कसरी हुन्छ चलचित्रमा पात्र चयन ?



चलचित्रको प्रमुख आकर्षण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मनमात्र नभई, अवार्ड जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउँछन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार छनोट गर्न सुझाउँछन् ।

केही दिनअघि मात्रै नेपाली कलाकारसँग अन्तक्र्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डा. चन्द्रप्रकाश द्विवेदीले भारतमा एउटै एजेन्सीले लाखौं कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए । ‘मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन,’ निर्देशक द्विवेदीले भने, ‘यद्यपि, केही समययता ओटीटीका लागि बन्ने चलचित्र र शृंखलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।’

भारतजस्तै नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि, ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनील थापाको ‘रातेकाइँला’, राजेश हमालको ‘शंकर’, सौगात मल्लको ‘हाकुकाले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ ? भन्ने निर्देशकले तय गर्छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्नेक्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए । ‘सुरुवाती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरें । त्यो समय मैले कलाकार डिमान्ड गर्न सक्दिनथें । त्यसैले काममात्र गरें,’ निर्देशक राउतले भने, ‘पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा भने भूमिकासुहाउँदो कलाकारको अडिसन लिएरै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । हामीले यो वा त्यो कलाकार चाहियो भन्न सक्छौं ।

निर्देशनको प्रारम्भ ‘नोभेम्बर रेन’मार्फत गर्दा उनले सबै काम आफैं गर्थे । अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिए । केही चलचित्रमा पात्र छनोट वा भनौं निर्देशन गरेका रंगकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाए ।

‘मुख्य पात्रका लागि कलाकार छनोटपछि सहायक र साना पात्र खोज्दै आउनेको संख्या बढी छ । उनस्हरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु । तर, केही पूर्ण रूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिनसमेत आउनुहुन्छ,’ रंगकर्मी केदार श्रेष्ठले बताए ।

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्वपूर्ण हुने बताइन् । ‘म अडिसन दिन पुग्छु । हामीकहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर, हामीले आफूसुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन,’ अभिनेत्री बर्देवाले थपिन्, ‘नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनुहुन्न ।’

रंगकर्मी श्रेष्ठले निर्माताको दृष्टिकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोट प्रक्रिया बिस्तारै सही दिशामा अगाडि बढेको बताए । श्रेष्ठले भने, ‘अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायत विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद पक्ष हो । परिवर्तन हुँदै छ ।’

निर्देशक राउतले बजारमा हुने व्यापार अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । ‘कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशनबाहिर धेरै जाँदैनौं । किनकि सफलता वा असफलताको मापन बक्स अफिसले नै गर्छ,’ निर्देशक राउतको भनाइ छ, ‘व्यावसायिक पाटोलाई विशेष महत्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि, कलात्मक पाटो हाबी भएको चलचित्रमा भने प्रयास भएका छन् ।’

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोच पर्दामा देखाउने भएकाले यो महत्वपूर्ण विषय हो । तर, नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुने गरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकार पर्दामा हुने महत्व कमै छ ।

प्रतिक्रिया दिनुहोस्