किरात राई समुदायको परम्परागत सञ्चारमाध्यम अध्ययनक्रममा उनीहरूका रीतिरिवाज, परम्परा, संस्कार, दैनिक जीवन व्यवहारमा अपनाइने सञ्चार प्रक्रियामा चाखलाग्दो रहेको छ । किरात राई समुदायको सघन बसोवास पूर्वी नेपालका पहाडी जिल्ला नै हुन् । प्रत्येक व्यक्ति, समाज वा देश विकासका लागि सूचना पहिलो सर्त हो । नेपालको आदिम जातीय समुदायमध्ये किरात राई समुदायको आफ्नो छुट्टै सूचना प्रवाह प्रणाली छ । आमनेपालीले प्रयोग गर्ने वा नेपालका आमसमुदायले प्रयोग गर्ने सूचना प्रवाहका माध्यमबाहेक उनीहरूले आफ्नो पृथक सञ्चारमाध्यम पनि प्रयोग गर्दै आएका छन् । उनीहरूले आफ्नो व्यावहारिक जीवन भोगाइक्रममा विकसित गरेका त्यस्ता सञ्चारमाध्यम वा सूचना प्रवाह गर्ने शैलीका छुट्टै विशेषता छ ।
मानिस जति धेरै सुसूचित हुन्छन् उति धेरै आफूलाई शिक्षित र समृद्ध ठान्छन् भन्ने मान्यता छ । सूचना, शिक्षा, संस्कृति, परम्परा, जीवनशैली, कला, साहित्य वा इतिहासका रूपमा रहेको हुन्छ । ती विषयलाई एकबाट अर्को व्यक्तिमा वा एकबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने निश्चित प्रक्रिया वा साधन अपनाइएको हुन्छ । त्यसरी अपनाइने साधन नै सञ्चारमाध्यम हो । यसरी प्रयोग गरिने माध्यम बिस्तारै विकसित वा वैज्ञानिकीकरण हुँदै जाँदा कतिपय नयाँ रूपमा परिवर्तन हुन पनि सक्छन् । कतिपय हराउन सक्छन् त समयक्रममा नयाँ प्रविधिसँगै कतिपय नयाँ माध्यम विकास हुने गर्छ ।
एक्काइसौं शताब्दीको अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको अहिलेको मानव समाज यहाँसम्म आइपुग्नु सूचनाको प्रमुख भूमिका छ । एउटाले आर्जन गरेको ज्ञान अर्को पुस्तासम्म सुरक्षित तवरले हस्तान्तणको गर्ने यस्तो विधि प्रयोग नभएको भए मानव समाज अहिले पनि वर्वर युगमै रहने थियो । मानिसले हिजोआज प्रयोग गर्दै आएका सूचना प्रविधि एकैपटक र अचानक प्रयोग भएका होइनन् । त्यसमा पुस्तौंदेखि हजारौं वैज्ञानिकको खोज र अनुसन्धानको मिश्रण छ भने हाम्रा पूर्वजले परम्परागत रूपमा प्रयोग गरेका विधिको पनि उत्तिकै योगदान छ ।
व्यक्ति, संस्था वा सम्बन्धित देशसँग जति धेरै र छिटो सूचना उपलब्ध हुन्छन् वा उपलब्ध गराउने माध्यम हुन्छ, ऊ अन्यको तुलनामा शक्तिशाली ठहरिँदै आएको छ । राज्य वा शासन सञ्चालन गर्नु भनेको एउटा बलियो सञ्चार प्रणाली सञ्चालन गर्नु पनि हो । किनकि विभिन्न स्थानबाट आउने सूचनाका आधारमै नीति निर्माताले कुनै पनि विषयमा आफ्नो दृष्टिकोण निर्माण गर्ने र त्यसैअनुरूप आफ्नो योजना वा नीति निर्माण गर्ने गर्छन् । अहिलेको जस्तो अत्याधुनिक सञ्चार प्रविधि विकसित नभएको प्राचीनकालमा पनि सञ्चारका लागि विभिन्न माध्यम प्रयोग गरिन्थ्यो ।
कुनै विशेषप्रकारको आवाज, चिह्न, संकेत वा इसाराका माध्यमबाट सञ्चार प्रवाह गर्दा एकपटकमा सीमित क्षेत्र वा प्रापकसम्म मात्र सम्भव हुने सञ्चार प्रक्रियालाई परम्परात सञ्चार भनिन्छ । यद्यपि यो कुनै एक परम्परा, चालचलन, रीतिथितिका रूपमा रहेको हुन्छ । नेपालको सन्दर्भमा गाउँगाउँमा सूचना बाँड्दै हिँड्ने ‘कटुवाल’ यसको उदाहरण हो । पुराना सञ्चार प्रविधिबारे उल्लेख गर्दै थुसुले आफ्नो पुस्तक ‘इन्टरनेसनल कम्युनिकेसन कन्ट्युनिटी एन्ड चेन्ज (सन् २००३)’ मा युरोपियन साम्राज्यले राति प्रयोग गर्ने विश्वास गरिएको आगो, रनर (दौडाहा), ओल्लोबाट पल्लो डाँडामा सूचक राख्ने गरेको उल्लेख गरेका छन् ।
समयमक्रमसँगै अत्याधुनिक सञ्चार प्रविधि विकास भएको पाइन्छ । पश्चिमा देशमा चर्चित होमरको कथामा जुलियस सिजर (१००–४४ विसी)ले एकप्रकारको अनौठो मानवीय स्वर प्रयोग गरेर उनका योद्धालाई तीन दिनभित्र युद्धका लागि बोलाउन सक्ने उल्लेख छ । उनीहरू राति आगो र दिनमा धूवाँ प्रयोग गरेर आफ्ना योद्धालाई लडाइँका लागि छिटोभन्दा छिटो खबर गरी बोलाउन सक्ने थुसूले लेखेका छन् ।
एकबाट अर्को व्यक्तिमा र एकबाट अर्को ठाउँमा छिटोभन्दा छिटो सन्देश पठाउने र पाउने विधिको खोजीमा यस्ता अनेकौं प्रयासपछि मानिसले बिस्तारै कागज, छपाइ मेसिन, सार्वजनिक सूचना पाटी, टेलिग्राफ, टेलिफोन हुँदै अहिलेको ‘न्यु मिडिया’ भनिने पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट र मोबाइल फोन आविष्कार गरेका हुन् । यस्ता साधन प्रयोग विश्वव्यापी भइसके पनि विश्वका थुप्रै समुदायले अझै पनि आफ्ना परम्परागत सूचनाका माध्यम प्रयोग गर्न छाडेका छैनन् । कतिपय अवस्थामा सांस्कृतिक मान्यता र आमजीवन व्यवहारकै रूपमा त्यस्ता सञ्चारमाध्यम प्रयोग भइरहेका छन् ।
विश्वभर सयौंको संख्यामा विविधतायुक्त सामाजिक समूह छन् । विविधतायुक्त समाजका मानिसले अपनाउने परम्परा, जीवनशैली, इतिहास, भाषा, बसोवासको अवस्थिति, उनीहरूले अपनाउने परम्परागत सञ्चारमाध्यमको प्रयोग पनि फरक–फरक रहेको छ । तर, पर्याप्त खोज र त्यसको सार्वजनिकीकरण अवभावमा यस्तो विषय बाहिर आउन सकेका छैनन् ।
(किराती राई समुदायका परम्परागत सञ्चारमाध्यम शोधपत्रबाट ।)