धनियाँ बेचेरै वार्षिक ३ लाख आम्दानी



म्याग्दी । जिल्लाका एक किसानले दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँ बेचेर एकै सिजनमा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

बेनी नगरपालिका–२ खबरा म्याग्दीका नारायण कार्कीले आफ्नो घरअगाडिको खेतमा व्यावसायिक रूपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । उनले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् ।

धनियाँका साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायत तरकारी खेती गरेका उनले धनियाँ बेचेरमात्र वार्षिक तीन लाखभन्दा बढी आम्दानी भएको बताए । किसान कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्छन् ।

सात सयको बीउ र चार हजार रुपैयाँबराबरको श्रम खर्चेर धनियाँ खेती थालेका किसान कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट तीन लाखभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेका छन् । बीउ र शारीरिक श्रम गरी कुल चार हजार ७०० को लगानी गरेको हुँ,’ उनले भने, ‘एक वर्षमा तीन लाखभन्दा बढीको बिक्री भयो, अझै खेतका गह्राभरि धनियाँ छ ।’
म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिलनजिकै उनले पसल र तरकारी खेती गरेका छन् । लभ्ली हिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै उनको कृषि उपजको पनि त्यत्तिकै बिक्री बढ्ने गरेको छ ।

लभ्ली हिलमा आएका युवकयुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाटै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका उनले बताए । ‘अहिले अरू तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ,’ उनले सुनाए । उनले धनियाँको एउटा मुठोलाई २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । उनले दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्