जनप्रतिनिधिका दुःखबारे तपाईंले कहिल्यै सोच्नुभएको छ ? के जनप्रतिनिधिका पनि दुःख हुन्छन् र ? हुन्छन् भने उनीहरूका दुःख के–के होलान् ?
दुःख नम्बर–१
‘जागिरका लागि एउटा कोटा खुलाइयो भने १० जनाले फाराम भर्छन्,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले दुःख नम्बर १ सुनाए, ‘एकजनाले जागिर पाउँछन् । जागिर पाउने खुसी भइहाले । अध्यक्षले मेरो भनाइ सुने भनेर ऊ दंग पर्छ । नौजना भने रिसाउँछन् । त्यसपछि विरोध गर्दै हिँड्छन् । लामो एसएमएस गरेर दुःखेसो पोख्छन् । तपाईंलाई सहयोग गरेको यत्ति गुन लगाउनुभयो धन्यवाद भन्छन् ।’
फाराम भर्ने सबैलाई जागिर दिन सकिँदैन । यो ध्रुवसत्य हो । जुनसुकै पार्टीमा गुटगत समूह छ । ‘आफूसम्बद्ध पार्टीमा नुहने कुरै भएन,’ केपिलासगढी गाउँपालिका अध्यक्ष राईको भनाइ छ, ‘जनप्रतिनिधिको यो दुःख कसले बुझिदिने ? कसले सुनिदिने ?’
दुःख नम्बर–२
मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहमा योजना माग्न पुग्नु अस्वाभाविक होइन । सम्बन्धित पालिकामा योजना माग्नेको सानोतिनो भीडभाड लाग्नु स्वाभाविकै हो । ‘योजना माग्नेलाई ५ लाख दिइयो भने खुसी हुन्छन् । अध्यक्षले पत्याए भनेर गुनगान पनि गाइहाल्छन्,’ उनले दुःख नम्बर–२ सुनाए, ‘तर, ५ लाख रुपैयाँ दिन्छु आत्मनिर्भर बन्ने व्यवसाय गर न त भन्दा आनाकानी गर्छन् ।’
दुःख नम्बर–३
मुलुक संघीय संरचनामा गए पनि दक्ष जनशक्ति अभाव छँदै छ । ‘पर्याप्त मात्रामा अनुभवी कर्मचारी नहुनु पनि त जनप्रतिनिधिका दुःख हुन्,’ उनले दुःख नम्बर ३ बारे बेलिविस्तार लगाए, ‘दक्ष र अनुभवी कर्मचारी नहुँदा जनप्रतिनिधिले दुःख पाउने नै भए । हामी जनप्रतिनिधि पनि त दक्ष छैनौं होला । जनप्रतिनिधि र कर्मचारी दक्ष नहुँदा बन्ने योजना प्रभावकारी नहोलान् ।’
त्यसो त जनप्रतिनिधि–जनप्रतिनिधिबीच कुरा मिल्दैन । विभिन्न दलबाट प्रतिनिधित्व गरेर निर्वाचित जनप्रतिनिधिबीच कुरा बाझिनु अस्वाभाविक होइन । सबैले आफूसम्बद्ध दलको कुरा सुन्नैपर्ने हुन्छ । ‘मसँग मेरै पार्टीका साथीहरू सन्तुष्ट छैनन् । हिजो म एक पार्टीको कार्यकर्ता थिएँ,’ उनले वास्तविकता सुनाए, ‘आज समग्र पालिकाको अध्यक्ष हुँ । यसर्थ, अभिभावक हुँ । हाम्रा अध्यक्षले फरक दलसम्बद्ध जनप्रतिनिधिलाई बल पुग्नेगरी योजना बनाएका हुन् कि भनेर शंका गर्छन् । फरकमत राख्छन् । प्रश्न गर्छन् ।’
कतिपय पालिकामा मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षबीच पानी बाराबार छ । एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको रमिता देखिएकै हो । ‘मेरो पालिकामा त्यस्तो टसल छैन । व्यक्तिगत अभिरुचि हाबी भयो भने टसल हुन्छ,’ उनले प्रस्ट्याए, ‘अध्यक्षको नाताले मेरो व्यक्तिगत चाहना केही छैन । आफ्नो कार्यकाल अर्थपूर्ण बनाउने प्रयत्न गरिरहेको छु ।’
दुःख नम्बर–४
केपिलासगढी गाउँपालिकाको दुरदराजमा बसेकाहरू स्थानीय तहको पहुँचमा आइसकेका छैनन् । समाजमा जसले नेतृत्व, प्रतिनिधित्व गर्छु भन्छन् उनीहरूले नै बढी सुविधा उपभोग गरिरहेका हुन्छन् । ‘दुरदराजमा बस्नेहरू योजना माग्न आउँदैनन् । टाठाबाठा नै आउने हुन्,’ उनले दुःख नम्बर ४ बारे जानकारी गराए, ‘टाठाबाठाका कारणले उनीहरूको भाग खोसिने सम्भावना त्यत्तिकै हुन्छ । तसर्थ, असम्बन्धितलाई योजना दिनुहुँदैन । सम्बन्धित गाउँठाउँका स्थानीयले पाएर सञ्चालन गरेको योजनामा अपनत्वबोध हुन्छ । कामसमेत प्रभावकारी हुन्छ ।’
योजना माग्न सम्बन्धितभन्दा असम्बन्धित व्यक्ति आउँदाको दुःखबारे जनप्रतिनिधिलाई थाहा हुनैपर्छ । कतिपय अवस्थामा जनप्रतिनिधिलाई झुक्याउन खोजिएको हुन्छ । तर, जनप्रतिनिधि चनाखो हुनैपर्छ ।
दुःख नम्बर–५
मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेकै स्वास्थ्य हो । ‘जान्दाजान्दै पनि मानिसले जीवनभरिको कमाइ स्वास्थ्यमा लगानी गर्नुपरेको छ,’ उनले दुःख नम्बर ५ बारे थपे, ‘मेरो पालिकामा १५ शøयाको अस्पताल छ । त्यहाँ उपचार हुन नसक्नेलाई बाहिर लैजानैपर्यो । पालिकावासी सबैले बाहिर गएर स्वास्थ्योपचार गर्न सक्दैनन् । कतिपयले पालिकासँग हारगुहार माग्छन् । कतिपयले व्यक्तिगत रूपमा आर्थिक सहयोग माग्छन् । सकेको सहयोग गर्नु मेरो कर्तव्य हो । सबैलाई स्वास्थ्योपचार गर्न पुग्नेगरी सहयोग गर्न नसक्दा असाध्यै दुःख लाग्छ ।’
दुःख नम्बर–६
‘अधिकांश सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर देख्छु । एक विद्यार्थी बिग्रनु भनेको उसको पुस्ता बिग्रनु हो,’ उनले दुःख नम्बर ६ मा दुःख व्यक्त गरे, ‘केपिलासगढी गाउँपालिकाको दुर्गम गाउँमा पढ्ने र काठमाडौंको सुविधासम्पन्न विद्यालयमा पढ्ने विद्यार्थीबीच भोलि कहीं, कतै प्रतिस्पर्धा होला । सुविधासम्पन्न विद्यालयमा पढ्ने विद्यार्थीसँग मेरो पालिकाका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् ?’
केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले आफ्नो कार्यकालभरि शिक्षामै बजेट केन्द्रित गर्ने प्रतिबद्धता जनाए । ‘शैक्षिक अवस्था उकास्न जोडबल गर्ने हो भने अरू शीर्षकको योजना काटेर पनि शिक्षामा योजना बढाउन तयार छु,’ केपिलासगढी गाउँपालिकाका अध्यक्ष राईले ६ नम्बर दुःखमा सामूहिक पीडा पोखे, ‘हिजोआज बसाइँ–सराइको मुख्य कारण भनेकै शिक्षा हो । सम्बन्धित अभिभावक छोराछोरीको उज्यालो भविष्य बनाउन लोभिएकै छन् । जसले बसाइँ–सराइ तीव्र पारेको छ । यो दुःख दृष्टिगत गर्दै शैक्षिक अवस्था उकास्न विशेष लागिपरेको छु ।’
शिक्षामा एकैपटक परिवर्तन सम्भव छैन । ‘एउटा भवन बनाउन त ६ महिना लाग्छ । शिक्षामा परिवर्नत ल्याउन पन्ध्रौं वर्ष लाग्ला,’ उनको भनाइ छ, ‘परिवर्तन देखिन त्यत्तिका समय लागे पनि शिक्षामै केन्द्रित छु । मैले रिस्क मोलेको छु । रिस्क मोलेको क्षेत्रको परिवर्तन देख्न १५ वर्ष लाग्ला । त्यो भनेको तीन कार्यकाल हो । म तीन कार्यकाल रहन्न । तर, शैक्षिक परिवर्तनको सूत्राधार बन्न लोभिएको छु ।’
एउटा बाटो खनिदियो भने, भवन बनाइदियो भने ओहो समीर राईले गरिदिए भनेर गुनगान गाउनेको ‘क्याराभान’ लाग्छ । तर, उनी दीर्घकालीन र अर्थपूर्ण योजना कार्यान्वयनमा लागिपरेका छन् । ‘शैक्षिक स्तर सुधार्न जनप्रतिनिधिमात्रै लागेर हुँदैन । पालिकाको नीति निर्माण तहमा हामी छौं,’ उनले सुझाए, ‘केपिलासगढी गाउँपालिकाको शिक्षा शाखा छ । विद्यालय, सम्बन्धित विद्यालयमा विद्यालय व्यवस्थापन समिति छ । अनि शिक्षक र अभिभावक छन् । सबै–सबै नलागेसम्म शैक्षिक स्तर उकासिँदैन ।’
सामुदायिक विद्यालयमा अध्ययन गर्दा नसोध्ने अभिभावकले बोर्डिङ पढ्न थालेपछि तिम्रो ‘होमवर्क’ छ कि छैन भनेर छोराछोरीलाई सोधेको तपाईं–हामीले देखेका छौं । ‘कापी, कलम, पेन्सिल र इरेजर छ कि छैन भनेर सोधेकै हुन्छन्,’ उनले पुछारको दुःखमा थपे, ‘त्यही विद्यार्थी सामुदायिक विद्यालयमा पढ्दा वास्ता गर्दैनन् । यो विषयले मलाई असाध्यै छोएको छ ।’