
‘नेपाल आफैंमा सुन्दर छ । यति सुन्दर देशको नागरिक हुन पाउँदा गौरवान्वित छु,’ साहित्यकार प्रेमिला राईले दुःख व्यक्त गरिन्, ‘पर्याप्त स्रोत, साधन र जनशक्ति हुँदाहुँदै पनि सही सदुपयोग, पहिचान र परिचालन हुन नसक्नुको पीडा खनिखोस्री साध्य छैन ।’
नेपाललाई नेपालकै पहिचानसहित विकसित र समृद्ध बनाउन सकियोस् । विद्यमान बेथिति, बेरोजगारी, गरिबी, भ्रष्टाचार अन्त्य होस् । वैदेशिक रोजगारीका लागि युवा बिदेसिन नपरोस् भन्ने शिक्षकसमेत रहेकी प्रेमिला राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
किनामा र भात अच्छा
किराती कुलमा जन्मे, हुर्केकी छोरी भएकाले बचपनदेखि किनमाको तरकारीमा पाकेको अकबरे खुर्सानी मिसाएर भातसँग खाँदा असाध्यै स्वादिलो लाग्थ्यो । हिजोआज पनि लाग्छ । तर, खानेकुराको सन्दर्भमा सीमान्त उपयोगिताको ह्रास नियम लागु हुन्छ । परिस्थिति अनुकूल जुनसुकै खानेकुरा मीठो लाग्ने नै भयो ।
बालबच्चाले रहर गर्दा कहिलेकाहीं रेस्टुरेन्ट पुग्छु । रुचिभन्दा जिम्मेवारीले खानेकुरा पकाउँछु खाना पकाउने मेरो ड्युटी स्थायी हो । पकाउँदा–पकाउँदै कहिलेकाहीं दिक्दारी लाग्छ । यद्यपि, कहिलेकाहीं नयाँ र मीठो परिकार बनाऔं न भन्ने लाग्छ ।
छोरीको कपडा आमालाई
कपडा छनोट गर्दिनँ । लगाउँदा सजिलो होस् । पाइन्ट, टी–सर्ट लगाउन सजिलो लाग्छ । रहरभन्दा आवश्यकताले कपडा किन्छु । कपडामा वार्षिक खर्च कति होला ? हिसाबकिताब राख्दिनँ ।
अनावश्यक कपडा थुपार्दिनँ । देश–विदेशमा रहेका बहिनीहरूले उपहार पठाइदिइरन्छन् । मेरी छोरी मजत्रै छन् । कहिलेकाहीं छोरीको कपडा पनि लगाइरहेकी हुन्छु । अधिकांश कपडा रेडिमेडै किन्छु ।
आवश्यकताअनुरूप हैसियतले भ्याउने जुनसुकै कपडा किन्दिन्छु । सकेसम्म सस्तो र टिकाउ होस् । मलाई ब्रान्डबारे ज्ञान छैन ।
अलि अल्छी
अलि अल्छी छु । जाँगर चल्दा कहिलेकाहीं हिँड्छु । मन लाग्दा १० मिनेटजति व्यायाम गर्छु । कतिपय विषय थाहा हुँदाहुँदै अवलम्बन गर्न सकिँदैन ।
आजको मितिसम्म डाइटिङ गरेको छैन । जाँगर चलिहाल्यो भने बिहान सामान्य योगा गर्छु । मर्निङवाक उति निस्कन्न ।
कविताको शक्ति बेजोड
केही समयअघि पत्रकार राजकुमार दिक्पालको पृथ्वीनारायण शाह समालोचनात्मक इतिहास पढें । अलि धेरै कविता पढ्छु । कविताको शक्ति छुट्टै छ । एउटा आख्यानले बोकेको पूरै वृत्तान्त एउटै कवितामा भेटिन्छ । कहिलेकाहीं वैचारिक, सैद्धान्तिक पुस्तक नपढ्ने होइन । इतिहास त्यत्तिकै मन पर्छ । समसामयिक विषयमा लेखिएको, उत्पीडित वर्ग, समुदायका पक्षमा लेखिएको पुस्तक पढ्न जाँगर चल्छ । आख्यान पढ्दा बेग्लै मज्जा आउँछ । उसो त निबन्ध पनि पढिरहेकी हुन्छु ।
भुइँमान्छे र सीमान्तकृतको आवाज बोल्ने लेखक मन पर्छ । म शिक्षण पेसामा छु । तसर्थ, स्कुलमा पढाउने विषयवस्तु धेरै पढ्छु । पाठ्यपुस्तकमा दिइएको समस्या समाधानार्थ अनलाइन म्यागेजिनतिर लेखिरहेकी हुन्छु । कविता भने लेखिरहन्छु । एक/दुई पुस्तकको पाठकीय प्रतिक्रियासमेत लेखेकी छु ।

