‘ऐंसेलुखर्क गाउँपालिकालाई खोटाङकै नमुना पालिका बनाउने ध्याउन्नमा छु,’ काठमाडौंको चाबहिलमा भेटिएका ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले सुनाए, ‘पूर्वाधार (शिक्षा, स्वास्थ्य, बिजुलीबत्ती र बाह्रै महिना यातायात साधन गुड्ने सडक)सम्पन्न बनाउन लागिपरेको छु ।’
पालिकाले पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामै राखेको छ । ‘ऐंसेलुखर्क गाउँपालिकामा बहानेपोखरी, देउराली, माखिपा, सपनेश्वर, फापरस्वाँरा (महेश्वरी)लगायत पर्यटकीय स्थल छन्,’ ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष राईले भावी योजना सुनाए, ‘खोटाङ आइपुगेको आन्तरिक तथा बाह्य पर्यटकलाई ऐंसेलुखर्कसम्म कसरी ल्याउन सकिन्छ भनेर अध्ययन थालिसकिएको छ ।’ प्रस्तुत छ, ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश ।
फर्सीका मुन्टा मन पर्दैन
खानपानमा यो वा त्यो भन्ने रोजाइ छैन । नेपाली खाना दाल, भात, तरकारी नै खाने हो । मासु पनि पाकिरहन्छ । हिजोआज गाउँघरमा साथीभाइ जम्मा भएर मासु पोलेर खाने प्रचलन बढेको । खोटाङ बसाइ धेरै हुन्छ । काठमाडौं पनि पानीपँधेरोजस्तै बनेको छ । काठमाडौं पुग्दा खानकै लागि होटल या रेष्टुरेन्ट गइहालेमा चिकेन विङ्स र मःमः मगाउँछु ।
म खाना पकाउँछु । मैले अन्डा करी पकाएको खानेले मीठो मानिदिन्छन् । तर, मलाई फर्सी र करेलाका मुन्टाचाहिँ नपाकिदिए हुन्थ्यो लाग्छ । सानैदेखि दुवै मन पर्दैनथ्यो ।
कपडामा वार्षिक १ लाख खर्च
कपडाको सोखिन छु । विशेषतः जिन्स कपडा प्रयोग गर्छु । टीसर्ट लगाउँछु । समय–समयमा दौरासुरुवाल पनि लगाउँछु । बरु खानमा मरिहत्ते गर्दिनँ तर सकेसम्म कपडा राम्रै लगाउने बानी छ । कपडामा वार्षिक एक लाखसम्म खर्च हुन्छ । नीलो रङका कपडा रोजाइमा पर्छन् । मैले लगाउने धेरैजसो कपडा ‘रेडिमेड’ हुन्छन् । सर्टचाहिँ सिलाउँछु । कपडा सिलाउनैपरे रेमन्ड, हिलटप, गोर्खा पुग्छु । पहिले–पहिले श्रेष्ठ टेलरिङ जान्थें ।
मैले प्रयोग गर्ने कपडाको ब्रान्ड एडिडास, लीको, रेबुक हुन् । म ह्याट र क्याप लगाउँछु । ५ हजार ५ सयमाथिका क्याप लगाउँथें । ढाकाटोपी पनि असाध्यै मन पर्छ ।
तेक्वान्डोको ब्ल्याकबेल्ट
म तेक्वान्डोको ब्ल्याक बेल्ट हुँ । काठमाडौंमा रहँदा जिम गर्थें । गाउँपालिका अध्यक्षको भूमिका निर्वाह गर्न थालेपछि व्यायाममा ध्यान दिन पाएको छैन । अधिकांश समय साँझ ६/७ सम्म कार्यालयमै रहन्छु । घर फर्केपछि खाना खाएर एकछिन पढ्छु । त्यसपछि निद्रा लागिहाल्छ ।
टन्सिलको समस्या छ । बिहान अलि ढिलो उठ्छु । ‘डाइटिङ’ छैन । तर, खाना थोरै खान्छु । ग्यास्ट्रिक छ । छिटोछिटो खान्छु । काठमाडौंमा हुँदा ‘मर्निङवाक’ गर्थें । गाउँमा रहँदा भ्याएसम्म एकसरो काम गर्छु । घाँस काट्ने, गोबर सोहर्ने, खनजोत गर्न अल्छी लाग्दैन ।
