विश्वभर इन्टरनेटको व्यापक प्रयोगमार्फत सामाजिक सञ्जाल विकास भएपछि परम्परागत सञ्चारमाध्यमको परिभाषा बदलिएको छ । कतिपयले टेलिभिजन, पत्रपत्रिका र रेडियोलाई समेत परम्परागत सञ्चारमाध्यमभित्र राख्न थालेका छन् । तर, अहिलेसम्म स्थापित भएको छैन । सञ्चार प्रविधिको विकासक्रमसँगै परम्परागत सञ्चारमाध्यमको परिभाषा र दायरा भने फरक हुँदै गएको छ ।
आम रूपमा भने ‘हाम्रो जीवनका त्यस्ता गैरविद्युतीय माध्यम, जसले हाम्रो संस्कृति र परम्परा एकबाट अर्को पुस्तामा सार्ने काम गर्छ, त्यसलाई परम्परागत सञ्चारमाध्यम’ भन्ने गरिन्छ । एकपटकमा निश्चित व्यक्तिमाझमात्र सूचनाको पहुँच पुर्याउन सकिने, लक्षित समूहसम्म निकै ढिलामात्र सूचना पुर्याउन सकिने, विविधतायुक्त समाजमा एकैप्रकारको माध्यमबाट सूचना प्रवाहित गर्दा उद्देश्यअनुरूप सूचना प्रवाहित हुन नसक्नु यसका विशेषता हुन् ।
यो सामान्यतः असंगठित र अपरिष्कृत चरित्रको हुन्छ । परम्परागत सञ्चारमाध्यम व्यावसायिक वा पेसागत रूपमा विकसित नभएका हुन सक्छन् । ठाउँ र समयअनुसार यस्ता माध्यमको नाम फरक–फरक हुन सक्छ । यसको प्रकार पनि भिन्नभिन्न हुन्छन् । कसैले निश्चित संकेत, चिह्न, हाउभाउ, आवाज वा यस्तै अन्य विविध माध्यम प्रयोग गर्न सक्छन् । हाम्रो समाजमा रामायण, महाभारत, स्वस्थानीजस्ता पौराणिक कथा तथा कथावाचक परम्परागत सञ्चारमाध्यमका एक अभिन्न अंग हुन् । त्यस्तै लोकगीत, लोकनृत्य, संगीत, पोसाक आफैंमा परम्परागत सञ्चारमाध्यमका उत्कृष्ट नमुना हुन् । परम्परागत सञ्चारमाध्यमबारे खनाल (विसं २०६८) ले आफ्नो पुस्तक ‘आमसञ्चार र पत्रकारितामा’मा शंख फुक्ने, हास्यव्यंग्य, प्रहसन, चुट्किला, उखान–टुक्का आदि परम्परागत सञ्चारमाध्यमको विभिन्न रूप भएको उल्लेख गरेका छन् ।
परम्परागत सञ्चारमाध्यम मानिसले आफ्नो जीवनमा अभ्यास गर्ने रीतिरिवाज, संस्कार, विश्वास, चालचलनका आधारमा विकसित गरेका हुन्छन् । त्यस्ता माध्यम युगौंयुगदेखि अभ्यास गरिँदै आइएका हुन्छन् । परम्परागत सञ्चारमाध्यम मौखिक, गीत–संगीत, काष्ठकला, चित्रकला, चित्रकथा आदिका रूपमा रहेका हुन्छन् । जसले युगौंदेखि समाजमा एक पुस्ताबाट अर्को पुस्तामा सूचना हस्तान्तरण गर्ने काम गर्दै आएको हुन्छ । अर्को अर्थमा हाम्रो घरपरिवारमा जुन चीजले सञ्चार प्रवाहित गर्ने काम गर्छ, त्यसलाई परम्परागत सञ्चारमाध्यम भन्न सकिन्छ । यी सबै सञ्चारमाध्यम सबैतिर प्रचलित नुहन पनि सक्छन् । यिनीहरूलाई परम्परागत नृत्य, नाटक, पेन्टिङ, ललितकला, गीत–संगीत, चिह्न, कथा आदिमा वर्गीकरण गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा कतिपय समाजमा ‘कटुवाल’ राखेर गाउँभरिका मानिसलाई राज्य वा गाउँका कुनै घटना सूचना दिने प्रचलन रहेको पाइन्छ । राज्य सञ्चालनक्रममा विभिन्न विभाग गठन गरी स्थानीयस्तरसम्म सन्देश पुर्याउन नियुक्त गरिने गभर्नर, तालुकदार, मुखियालाई पनि एकप्रकारको सूचना संवाहक नै मान्न सकिन्छ । परम्परागत र सामन्ती प्रणाली भएको स्थानमा गाउँको सामन्त नै सबैभन्दा ठूलो सञ्चार संवाहक हुन् । किनकि आधुनिक सञ्चारमाध्यमको विकास नहुँदासम्म राज्यले आफ्नो आधिकारिक सूचना पठाउन ती पदमा व्यक्तिलाई नै नियुक्त गर्थे । गाउँका सामन्तलाई कसैले उक्त पदमा नियुक्ति नगरे पनि आर्थिक र सामाजिक रूपमा बलियो हैसियत भएको सामन्तको गाउँभरिको सूचना पुग्ने गर्छ । त्यसैका आधारमा उसले दिने निर्णय, बनाउने नीति र दृष्टिकोणअनुसार गाउँलेले व्यवहार गर्छन् । यसर्थमा पनि सामन्त नियुक्ति वा गैरपेसेवर सूचना संवाहक हुन् ।
किराती राई समुदायले पनि आफ्नो समाजमा चरा, फूल, बोटबिरुवा, जीवजन्तु, मानिस, बाजा आदिलाई सञ्चारमाध्यमका रूपमा प्रयोग गरेको पाइन्छ । इतिहासकारहरूले किरातीले पूर्ण सामन्तवादी सामाजिक व्यवस्थाको अभ्यास नगरी कविलाइ गणतन्त्रात्मक समाज व्यवस्था अपनाएको स्पष्ट पारेका छन् (आचार्य : २०६३ दोस्रो संस्करण) । त्यसैले परापूर्वकालदेखि नै उनीहरूले पेसेवर सञ्चारकर्मी प्रयोग गरेको तथ्य भेटिँदैन ।
(किराती राई समुदायका परम्परागत सञ्चारमाध्यम शोधपत्रबाट ।)