विश्वकै दुर्लभ कछुवा झापाको अर्जुनधारामा


 

झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रूपमा चिनिएको छ । विश्वमै अतिसंकटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षण सुरु गरेका कारण नगरपालिका कछुवा संरक्षित नगरका रूपमा चिनिन पुगेको हो ।

पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने कछुवा उभयचर जीव हो । प्रकृतिको सर्वाधिक पुरानो जीवधारी मानिने कछुवा सरिसृप वर्गमा पर्छ । यसलाई अहिले अर्जुनधारा नगरपालिकामा संरक्षण गरेर राखिएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र आठ प्रजातिका ४० भन्दा बढी कछुवा संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लबका कार्यक्रम निर्देशक समीर अधिकारीले बताए ।

उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (एआरसीओ, आर्काे)को सहयोगमा सन् २०१२ बाट समुदायमा आधारित भएर कछुवा संरक्षण कार्यक्रम सुरु गरिएको र सोही कार्यक्रममार्फत कछुवा संरक्षण थालिएको हो । टटल्स कार्यक्रम निर्देशक अधिकारीले यहाँ ठाउँमा कछुवाको प्रजननसमेत हुँदै आएको जानकारी दिए ।

प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवा संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्रमा राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङखोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित चार प्रजातिका अतिसंकटापन्न कछुवा र विदेशमा मात्रै पाइने रातो काने कछुवा यहाँ राखिएको टटल्स कार्यक्रम निर्देशक अधिकारीले जानकारी गराए ।

संरक्षण केन्द्रमा राखिएको कछुवामध्ये ठोटरी प्रजाति एक हो । ठोटरी अर्थात् विश्वमै अतिसंकटापन्न यो प्रजातिको कछुवा विशेषगरी सालसँग सम्बन्धित जंगलमा मात्रै बस्न रुचाउने गर्छ । ‘यो कछुवा विशेषगरी मध्य पहाड र तराईमा पाइन्छ,’ अधिकारीले सुनाए, ‘यो कछुवा मानिसले मासुका लागि घरमा समेत पाल्ने गरेका छन् । मासुका लागि प्रयोग भएका कारण यो प्रजातिको कछुवा विश्वमै लोप हुँदै गयो ।’

केन्द्रमा संरक्षण गरेर राखिएको अर्काे प्रजातिको कछुवा हो– नरम खवटे । यो कछुवा वर्षायाममा धेरै देखिने गरिएको छ । यसलाई टिकटिके पनि भन्ने गरिन्छ । यो प्रजातिको कछुवा पानीमा बस्न रुचाउँछ । त्यस्तै केन्द्रमा संरक्षण गरिएको अर्काे प्रजाति हो– पहेंलो धुरे । पहेंलो धुरे कछुवासँगै यहाँ भारतीय धुरे कछुवासमेत संरक्षण गरेर राखिएको छ ।

कछुवा संरक्षणका लागि प्रतिष्ठानले साना–ठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपेको छ । यहाँ झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवा छाडिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

पर्यावरण सन्तुलन राख्न कछुवाको भूमिका महत्वपूर्ण रहने जानकारी गराउँदै अर्जुनधारा नगरपालिका प्रमुख रानाले भने, ‘यहाँ आठ वर्षदेखि कछुवा संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षका लागि सहिद सुखानी स्मृति प्रतिष्ठानले व्यवस्थापन गरे पनि नगरको समेत सहयोग छ ।’

कछुवा संरक्षणका लागि नगरले सालिन्दा बजेट विनियोजन गर्दै आएको र कछुवा संरक्षण गरेकै कारण सहिद सुखानी स्मृति प्रतिष्ठानमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढेकाले गत वर्ष यो नगरलाई कछुवा संरक्षित नगर घोषणा गरिएको नगरप्रमुख रानाको भनाइ छ । अर्जुनधारामा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायतबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । अहिले पनि दुईजना विद्यार्थीले कछुवाकै विषयमा विद्यावारिधि गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्राणीशास्त्रीले कछुवालाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने गरेको मेची बहुमुखी क्याम्पसका जीवविज्ञानका प्राध्यापक डा. कालुराम खम्बूले बताए । प्रा.डा. खम्बूका अनुसार पहिलोमा समुद्री (टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा
(टेरापिन) र तेस्रो जमिनमा पाइने कछुवा (टारटायस) पर्छ ।

मानिसभन्दा झन्डै दोब्बर आयु भएको कछुवाले एकपटकमा चारदेखि नौवटासम्म अन्डा पार्ने गरेको उनको भनाइ छ । अन्डा पारेको १७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा अन्डा कोरल्ने गरेको बताइन्छ । विश्वमा रहेका ३६५ प्रजातिका कछुवामध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) ले जनाएको छ ।

विश्वमा ५० र नेपालमा ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेको कछुवासम्बन्धी अध्ययनमा विद्यावारिधि गरेका केन्द्रका प्रमुख संरक्षक आर्काे नेपालका प्रतिनिधि तपिलप्रकाश राईले बताए । नेपालमा पहिलोपटक सन् १९९८ मा जर्मनी नागरिक प्रा.डा. हर्मनस्लेकले कछुवा अध्ययन गरी चितवनको राष्ट्रिय निकुञ्जमा कछुवा संरक्षण सुरु गरेका थिए । त्यसपछि नेपालमा अहिलेसम्म दोस्रो र ठूलो क्षेत्रफलमा सहिद सुखानी स्मृति प्रतिष्ठानमा कछुवा संरक्षण केन्द्र सञ्चालनमा छ ।

