भोजपुर । पौवादुङमा गाउँपालिकाले ऐतिहासिक एवम् धार्मिक च्याङ्ग्रेपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ ।
गाउँपालिकाले पहिचानका रूपमा रहेको च्याङ्ग्रेपोखरीको वृहत्तर विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसाथ डीपीआर तयार गरेको हो । डीपीआरअनुसार पोखरीको कुल निर्माण लागत दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।
पोखरीको क्षेत्रफल विस्तार गर्दै पोखरीपरिसरमा पञ्चकन्या मन्दिर निर्माण गर्ने, वाटर बोट सञ्चालनमा ल्याउने, ढल व्यवस्था गर्ने, बगैंचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेराबारा लगाउनेलगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।
‘हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम अगाडि बढाएका छौं,’ गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘हाम्रो योजनामा रहेका सबै क्षेत्र विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकाले प्रदेश सरकार तथा केन्द्र सरकारसँग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौं ।’
गाउँपालिकामा आएको रकमले पनि कतिपय काम सुरु भइसकेका छन् । गाउँपालिकाको सबै क्षेत्र विकासका लागि गुरुयोजनामा बनाएर काम गर्ने उद्देश्य भए पनि रकम अभावले मुख्य–मुख्य क्षेत्र छनोट गरेर छुट्टाछुट्टै डीपीआर तयार पारी काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले यसअघि पर्यटकीय क्षेत्र अरूणडाँडा, च्याङग्रे दृश्यावलोकन स्तम्भ, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मीरा राई रङ्गशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डीपीआर तयार गरेर प्रदेश सरकारसँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ ।