएको लेखक घिमिरेले बताए । समथा र विपश्यना ध्यान, चार ब्रह्मविहार, १० अनुस्मृति र आरुप्य आदि ध्यान विधिकबारे चर्चा गरिएको सो पुस्तकमा बौद्ध दार्शनिक सम्प्रदाय वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) आदिको विशद विश्लेषण गरिएको छ ।

महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान बौद्ध धर्मका शिक्षा सो पुस्तकमा समेटिएका छन् । बौद्ध साहित्य खण्डमा पाली त्रिपिटक र महत्वपूर्ण महायान सूत्रलगायत बौद्ध साहित्यको समग्र सिंहावलोकन गरिएको छ ।

बौद्ध इतिहास खण्डले बौद्ध धर्मको ऐतिहासिक विकासक्रमलाई समेटेको छ । प्राथमिककालका चार बौद्ध सम्मेलन र एसियाका विभिन्न देशमा बौद्ध धर्मको प्रसारबारे ऐतिहासिक तथ्यसहित विश्लेषण प्रस्तुत गरिएको छ ।

अन्तिम खण्डमा नालन्दा, वल्लभी, विक्रमशिला, जगदला, ओदान्तपुरीलगायतका प्रमुख ऐतिहासिक बौद्ध विश्वविद्यालयबारे उल्लेख गरिएको सो पुस्तक बौद्ध धर्मको दार्शनिक गहिराइ, ऐतिहासिक विकास र सांस्कृतिक प्रभाव बुझ्न चाहने सबैका लागि अत्यन्त उपयोगी स्रोत भएको छ ।

प्रतिक्रिया दिनुहोस्