कछुवा संरक्षण केन्द्र सञ्चालनमा आएसँगै यसको संरक्षणका लागि टटल्स क्लबका पदाधिकारीले अहिले विभिन्न १२ जिल्लामा ७० जनाले कछुवा संरक्षणका लागि चेतना फैल्याउँदै आएका छन् ।

कछुवा राख्न छुट्टै क्वारेन्टिन

अर्जुनधारा नगरपालिकामा कछुवा राख्न लागि छुट्टै क्वारेन्टिन व्यवस्था गरिएको छ । ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’को हाताभित्र उद्धार गरेर ल्याइएका कछुवा सुरुमा छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको र निरोगी भएको प्रभाणित भएमात्रै खुला छाड्ने गरिएको प्रतिष्ठान उपाध्यक्ष टंक भट्टराईले बताए । कुनै न कुनै माध्यमबाट यहाँ उद्धार गरेर ल्याइएका कछुवा सुरुमा क्वारेन्टिनमा राखेर मात्रै खुला रूपमा छाडिन्छ । कछुवा बिरामी भए उपचार गरेर पूर्ण रूपमा निरोगी बनाएरमात्रै छाडिन्छ ।

‘प्रतिष्ठान हाताभित्र बनाइएको क्वारेन्टिनमा बच्चालाई समेत राख्ने गरिएको छ । कछुवाका अन्डा भेला गर्दै प्रतिष्ठानमा तयार गरिएको ‘इन्क्युवेटर’मा राखेर उपयुक्त तापक्रम दिएपछि अन्डा कोरलिन्छ,’ टटल्स क्लब निर्देशक अधिकारीले भने, ‘त्यसपछि कछुवाका बच्चालाई पनि क्वारेन्टिनमा राखिन्छ । हेरचाह गरिन्छ ।’

संरक्षणका लागि ल्याइएका कछुवा बिरामी पर्दा उपचारमा भने समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ । टटल्सका कार्यक्रम निर्देशक अधिकारीका अनुसार कछुवासँग सम्बन्धित ‘भेटेरीनरी’ नभएका कारण कछुवा बिरामी हुँदा कछुवाको भित्री रोग या घाउ पत्ता लगाउन गाह्रो हुने गरेकोले अनुमानका भरमा औषधि गर्दै आइएको छ ।

‘कछुवाको बाहिरी अवस्था हेर्ने, उसले खाए नखाएको छुट्याउने, उसको दिनचर्या कस्तो छ त्यो विचार गरेरमात्रै निरोगी कछुवा बिरामी भएको छुट्याउँदै आएका छौं,’ उनले थपे, ‘यसको छुट्टै भेटेरीनरी भएको भए सहज हुने उहाँहरूको भनाइ छ ।’

चोरीसिकारले कछुवा लोप

झापाका विभिन्न सिमसार क्षेत्रमा दशक अघिसम्म जताततै कछुवा देखिए पनि अहिले भने सबै कछुवा लोप भएका विर्तामोड–१ का पुराना बासिन्दा लक्ष्मण ढकालले भने । ढकालका अनुसार कछुवा लोप हुनुको मुख्य कारण चोरीसिकार हो । ‘वर्षायाम सुरु भएसँगै जताततै देखिने कछुवा लोप हुनुको अर्काे कारण यसको संरक्षण नहुनु पनि हो,’ उनले भने, ‘अरू जीवजन्तुजस्तो कछुवा छिटो भाग्न सक्दैन । त्यही भएर कछुवा मार्दैै मासु खाने प्रवृत्तिले कछुवा लोप भएका हुन् ।’

विशेषगरी पहेंलो धुरो, नरम खपटे र ठोटरी कछुवा झापाका विभिन्न सिमसार तथा खोला किनारमा पाउन सकिन्छ । तर, चोरीसिकारकै कारण कछुवा लोप भएका हुन् । कछुवामात्र होइन, कृषिमा यान्त्रिकीकरणको बढ्दो प्रयोगले सरिसृप वर्गमा पर्ने अन्य धेरै जीवजन्तु नासिएर गएको ढकालको भनाइ छ ।

खेतबारीमा अहिले धान रोप्ने समयमा ट्र्याक्टर प्रयोग गरिन्छ । यसले सरिसृप वर्गमा पर्ने धेरै जीवजन्तुलाई असर पर्दा मासिएर गए । जमिनमा जथाभावी विषादी प्रयोगले समेत कछुवालगायतका जीवजन्तुलाई असर गरेको छ ।

अर्जुनधारा नगरपालिकमा कछुवा संरक्षणका लागि गरिएको प्रयासप्रति खुसी व्यक्त गर्दै ढकालले भने, ‘प्रकृति र मानवबीचमा वातावरणीय सन्तुलन कायम राख्न कछुवालगायतका धेरै जीवजन्तुको भूमिका उच्च हुन्छ । यस्ता प्रजातिलाई संरक्षण गर्न सक्नुपर्छ ।’ कछुवाले पानी शुद्ध राख्न अहम भूमिका खेल्छ । पानीमा मरेका जीवजन्तुलाई खाएर पानी शुद्ध राख्ने कछुवा नै लोप भएपछि प्रकृति र मानवबीचमा पर्यावरण कसरी सन्तुलित हुन्छ ?

जलवायु परिर्वतन र प्लास्टिकजन्य फोहोरका कारणसमेत कछुवालगायत सरिसृप वर्गमा पर्ने धेरै जीवजन्तु लोपहुँदै गएको वाल्मीकि एजुकेशन फाउन्डेसनमा प्राध्यापनरत ढकालको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्