तनहुँको बन्दीपुर–५ स्थित याम्पाफाँटका किसानले उत्पादन गरेको काँक्रो बिक्री नभएर खेतबारीमै कुहिन थालेका छन् ।
उत्पादित काँक्रो प्रतिकिलो १० मा पनि बिक्री नभएर खेतबारीमै कुहिन थालेपछि त्यस क्षेत्रका किसान चिन्तित भएका हुन् । हाँका २०० किसानले व्यावसायिक रूपमा काँक्रो खेती गर्दै आएका छन् ।
उत्पादित काँक्रो जिल्लाभित्र मात्रै खपत हुन नसकेको र अन्य जिल्लामा लैजान छिमेकी जिल्लाका प्रशासन कार्यालयबाट अनुमति पास नपाएपछि काँक्रो बिक्रीमा समस्या भएको कृषक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ‘मैले ६ रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी लगाएको छु,’ घिमिरेले भने, ‘करिब डेढ रोपनीमा गरिएको काँक्रो खेतीबाट दैनिक १०० किलोग्राम हाराहारीमा उत्पादन हुन्छ । बिक्री नहुँदा बारीमै कुहिन थालेको छ ।’
‘प्रतिकिलो १० रुपैयाँमा दिँदा पनि बिक्री भएको छैन । दिनमा १५/२० किलोसम्म गाईबस्तुलाई कुँडो बनाएर खुवाउने गरेको छु,’ उनले थपे, ‘मजस्ता कृषक यहाँका दुईजनाले दैनिक चार/पाँच सय किलोसम्म काँक्रो कुँडोमा खर्च गर्न थालेका छन् ।’ यहाँ उत्पादित काँक्रो दमौलीसम्म पुर्याउँदा प्रतिकिलो ४० देखि ७० सम्ममा बिक्री हुने गरेको छ । तर, यहाँ कृषककै मूल्यमा दिँदा पनि बिक्री नभएको उनले सुनाए । घिरौँला, फर्सी, करेला, लौकालगायतका अन्य तरकारी बिक्री भएको छ । उनले भने, ‘अन्य तरकारीको तुलनामा काँक्रो छिटो र धेरै उत्पादन हुँदा बिक्रीका लागि समस्या परेको हो ।’
यहाँ उत्पादित काँक्रो सङ्कलन गरी पोखरा र चितवनलगायत बजारमा पठाउने सोही ठाउँका वरुण भट्टराईले दैनिक चार टन काँक्रो उत्पादन भए पनि मुस्किलले दुई टन बिक्री हुने गरेको बताए ।
कास्कीका व्यापारीले प्रतिकिलो २० रुपैयाँमा खेतबारीबाटै काँक्रो लैजाने भने पनि सवारीपासको व्यवस्था नहुँदा बिक्रीका लागि समस्या भएको हो । उनले भने, ‘छिमेकी जिल्ला पोखरासम्म लैजान पाउने हो भने कृषकले उचित मूल्य पाउन सक्ने थिए ।’ केहीले काँक्रो लिन आउने पशुपालक किसानललाई प्रतिकिलो पाँच रुपैयाँले छिप्पिएको काँक्रो बिक्री गर्ने गरेको उनले बताए ।