१५ सय किताब संकलन
दर्शनशास्त्र पढ्न जाँगर चल्छ । विश्वविख्यात व्यक्तिको जीवनी पढ्न त्यत्तिकै आनन्द लाग्छ । सबै लेखकप्रति उत्तिकै सम्मान छ । त्यति हुँदाहुँदै पनि साहित्यकार कृष्ण धरावासीलाई धेरै पढेको छु । मेरो निजी पुस्तकालयमा १५ सय किताब होलान् ।
खप्तड पुग्ने रहर
घुम्ने रहर मरेको छैन । पोखरा, धरान, इलाम, भेडेटार (धनकुटा)लगायत पुगेको छु । घुमेकामध्ये इलामका चियाबारी असाध्यै मन पर्यो । विदेश घुम्ने रहर कत्ति पनि छैन । जीवनमा एकपटक खप्तड पुग्ने इच्छा छ ।
साँझ ७ बजेसम्म कार्यालयमै
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि व्यस्तता बढेको छ । मैले सोचेजस्तो फुर्सद नहुँदोरहेछ । पालिकावासीले सानोतिनो समस्या लिएर कार्यालयसम्म आउँछन् । सम्भव भएसम्म समाधान गर्नैपर्यो । साँझ ७ बजेसम्म त कार्यालयमै रहन्छु ।
दयाहाङ राईको अभिनय जीवन्त
नेपाली चलचित्र हेर्थें । अहिले पनि हेर्छु । तर, हिजोआजचाहिँ छनोट गरेरमात्रै हेर्ने गर्छु । पछिल्लो समय कबड्डी हेरेको थिएँ । दयाहाङ राईको अभिनय जीवन्त लाग्छ ।
क्रिकेट कहिल्यै बुझिनँ
म होचो भए पनि भलिबल खेल्छु । तर, भलिबलभन्दा तेक्वान्डो नै मन पर्छ । तेक्वान्डो खेल्न छाडेको पनि २० वर्ष भयो । क्रिकेट हेरे पनि अलि बुझिनँ ।
मोबाइलजति उपहारका
मैले प्रयोग गर्ने मोबाइल ‘एस टेन प्लस’ हो । मोबाइल कहिल्यै किनेको छैन । उपहार पाएकाले नै काम चलाइरहेको छु । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर चलाउँछु । मोबाइलमा गेम खेल्ने लत छैन ।
घरमा सिंगापुरको टेलिभिजन
टेलिभिजनमा विशेषतः समाचार हेर्छु । ‘टक शो’ दोस्रो प्राथमिकता पर्छ । मेरो घरमा सोनीको टीभी सेट छ । भाइले सिंगापुरबाट ल्याएको टीभी ४२ इन्चको छ ।
स्वस्थ रहन व्यायाम अनिवार्य
टन्सिल र ग्यास्ट्रिकबाहेक ज्यानलाई सन्चै छ । दीर्घरोग छैन । सकारात्मक सोच, खानपानमा ध्यान दिनुपर्छ । व्यायाम अनिवार्य मानिन्छ । तर, पछिल्लो समय व्यायाम गर्न सकेको छैन ।
भाषण ‘छि’ भन्ने हुँदैन
गाउँपालिका अध्यक्ष भएकाले भाषण गरिरहनुपर्छ । म ‘उत्कृष्ट’ र ‘छि’ भन्ने भाषण गर्दिनँ । मध्यमखालको भाषणशैली छ । विषयवस्तु पहिल्यै अध्ययन गरेर भाषण गर्ने गर्छु । सामान्यतः मैले गरेको भाषण आफूलाई बौद्धिकै लाग्छ । भाषण गर्नअघि तयारी गर्छु ।
स्वाद थाहा छ
मादक पदार्थ पिउँदिनँ । तर, स्वाद थाहा छ ।
गीतकार पनि