मेरो निजी पुस्तकालयमा दुई सयजति पुस्तक होलान् । आफूले पढिसकेको पुस्तक कसैले मागेमा सेयर गरिहाल्छु । सामान्यतः पुस्तक किनिरहेकै हुन्छु । वर्षभरि प्रकाशित पुस्तकको कम्तीमा ४० प्रतिशत किनेकै हुन्छु । कतिपय पुस्तक उपहार पाइरहेकी हुन्छु ।
ठ्याक्कै २५ जिल्ला
म बिन्दास मान्छे । घुमफिरमा असाध्यै रहर छ । तर पनि घुमफिरमा त्यति धेरै निस्कन पाइरहेकी छैन । नेपालका २५ जिल्लाजति घुमेकी छु । जीवनमा एकपटक मनाङ, मुस्ताङ, इलाम र दार्जिलिङ पुग्ने रहर छ ।
साथीभाइसँग गफिँदा आराम
जिन्दगी आफैंमा भागदौड हो । सानैदेखि फुर्सद मन पराउँदिनथें । फुर्सदिलो हुनु भनेको तनावको तानाबाना बुनिनुजस्तो लाग्छ । फुर्सद भयो भने एककिसिमको छटपट लागिहाल्छ । व्यस्त भएर कमाएको, जमाएको केही होइन तर फुर्सद भएर आहा ! जीवन नि बाँचेको छैन ।
काम गरेर कहिल्यै थाक्दिनँ । जति बोझ थुपारे पनि उठाउने ल्याकत छ । कहिल्यै अनावश्यक बिदा लिन्न । मेरो अनुपस्थितिले कम्तीमा दुई/तीन सय विद्यार्थीलाई क्षति पुग्छ । आजसम्म थकाइ शीर्षकमा बिदा लिएकै छैन । साथीभाइसँग भेटेर गफिँदा असाध्यै आराम लाग्छ ।
मन परेको पुस्तक पढेर फुर्सदको समय सदुपयोग गर्छु । गोजी मोटो भए घुम्न निस्कन्छु । म जिम्मेवार आमा हुँ । यसर्थ, छोरीप्रतिको मेरो दायित्वबाट कहिल्यै घटेको छैन ।
यदाकदा फुटसल
फुटबल असाध्यै मन पर्छ । आफू नखेले पनि टेलिभिजनमा विश्वकप फुटबल, अमेरिका कोपाकपदेखि गाउँघरमा हुने साना–ठूला फुटबल खेल हेर्दै आएकी छु । स्कुले विद्यार्थीसँग फुटसल खेलिरहेकी हुन्छु । विदेशी क्लबमा रियल मेड्रिड मन पर्छ ।
चलुन्जेल चलाउने
रियलमी सी–३५ मोबाइल सेट प्रयोग गरेकी छु । पाँच/छ वर्षअघि किनेकी थिएँ । काम लागुन्जेल अर्को विकल्प खोज्दिनँ । यसको २१ हजार रुपैयाँ परेको थियो । आफूलाई आवश्यकजति मोबाइलका एप्लिकेसन प्रयोग गर्छु ।
फुर्सदमा मात्रै
फुर्सद मिलेको बेला टेलिभिजन हेर्छु । बुवाले मलेसियाबाट ल्याइदिएको ३२ इन्चको सोनी टीभी छ ।
दयाहाङ/मिरुना
पछिल्लोपटक समय ‘माइतीघर’ र ‘जारी–२’ हेरेकी थिएँ । कहिलेकाहीं हलसम्म पुगेर चलचित्र हेर्छु । किशोरावस्थामा धेरै चलचित्र टीभी र भिसिडीमा हेरें । हेरेकामध्ये चलचित्र ‘दर्पण छायाँ’, ‘कागबेनी’ र ‘गाउँ आएको बाटो’ असाध्यै मन पर्यो । दयाहाङ राई र मिरुना मगरको अभिनय जीवन्त लाग्छ ।
बेलाबेला बेहोश
ज्यानलाई ठीकठाक छ । सानोतिनो बिरामीले गाल्दैन । लामो समयपछि बिरामी पर्छु । त्यतिबेला सिकिस्तै पार्छ । पाँच वर्षअघि डेंगुले सारो पारेको थियो ।

