गाउँमा सायद रोडले पहिरो जान्छ कि
यस्तो हरियाली खेत पो बाँझिन्छ कि
दुई तस्बिरमा देखिएका दृश्य हलेसी तुवाचुङ नगरपालिका–८, धितुङ भाडबेँसी (कटहरे)को हो । यो हरियाली दृश्यसँगसँगै हलेसी–धितुङ–रेग्मीटारखण्डको २५ किमि सडक यहीं ठाउँबाट विस्तार भएको छ ।
यो सडक हलेसी प्रवेश गर्ने पूर्वको छोटो मार्ग हो । वर्ष दिनअगाडि यो सडक जोडिएको हो । जसमा संघ, प्रदेश र स्थानीय तहको उत्तिकै लगानी छ । यो सडक निर्माणमा अझ भनौं हामी धितुङेको त साबिक गाउँ विकास समिति हुँदाका बखतदेखिको रकम विनियोजन गरी साझा सडकका रूपमा विस्तार गरिएको सबैमा स्मरण गराउँछु ।
यो सडक निर्माण गर्दैगर्दा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११, राजापानी भाडबेँसीपट्टिको खेततिर जाने कुलो भत्किएको थियो । कुलो भत्केपछि अहिलेसम्म उक्त ठाउँको खेत बाँझिएका छन् भने यस वर्ष हलेसी तुवाचुङ नगरपालिका–८, धितुङ कटहरेपट्टिको खेततिर जाने कुलो भत्किएकाले उक्त ठाउँको खेत बाझिने सम्भावना छ ।
मैले विकासको विरोध गर्न खोजेको होइन । यो सडक निर्माणबारे विगतदेखि वर्तमानसम्म सबैभन्दा बढी आवाज उठाउने पात्र हुँ म । यो सडकबारे भविष्यमा पनि आवाज उठाइरहनेछु । तर, यो सडक स्तरोन्नति गर्न सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग राख्छु । सँगसँगै यो सडकसँग जोडिएका भाडबेँसी वारिपारि रहेका हरियाली खेतबारी झन् हरियाली बनाउन, सडक निर्माण गर्दा भत्केक गरिब, निमुखा र श्रमजीवीको दैनिक गुजारासँग सरोकार रहेको खेतको कुला निर्माण गरी आधुनिक कृषि तथा पशुपन्छी र पर्यटन व्यवसायका ररूपमा यस ठाउँलाई विकास गर्न जोडदार माग गर्दछु ।