गीत–संगीत नसुन्ने को होलान् ? राजेशपायल राईका गीत सुनिरहन्छु । अञ्जु पन्तको आवाज पनि असाध्यै मन पर्छ । म गीत लेख्छु । गीत गुनगुनाउँछु पनि । मैले लेखेको गीत राजेशपायल राईले पनि गाएका छन् । मेरा तीन गीत रेकर्ड छन् ।
१ महिना कारावास
मानिस कमजोरीसहितका हुन्छन् । स्वभावतः म छुच्चो स्वभावको छु । क्याम्पस पढ्दा हात छोडिहाल्थें । अतीत सम्झेर अफसोस लाग्छ । गल्ती नगरे पनि सजाय पाएको छु । एकताका नेविसंघ–अनेरास्ववियुबीचको भिडन्तमा परेको छु । म खेलाडी । आरआर क्याम्पसमा हाम्रो समूह राम्रै थियो । त्यतिबेला आफूसम्बद्ध संगठनले बोलायो । हामी गयौं । संगठन–संगठनबीच भिडन्त भयो । यिनीहरू गुन्डा हुन् भन्दै सुरक्षाकर्मीले समातिहाले । मैले महिना दिनसम्म कारावास सजाय भोगेको छु । मैले गल्ती गरेहालें भने आत्मालोचना गर्छु । ‘सरी’ पनि भन्छु ।
२० लाखको घर
हामी सगोलमै छौं । म अहिले बस्दै आएको घर राम्रै छ । त्यतिबेला २० लाख रुपैयाँमा बनाइएको थियो ।
हातमा फलामको औंठी
मेरो राशि मकर हो । समय–समयमा ग्रहदशा हेराउँछु । ज्योतिषीले मेरो राजयोग छ भनेका छन् । ग्रहदशा हेर्नेले समाजसेवी हुन्छौ भनेका छन् । हातमा घडी टुट्दैन । दाहिने हातमा फलामको औंठी लगाएको तपाईंले देखिहाल्नुभयो । यो औंठी लगाउँदा मकर राशिका मानिसलाई भलो हुन्छ रे ।
कपालमा तोरीको तेल
तोरीको तेल भेटे कपालमा लगाउँछु । जेल लगाउँदिनँ । कार्यक्रमतिर सहभागी हुँदा फेसियल गर्ने बानी छ । सनक्रिम, पर्फ्युम प्रयोग गर्छु । काठमाडौं पुग्दा साउना बाथ लिन्छु । पहिले सातामा एकपटक लिन्थें । हिजोआजचाहिँ लिन भ्याएको छैन ।
प्रेम प्रस्ताव आफैंले राखें
हामीले प्रेमबिहे गरेका हौं । प्रेम प्रस्ताव मैले नै राखेको हुँ ।
खोटाङकै नमुना पालिका बनाइने
ऐंसेलुखर्क गाउँपालिकालाई खोटाङकै नमुना पालिका बनाउने ध्याउन्नमा छु । पूर्वाधार (शिक्षा, स्वास्थ्य, बाह्रै महिना यातायात साधन गुड्ने सडक, बिजुलीबत्ती) सम्पन्न बनाउन लागिपरेको छु । पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छु ।
पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामै राखेको छु । ऐंसेलुखर्क गाउँपालिकामा बहानेपोखरी, देउराली, माखिपा, सपनेश्वर, फापरस्वाँरा (महेश्वरी)लगायत पर्यटकीय स्थल छन् । खोटाङ आइपुगेको आन्तरिक तथा बाह्य पर्यटकलाई ऐंसेलुखर्कसम्म कसरी ल्याउन सकिन्छ भनेर अध्ययन थालिसकिएको छ ।
मलामी धेरै आइदेओस्
मृत्यु शाश्वत सत्य हो । एउटा प्रक्रिया हो । मृत्युदेखि डर लाग्छ नि । बाँचिरहन पाए हुन्थ्यो भन्ने लोभ लाग्नु अस्वाभाविक होइन । म मोटरसाइकल दुर्घटनामा पर्दा मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ । जन्मेपछि मर्नैपर्छ । मृत्यु हुँदा मलामी धेरै आइदेओस् भन्ने लोभ लाग्दोरहेछ ।