सानोमा रुख धेरै चढ्थें । धेरैपटक रुखबाट लडेकी थिएँ । धेरै लडेकाले टाउकोमा पानी जमेको थियो । त्यही भएर बेला–बेला बेहोश भइरहन्छु । गाउँमै घुम्ती शिविरमा आएका बेला बालरोग विशेषज्ञ डा. चक्र राईले दिएको औषधिले कम हुँदै गयो । अहिलेसम्म होलबडी चेक गराएको छैन । बेहोश हुनेबाहेक शारीरिक र मानसिक रूपमा तन्दुरुस्त छु ।
भाषण गर्दा विवादित
विद्यार्थी राजनीतिबाट उठेकी हुँ । विद्यार्थी राजनीति गर्दा संगठन बनाउन हिँड्नुपथ्र्यो । सभा, सम्मेलन गर्नैपथ्र्यो । उसबेला विद्यार्थीलाई कन्भिन्स गर्न सक्ने धेर–थोर ल्याकत राख्थें । तर, भाषणकै रूपमा भाषण गर्न त्यति पारा ल्याउँदिनँ । समय सापेक्षित कुरा गर्न पछि हट्दिनँ । भाषण गर्दा ‘कमरेडहरू’ शब्द धेरै उच्चारण गर्दोरहेछु ।
गर्नैपर्दा समय सापेक्षित भाषण गर्छु । स्वभावजन्य हिसाबले अलि आक्रामकै हुन्छ होला । अब आक्रामक होइन, बौद्धिक भाषण गर्नुपर्छ भन्ने मान्यता राख्छु । विद्यार्थीकालमा भाषण गरेकै आधारमा विवादमा तानिएकी थिएँ । भाषण गर्नअघि विषयवस्तुप्रति सचेत हुने कोसिस गर्छु ।
तोङ्बामा ड्यु मिसाउँदा
सानैदेखि बिरामी परिरहने भएकाले जाँड, रक्सी बन्देज थियो । हिजोआज पनि पिउने मामिलामा लत छैन । चार दिदीबहिनी बसेर तिहारमा एक दिन पिउँथ्यौं । आजसम्म घरबाहिर पिएको छैन । तिहारमा कोदोको तोङ्बा वा रक्सीमा ड्यु मिसाएर गुलियो स्वादमा पिउँथ्यौं । एक गिलास खाएपछि रनक्कै पार्थ्यो । एउटा तोङ्बा खाइसक्न गाह्रो पर्छ ।
तनाव व्यवस्थापन गर्न गीत
गीत–संगीत सुन्न मन पर्छ । एक्लै हुँदा गीत सुन्दै काम गर्छु । तनाव व्यवस्थापन गर्न गीत–संगीतकै भर पर्छु । निद्रा फकाउन पनि सजिलो पार्छ । नारायण गोपाल, अरुणा लामा, राजेशपायल राई, प्रमोद खरेल, राजु लामा, मेलिना राई, उदय–मनिला सोताङको आवाज कर्णप्रिय लाग्छ । पूर्वेली लोकलय र पूर्वेली सौन्दर्यले तान्छ । गाउन नआए नि गुनगुनाउँछु । कहिलेकाहीं बाथरुम सिंगरको भूमिका निर्वाह गर्छु ।
पैसा चोरेर टीका
बाल्यकालमा बदमास थिएँ । पहिलो सन्तान भएकाले आपाआमाले लाडप्यारले हुर्काए । मेरो स्वभाव आममहिलाकै जस्तो थियो । इयरिङ, टीका, काँटा, चिम्टी लगाउन औधी रहर लाग्थ्यो । घरमा किराना पसल थियो । शुक्रबार हटिया लाग्ने भएकाले आपाआमा व्यापार गर्न गए । म पनि हाफ छुट्टीमा स्कुलबाटै बजार झर्थें । आमालाई इयरिङ, टीका किनिदिन जिद्दी गर्थें । जिद्दी गरेपछि किनिदिन्थे । लगाएर हिँड्दा इयरिङ हल्लिन्थ्यो । त्यतिबेला आनन्द लाग्थ्यो ।
आपाआमाले सबै रहर पूरा गर्न सक्दैनथे । माथिल्लो घर तिप्पा (ठूलोबुवाकहाँ पनि पसल थियो । नानाहरू मभन्दा ठूला । त्यहाँ पनि टीका, चुरा पाइन्थ्यो । आपाले घर बनाउन पैसा जम्मा पार्दै थिए । आपाआमा बजार गएको मौका नानाहरूको सल्लाहबमोजिम बाकसको पैसा चोरेर घर बनाउन जम्मा पारेको काठमुनि लुकाएँ । पछि निकाल्न सकिनँ । नानाहरूकै सहयोगमा पैसा निकालेर उनीहरूकै पसलबाट टीका किनेर ल्याएँ । घर झर्दाझर्दै हिलोमा पछारिएँ । टीकामा पनि अलिकति हिलो लाग्यो । बेलुका आपाअमाले थाहा पाए । गालीमात्रै होइन र कुटाइसमेत खाइयो । टीका फिर्ता गर्न पठाइयो । हिलो लागेकाले टीका फिर्ता लिएनन् । त्यो घटना मेरो जीवनकै ठूलो भूल हो ।

