रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम


स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को कुरा हो । बीबीसी नेपाली सेवा ७५ वर्ष पुगेको अवसरमा नेपाली गीत–संगीतमा नवप्रतिभा खोज्ने अभियानमा त्यही गीत गाउँदा गायिका राई प्रथम भइन् ।

बीबीसीद्वारा आयोजित नवप्रतिभा खोज्ने कार्यक्रममा संसारभरि रहेका नेपाली सहभागी थिए । सयभन्दा बढी गीतबाट उत्कृष्ट पाँचवटा गीत छनोट गरिएको थियो । त्यसमध्ये साबिक बाँझेच्यानडाँडा–१, सेखुवा खोटाङकी राधा राई प्रथम भएकी थिइन् । गायिका राईले त्यतिबेला पंक्तिकारसमक्ष खुसी व्यक्त गरेकी थिइन्, ‘बीबीसी नेपाली सेवाले मलाई अँध्यारोबाट उज्यालोमा ल्याइदियो ।’

एकताका बैंकर बन्ने सपना देखेकी उनले अन्ततः गायिकाका रूपमा परिचय बनाइन् । मनकामना जनकल्याण माध्यमिक विद्यालय निर्मलीडाँडा खोटाङबाट ०५६ मा प्रवेशिका उत्तीर्ण गर्दाताका उनलाई बैंकको जस्तो रहरलाग्दो जागिर अर्काे हुँदैनजस्तो लाग्थ्यो । समय बदलियो । त्यसैले होला बैंकर बन्ने सपना फुलाउन सकिनन् ।

गीत–सङ्गीतमा लागेको यत्तिका अवधिमा उनले हात पारेको सफलताले गीत–संगीतमै प्रतिबद्ध भएर लाग्न बाध्य बनायो । गीत–संगीतमा यत्तिका समय खर्चिएकी उनले यही विधामा पहिचान बनाउन हौसिएकी छन् । सपना–जपना नै संगीत बनेको छ । ‘म गीत–संगीत त्याग्नै नसक्ने भइसकें,’ उनको भनाइ छ, ‘चाहेर पनि गीत–संगीतको चौघेराबाट बाहिर निक्लन मलाई कठिन हुन्छ ।

हरेक क्षेत्रमा ‘वेल एजुकेटेड’को उपस्थिति प्रशंसनीय मानिन्छ । उनले ललितकला क्याम्पस भोटाहिटी काठमाडौंबाट संगीतमा स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । भारतको इलाहवादबाट संगीतमै सिनियर डिप्लोमाको प्रमाणपत्र हात पारेको पनि थुप्रै भयो । राष्ट्रिय नाचघर (२०५८) बाट संगीतसम्बन्धी प्रशिक्षण लिएकी उनी गीत गाउनकै लागि मुलुकका प्रमुख सहर, कोरिया र मलेसियासम्म पुगिन् । भन्छिन्, ‘गीत–संगीतमा नलागेको भए सायदै कोरिया र मलेसिया पुग्थें ।’

फ्रेडरिक निप्से भन्छन्, ‘संगीतविनाको जीवन भूल हुनेछ ।’

भिक्टर ह्युगोको भनाइ छ, ‘भन्न नसकिने र मौनतामा असम्भव जे छ, त्यो संगीतमार्फत व्यक्त गर्न सकिन्छ ।’

निप्से र ह्युगोको अभिव्यक्तिसँग निरज राई परिचित थिए । राईले बहिनीलाई हार्मोनियमको सहयोगमा सारेगम सिकाए । दाजुले हार्मोनियको सहयोगमा सारेगम सिकाएको राधालाई हिजैजस्तो लाग्छ । यो अवधिमा उनले थुप्रै गीत गाइन् । गीतिएल्बम पनि सार्वजनिक गरिसकिन् । गायिका राधा राईले आफूले सांगीतिक क्षेत्रमा बनाएको पहिचानमा दाजु निरज राईको योगदान रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्