‘रेडकर्नर नोटिस’ जारी भएपछि साल्पा मासिक बन्द



संवत् २०५० को दशकमा किरातप्रदेशमा ‘साल्पा’ मासिकले छाल उराल्यो । जसको प्रभाव अहिले पनि देखिन्छ । तर, हिजोआजले यो पत्रिका अस्तित्वमा छैन । न यसका प्रधानसम्पादक तथा प्रकाशक प्रतापसिंह नाछिरिङ नै पत्रकारितामा छन् । त्यसका सम्पादक, संयोजकहरू लाखापाखा लागे । तैपनि ‘साल्पा’ पत्रिकाको प्रसंगमा ‘प्रतापसिंह नाछिरिङ’ भनेर सम्झिनेहरू धेरै छन् ।

‘यो पत्रिकाले आदिवासी जनजातिले आफ्नो अधिकार प्रति सचेत बन्न उत्पे्ररित गरायो । सचेतना जगायो । आदिवासी जनजातिलाई कवि, लेखक, पत्रकार बन्न सघायो,’ प्रधानसम्पादक नाछिरिङको ठम्याइ थियो, ‘कम्तीमा लेख्न सिकायो । विभिन्न जातीय तथा भाषिक संस्थालाई वार्षिक मुखपत्र प्रकाशन गर्न सिकायो । मातृभाषा, संस्कृतिप्रति मोह बढाउन सिकायो ।’

साल्पा ०५० देखि ०६३ सम्म प्रकाशित भयो । त्यसपछि नियमित छैन । तीन ‘प’ अर्थात् पर्यटन, पत्रकारिता र ‘पोलिटिक्स’ लाई बराबर महत्व दिने प्रतापसिंह नाछिरिङको हातमा सबै सफलता हातमा छैनन् । कानुनका विद्यार्थी उनी पर्यटनमा लागे । सफलता हात पार्दैगर्दा सामाजिक परिवर्तनको मूल कडी राजनीति नै हो भन्ने बुझेका उनी पत्रकारिताको माध्यमबाट दुर्गम गाउँघरसम्म चेतनाको बीउ रोप्न पत्रकारितामा होमिएका थिए । सुरुमा पत्रकार घलराम राईद्वारा प्रकाशित ‘युगध्वनि’ साप्ताहिकको कार्यकारी सम्पादक बनेर अघि बढेका थिए । साप्ताहिक प्रकाशन खर्चले धान्न गाह्रो हुने भएपछि ‘साल्पा’ मासिक प्रकाशन थाले । एकताका ‘साल्पा’ मासिक कम्तीमा पाँचदेखि १५ हजार प्रतिसम्म छापिन्थ्यो । यो पत्रिका स्वदेशका विभिन्न ठाउँ र विदेशमा भारत, हङकङ र अमेरिकासम्म पुग्थ्यो ।

बीचमा संकट आइलाग्यो । प्रकाशक नाछिरिङकै भनाइमा कुनै एक विरोधीले ‘साल्पा’ मासिकको एउटा अंक नेपाल र भारतविरोधी सामग्री सुटुक्कै प्रकाशन गरिदियो । भारतको सीबीआई इन्टरपोलले प्रतापसिंह नाछिरिङलाई रेडकर्नर नोटिसमा राख्यो । अन्ततः उक्त पत्रिका प्रतापसिंह नाछिरिङकै नाममा कसैले छापेको झुटो प्रमाणित भएपछि मात्र पत्रिका बन्द भएको उनी सुनाउँछन् । कमाइभन्दा लगानी बढी गरेको सुनाउँदै उनी थप्छन्,

‘भारतले रेडकर्नर नोटिसबाट मेरो नाम हटाएपछि मात्र सार्वजनिक हुन सकें । तर, त्यो अंक कसले निकाल्यो भन्ने अहिलेसम्म थाहा लागेन । त्यस्तोचाहिँ नयाँ पुस्तालाई नहोस् ।’

नाछिरिङको जन्म ०१३ असार ४ गते आइतबार खोटाङको बाकाचोल–३ बादेलमा भएको हो । बुवा कमलबहादुर र आमा दलरत्नको जेठो सन्तान उनले ०३५ मा एसएलसी गरेपछि राजधानी पसेर बीएलसम्मको अध्ययन पूरा गरे । परिवारमा श्रीमती सविता खालिङ, एक छोरा जिमीहाङ र छोरी निनामहाङ्मा रहेका छन् । राजनीतिक अभीष्ट पूरा गर्नेक्रममा ०४८ मा तत्कालीन नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (एकीकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी) को तर्फबाट खोटाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएका थिए । तर, विजयी भएनन् । अहिले सामाजिक लोकतान्त्रिक पार्टी केन्द्रीय सदस्य छन् ।

किरात राई यायोक्खा स्थापनाकालका कानुनी सल्लाहकारसमेत रहेका उनले पछिल्लो दशकमा २४ भन्दा बढी भाषा बोल्न बहुभाषिक राईहरू फरक किरात जातिका रूपमा हुनुपर्ने भन्दै नेतृत्व लिएपछि भने किरात राई समुदायमाझ यी अग्रज पत्रकारको चिनारी बिटुलिन पुगेको भान हुन्छ । यद्यपि, उनको योगदानको कदर गर्दै किरात राई यायोक्खाले २७औं स्थापना दिवसका अवसरमा ‘किराया धनकेशर–अतम्हरी राई स्मृति सञ्चार पुरस्कार–२०७१’ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्