म घमन्डी छु । तर, पढाइमा राम्रै थिएँ । विद्यालय पढ्दा तारिफ गर्थे ।
आपाआमाकैमा ओत
मेरो आफ्नै घर छैन । आपाआमाको घरमा जन्मे र हुर्कें । बिहे गरेर गएको घर ससुराले बनाएका हुन् । जहाँ ओत पाइन्छ, त्यही हो मेरो घर ।
त्यतातिर नलाग्ने
मेरो राशी कर्कट हो । ग्रहदशा आफैंले सिर्जना गर्ने कुरा हुन् । सानो छँदा आपाआमाले मेरो नाममा ग्रहशान्ति गराए । बिरामी भइरहने भएकाले चिना हेराए । आफू भने त्यतातिर लागिनँ । म भाग्य होइन कर्ममा विश्वास गर्छु ।
जम्मा दुईपटक
कपालमा तेल लगाउँछु । रहरैरहरमा अलि पहेंलो–पहेंलोजस्तो बनाएकी छु । जीवनमै दुई पटक फेसियल गरेकी थिएँ । फेसवास या साबुनले मुखसम्म धुँदिनँ । अनुहारमा मस्चराइजर क्रिम र सन ब्लक लगाउँछु ।
जोसँग प्रेम, उसैसँग बिहे
जोसँग प्रेम, उसैसँग बिहे भयो । गाउँकै सोल्टीले प्रेम प्रस्ताव राखे । म त्यतिबेला गाउँकै बोर्डिङ स्कुलमा पढाउँथें । मिल्ने सहकर्मी म्यामलाई कुरा सेयर गरें । उनले ‘ओके’ भन्नू भनिन् । मैले त्यसै गरें । छोरी मजत्रै छिन् । प्रेमबिहे भए पनि पछि रित बुझाउने काम भयो ।
अन्त्य होस्
नेपाल आफैंमा सुन्दर छ । यति सुन्दर देशको नागरिक हुन पाउँदा गौरवान्वित छु । तर, पर्याप्त स्रोत, साधन र जनशक्ति हुँदाहुँदै पनि सही सदुपयोग, पहिचान र परिचालन हुन नसक्नुको पीडा खनिखोस्री साध्य छैन । नेपाललाई नेपालकै पहिचानसहित विकसित र समृद्ध बनाउन सकियोस् । विद्यमान बेथिति, बेरोजगारी, गरिबी, भ्रष्टाचार अन्त्य होस् । वैदेशिक रोजगारीका लागि युवा बिदेसिन नपरोस् ।
गुनासो गर्दिनँ
मृत्यु प्राकृतिक कुरा हो । जन्म, जीवन र मृत्यु प्रकृतिको चक्र हो । जो अस्वीकार गर्न सकिन्न । मर्न रहर त हुँदैन । तर, मृत्यु अन्तिम सत्य हो । जीवनसँग लड्दालड्दै मरिएछ भने गुनासो गर्दिनँ ।
कक्षा ११ को परीक्षाको समय थियो । दिक्तेलमा डेरा गरी बस्थें । बर्खाको समय । साउन ५ बाट परीक्षा हुँदै थियो । खाना पकाउनेक्रममा बेहोश भएँ । यो असार ३० गतेको कुरा । घाँटीमा बेरेको सल जल्दै आएर शरीर जल्न थालेछ । म झन् बेहोश भएछु । तल्लो घरमा तिप्पाका छोरीहरू बस्थे । उनीहरूले जिल्ला अस्पताल पुर्याएछन् । होश खुल्दा अस्पतालको बेडमा थिएँ ।
मेरो ढाड र हात जलेको रहेछ । आफूलाई सम्हाल्न गाह्रो भयो । शरीरमा कीरा परिसकेको रहेछ । अन्ततः गाउँलेले स्ट्रेचरमा बोकेर लामिडाँडा विमानस्थल पुर्याए । काठमाडौं मोडल अस्पतालमा भर्ना भएपछि घाउ बिसेक हुँदै गयो । तीन महिनाको उपचारपछि घाउ बिसेक हुँदै गयो । त्यसपछि डिस्चार्ज भएँ ।
हाँस्दाहाँस्दै, काम गर्दागर्दै मर्न पाइयोस् । मृत्युअघि कसैलाई पिरोल्न नपरोस् ।



