दुर्छिम (खोटाङ) । गीतकार राजन राईद्वारा लिखित ‘पीरमा पनि हाँस्न सक्छे, एउटी छोरी मान्छे’ शीर्षाकृत गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रदेशसभा सदस्यसमेत रहेका गीतकार राईको उक्त गजलको म्युजिक भिडियो गायिका अञ्जु पन्तको ‘अञ्जु पन्त अफिसियल च्यानल’बाट सार्वजनिक भएको हो । गायिका पन्तले गत पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षको दिन म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् ।
म्युजिक भिडियो सार्वजनिक भएको समाचार सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण नभए पनि यो समाचार तयार पार्दासम्म अञ्जु पन्त अफिसियल च्यानलमा ५९ हजार २३८ जनाले हेरिसकेका छन् ।
‘अक्षर र आवाज’ नामक गीतिएल्बममा समेटिएको ‘पीरमा पनि हाँस्न सक्छे, एउटी छोरी मान्छे’ गजलमा महिला समानताको विषय उठान गरिएको नेकपा एकीकृत समाजवादी पोलिटव्युरो सदस्य तथा गीतकार राजन राईले स्वीकारेका छन् ।
‘यो गीत गायिका अञ्जु पन्तलाई असाध्यै मन परेको थियो,’ उनले जानकारी गराए, ‘मलाई पनि असाध्यै मन पर्छ । तमाम महिलावृन्दलाई समेत मन पर्ला ।’
महिलाले गजलमार्फत पुरुषलाई धम्की दिइएको छ । परिआउँदा करङ पनि भाँच्न सक्छे भन्ने सन्देश प्रवाह गरिएको छ ।
राजनराज सिवाकोटीले संगीत भरेको यो गजलमा अञ्जु पन्त आवाज रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।