
दुर्छिम (खोटाङ) । रघु–जुना स्मृति उत्कृष्ट अभिभावक छात्रवृत्ति अक्षयकोषले उत्कृष्ट अभिभावक पुरस्कार प्रदान गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाबाट सञ्चालित शैक्षिक सत्र–२०८२ को नगरस्तरीय आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा दुर्छिम माध्यमिक विद्यालय छापडाँडा, खोटाङबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने दुई विद्यार्थीका अभिभावकलाई कोषले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा मोतीराम राई र रामकुमारी राई रहेका छन् । छोरी उपमा राईले छात्रातर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरेको भन्दै कोषले ७ हजार ३८३ र प्रमाणपत्रसहित मोतीराम र रामकुमारीलाई पुरस्कृत गरेको थियो ।
यसैगरी, छात्रतर्फ खड्गबहादुर कामी र सुगा कामी पुरस्कृत भएका छन् । छोरा युवराज विकले छात्रतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरेको भन्दै कोषले ७ हजार ३८३ र प्रमाणपत्रसहित खड्गबहादुर र सुगालाई पुरस्कृत गरेको हो ।

‘हामीले नयाँ काम थालनी गरेका छौं,’ रघु–जुना स्मृति उत्कृष्ट अभिभावक छात्रवृत्ति अक्षयकोष स्थापनाकर्तामध्ये एक भूपेन्द्रकुमार राईले जानकारी दिए, ‘अहिलेसम्म विद्यार्थीलाई पुरस्कृत गरिने अभ्यास थियो । तर, हामीले विद्यार्थीलाई पुरस्कृत गर्न योग्य बनाउने अभिभावकलाई पुरस्कृत गर्ने थिति बसाल्ने प्रयास गरेका हौं ।’
सम्भवतः यो अभ्यास नेपालकै पहिलो मानिन्छ ।

स्व. रघुवीर राई र जुनासरी राईका छोराबुहारी भूपेन्द्रकुमार राई/कमला राई, शैलेन्द्रकुमार राई/कृष्णकुमारी राई, पेसलकुमार राई/देविका राई, कवीन्द्र राई/गोमादेवी राई र छोरीज्वाईं सम्झना राई र यज्ञराज राईले अक्षयकोष स्थापना गरेका हुन् ।






