राजापुर (बर्दिया) । धानको पकेट क्षेत्रका रूपमा मानिने बर्दियाको राजापुरमा चैतेधान रोपाइँ सुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँ थालिएको हो ।
गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करिब आठ सय हेक्टर क्षेत्रफलमा चैतेधान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यालयले जनाएको छ ।
चैतेधानको क्षेत्रफल बढाउन किसानलाई अनुदानमा बीउ वितरण, धानको नर्सरी ब्याडलाई चिसोबाट जोगाउन किसानलाई प्लास्टिक वितरण, पावर ट्रिलर, रिफरजस्ता साना हाते मेसिनरी समूह वा व्यक्तिगत रूपमा पनि अनुदानमा सहयोग, सिँचाइका लागि मोटर, सिँचाइ प्रणालीमा व्यवस्थापन गर्न सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन अध्यक्ष अग्निप्रसाद अर्यालले जानकारी दिए । चैतेधानकै लागि राजापुर क्षेत्रमा चार कस्टम हेयरिङ सेन्टर स्थापना भइसकेको र यस वर्ष दुईदेखि तीनवटा स्थापना हुने तयारीमा रहेको अध्यक्ष अर्यालले बताए ।
राजापुर क्षेत्रका किसानलाई चैतेधान उत्पादनमा आकर्षित गर्न राजापुर क्षेत्रमा सुपरजोन कार्यालयको १ करोड ५० लाख तथा समूह अथवा व्यवसायीको समान लगानीमा तीन करोडबराबरको आधुनिक चामल उद्योग स्थापना प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख तपेन्द्रबहादुर शाहले बताए ।
धान उत्पादन दृष्टिले हब रहेको भौरा क्षेत्रको नगरपालिका र गाउँपालिकाका धेर–थोर सबै वडामा धान रोपिने कार्यालयले जनाएको छ ।