लेबनानबाट फर्केपछि गायन



सपना नदेख्ने मानिस को होलान् र ? सपना देख्नुपर्छ । यस मामिलाबाट गायिका मीना राई अछुतो रहिनन् । गायिका राईले पनि सपना देखेकी थिइन् । देखेजति सपना पूरा हुन्छन् भन्ने छैन । तर, उनको सन्दर्भमा भने पूरा भएरै छाड्यो ।

महत्वाकांक्षी सपना खतरनाक हुन्छ भन्ने उनलाई थाहा थियो । त्यसैले महत्वाकांक्षी सपना उनले कहिल्यै देखिनन् । बाल्यकालको सपना पूरा भएकोमा उनलाई कम खुसी लागेको छैन । के सपना देखेकी थिइन् होला उनले ? पाठकलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । भविष्यमा गायिका बन्छु भन्ने उनको सपनाले फुल्ने अवसर पाएको छ । फुटकर रूपमा गीत गाउँदै आएकी उनको ‘स्कुले जीवन’ शीर्षाकृत लोक–आधुनिक गीतिएल्बम सार्वजनिक भइसकेको छ ।

दिनानुदिन रेकर्ड भएका गीत बढ्दै गएका छन् । उनले स्टेज प्रोग्राममा समेत गीत गाएर अनुभव सँगालेकी छन् । स्टेज प्रोग्राममा गीत गाउनुको मज्जा बेग्लै हुने उनको अनुभव छ । स्थापित गायक–गायिकाले समेत स्टेज प्रोग्राममा गाउन हप्तौं रिहर्सल गर्ने गरेको सुनेकी उनले आफूले स्टेज प्रोग्राममा गीत गाउँदा हृदयदेखि नै आत्मबल आउने सुनाइन् । उनको प्रतिभालाई गडगिफ्ट भन्दा फरक पर्दैन । स्टेजमा गाउनु भनेको चानचुने काम होइन ।

गायिका मीना राई गीतमात्रै गाउँदिनन् । उनी साहित्यका विभिन्न विधामा कलमसमेत चलाउँछिन् । उनले गीत, गजल, मुक्तक र कवितासम्म लेख्न भ्याएकी छन् । उनले लेखेको गीत अन्य गायक–गायिकाले समेत गाएका छन् भने आफूले लेखेको गीत आफैंले समेत गाउन भ्याएकी छन् ।

‘लेख्न थालेको धेरै भएको छैन,’ काठमाडौंको थापाथलीमा भेटिएकी उनले सुनाइन्, ‘वैदेशिक रोजगारी सिलसिलामा जब म लेबनान पुगें, त्यसपछि लेख्न थालें । घरभन्दा पर रहँदाको पीडा कम गर्न लेखनको सहारा लिएँ ।’ उनले सबैभन्दा पहिले के लेखिन् होला ? भनिन्, ‘गीत ।’ सैद्धान्तिक ज्ञानविना लेखेको गीत गीत नै रहेछ कि नाइँ ? उनले सगर्व प्रस्ट्याइन्, ‘त्यो गीत नै रहेछ ।’ ‘स्कुले जीवन’मा समेटिएको त्यो गीतको उनलाई औधी माया लाग्छ रे ।

साबिक दिप्लुङ–१ केराबारी, खोटाङ मूलघर भएकी मीना राई संगीतकार डक्टर किरातसँग भोकल सिक्दै आएकी छन् । एकताका राम राईसँग नृत्य सिक्थिन् । गायिकाले नृत्य सिक्न जरुरी छ र ? उनको प्रस्टोक्ति छ, ‘गायक–गायिकाले ठिङ्ग उभेर गाउँदा दर्शक तथा श्रोतालाई आकर्षित गर्न सकिँदैन । गीत गाउँदै नृत्य गर्न जानेमा दर्शक तथा श्रोतालाई मनोरञ्जन दिन सकिन्छ भनेर नृत्य सिकेकी थिएँ ।’

गीत–संगीत भनेको मनोरञ्जनको एउटा पाटो हो । सम्बन्धित गायक–गायिकाले दर्शक तथा श्रोतालाई मनोरञ्जन दिनु उसको धर्म हो । त्यसो हो भने ठिङ्ग उभेर पाँच मिनेटको गीत गाउनुमात्रै उसको धर्म होइन । तसर्थ, गायिका तथा गीतकार मीना राईले जस्तै गीत गाउँदै, आफू पनि नाच्दै र दर्शक तथा श्रोतालाई पनि नचाउनुमा छुट्टै मज्जा लिन सकिँदोरहेछ । उनी  गीत गाउन हङकङ र कोरियासम्म पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्