चन्द्रसिंह कुलुङ आदिवासी जनजाति पत्रकार संघ अनिज (हाल : फोनिज) संस्थापक अध्यक्ष हुन् । कुलुङले छहरा साप्ताहिकबाट पत्रकारिता यात्रा थालेका थिए । सो साप्ताहिकमा संवत् २०४६ अघिदेखि लेख लेख्ने गरे पनि ०५५ बाट प्रतिनिधिका रूपमा काम गरे ।
पत्रकारितामार्फत आदिवासी जनजातिका आवाज बुलन्द बनाउन अनिज स्थापना गरिएको उनको स्वीकारोक्ति छ । सन् १९९१ मा नेपाल प्रेस इन्स्टिच्युटबाट दसमहिने तालिम लिएका उनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसनको मानव संशाधनसमेत गरेका छन् ।
पत्रकारिताबाहिर वैकल्पिक धारको आवश्यकता र स्थायित्व खाँचो रहेको उनको भनाइ छ । उनले वैकल्पिक रूपमा नागरिक मासिक १० अंकसम्म प्रकाशन गरे । नागरिक मासिकले १९९८ मा नागरिक समान हुन्छन्, पहिलो र दोस्रो दर्जाको अघोषित विभेद गरिनुहुँदैन, तमाम नागरिक समान हुन् भन्दै आदिवासी जनजाति, महिला, दलित तथा तराईवासीको आवाज बुलन्द बनाए । आत्मसम्मानसाथ प्रत्येक नागरिकले जीवनयापन गर्न नसकेसम्म राष्ट्रनिर्माणमा सशक्तीकरण हुन सक्दैन भनेको उनको बुझाइ छ ।
नागरिक मासिक बन्द भए पनि डब्लुडब्लु डट सिटिजन डटकम डट एनपी (हाल : बन्द) सञ्चालनमा आएको थियो । सिटिजन डटकम डट एनपीमा सिटिजनसम्बन्धी जानकारी पाउनुका साथै विश्वव्यापी रूपमा नेपाली आदिवासी जनजाति आन्दोलनलगायत नागरिक समान हैसियत र आत्मसम्मानको विश्वव्यापी रूपमा बेवसाइटले वकालत गर्दै आएको छ ।
कथित मूलधारका सञ्चारमाध्यममले आदिवासी जनजातिको आवाज समेट्न नसकेको अनुभव गरी पत्रकारिता क्षेत्रमा लागिपरेको बताउने कुलुङ आदिवासी जनजाति महासंघ स्थापनापछि सन्तुष्टमात्रै छैनन्, स्थापनाकालमा आफूले पाएको दुःखले सार्थकता पाउँदै गएको अनुभूति गरेका छन् । ‘फोनिजले अझै धेरै जनजातिलाई आफ्नो संगठनमार्फत सक्रिय र जनजाति मुद्दामा तमाम पत्रकार तथा सञ्चारकर्मीलाई सचेत गराउनुपर्छ,’ उनको सुझाव छ, ‘फोनिजले व्यक्तिकेन्द्रित होइन, मुद्दा र समुदायकेन्द्रित संस्थाको भूमिका निर्वाह गर्नुपर्छ । यसका लागि पेसागत दायरा नछुटाई व्यक्ति र संस्था आफ्नो मुद्दामा स्पष्ट ढंगले आउनुपर्छ ।’ त्यसो त फोनिजसम्बद्ध सबले आदिवासी जनजातिका मुद्दा नबुझेका पनि हुन सक्छन् तर उनीहरूलाई नेतृत्वपंक्तिले मुद्दासम्बन्धी जानकारी गराउँदै सचेत र क्रियाशील बनाउनुपर्छ ।
मूलधारका सञ्चारमाध्यममा आदिवासी जनजातिका मुद्दाले पाएको प्राथमिकतामा अब आदिवासी जनजातिको मुद्दा राष्ट्रिय भएकाले केही न केही समाधानको पहल हुने भए पनि ‘बाहुनवादी प्रवृत्ति’ अन्त्य नभएसम्म ढुक्क हुने अवस्था नरहेको उनको दाबी छ ।
सामुदायिक विकासका लागि उनी त्यत्तिकै सक्रिय छन् । उनको भनाइ छ, ‘सामुदायिक विकास र सञ्चारमाध्यम आपसमा अन्योन्याश्रित छन् । दुवै क्षेत्रमा सक्रियतासाथ लागिपरेका उनी समयलाई दृढइच्छाले दुवैतिर स्वतः भ्याउन सकिने बताउँछन् । यसरी सामुदायिक विकास र आदिवासी जनजाति मुद्दामा केन्द्रित भएर लाग्नुका कारणबारे उनको मूलधारका सञ्चारमाध्यममा रहेका पत्रकार साथीहरूले खुलेर आफ्नो मुद्दा उजागर गर्न नसकेको अवस्थामा छुट्टै र सशक्त ढंगमा प्रस्तुत तथा प्रकाशन गर्न वैकल्पिक धारको माध्यम अपनाएको सुनाए ।
आदिवासी जनजाति च्यानल सञ्चालनका लागि यसको क्षेत्र व्यापक छ । यसलाई दृष्टिगत गर्दै सञ्चालनका लागि सामुदायिक विकासका रूपमा पहल भइरहेको छ । आदिवासी जनजाति पत्रकारले आदिवासी जनजातिसम्बन्धी च्यानल सञ्चालनका लागि १६ वर्षअघि सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिए पनि सुनुवाइ भएन ।