समस्याले सिकाएको पाठ सबैभन्दा फलदायी



एसएलसीसम्मको अध्ययन पूरा गरेर आफूले देखेको सपना विपनामा परिणत गर्ने ध्याउन्नमा उनी काठमाडौं पसिन् । आफूले देखेको सपना पूरा गर्न काठमाडौं पस्नुको विकल्प थिएन । सम्बन्धित व्यक्तिले देखेको सपना फुल्न फुलाउन काठमाडौं पस्नैपर्ने बाध्यता थियो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा जन्मेकी लेखिना राईले इन्द्रेणी सपना देखेकी थिइनन् । नृत्याङ्गना (डान्सर) बन्ने एउटै सपना–जपना थियो । एसएलसीसम्मको अध्ययन पूरा गरेपछि सपना साकार पार्ने ढोका तीन वर्षअघि खुल्यो ।

‘काठमाडौंमा बस्न त्यति सहज थिएन,’ उनको बुझाइ थियो, ‘समस्याले सिकाएको पाठ सबैभन्दा फलदायी हुँदोरहेछ ।’ त्यही फलदायी पाठले उनलाई आफ्नो लक्ष्यबाट विचलित बनाउन सकेन । समयले त्यत्तिकै साथ दिएको छ । त्यसको पछाडि उनको मिहिनेतले भूमिका खेलेको छ । ‘छोटो समयमा मैलेजस्तो अवसर कमैले पाएका होलान्,’ उनले गर्व गरिन्, ‘काठमाडौं पसेको तीन वर्षमै मैले अहिलेका चर्चित कलाकारसँग काम गर्ने मौका पाएकी छु । मेरा लागि यही लाख भएको छ ।’

डान्सर राईले ४० भन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । अहिलेसम्म लोकदोहोरी, आधुनिक, हिपहप गीतको म्युजिक भिडियोमा उनले नृत्य गरिसकेकी छन् । नायिका केकी अधिकारी, कलाकार आरुसी मगर र करिष्मा अधिकारीबाट उनी प्रभावित छन् ।

‘अहिलेसम्म सहायक मोडलमा देखिने गरेकी छु,’ उनले थपिन्, ‘सहायक मोडलको पनि मूल्यांकन हुन्छ । हिजोआज डान्समा मेरो लेभल बढेको छ । त्यसैले म अत्यन्तै खुसी छु । मिहिनेतको फल चाख्न पाउँदा खुसी नहुने को होलान् र ।’ उनलाई मोडलको मुख्य भूमिकाका लागि प्रस्ताव बाक्लै आएको छ ।

चर्चित कलाकारसँग काम गर्ने मौका पाएकी उनले नृत्यसम्बन्धी ‘टेक्निक’ सिक्ने बुझ्ने सुनौलो अवसर पाएकी छन् । सिकाइक्रम चलिरहेकाले ‘मेन मोडल’ का लागि आएको प्रस्ताव स्वीकारिहालेकी छैनन् । ‘केही समयपछि मेनरोलमै देखिनेछु,’ उनले खुसी व्यक्त गरिन्, ‘मैले निर्वाह गरेको सहायक मोडलको भूमिकाको लोकगीत लालुमै, सालको पात टपरीजस्ता गीतले सर्वाधिक चर्चा पाएको छ ।’

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको दुर्छिम माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरेकी उनी विद्यालयमा हुने कार्यक्रममा नृत्य गर्थिन् । खोटाङमा भएको नृत्य प्रतियोगितामा भाग लिँदा सान्त्वनामै चित्त बुझाउनुपरेको थियो । आफ्नो सफलतामा परिवारको साथ–सहयोग र हौसला रहेको उनले सुनाइन् । परिवारको साथ–सहयोग र हौसला नपाएको भए उनी यो ठाउँमा उभिन सक्ने थिइनन् ।

‘गाउँघरमा नृत्य गर्दा केही बुझेकी थिइनँ,’ उनले नढाँटी भनिन्, ‘म्युजिक भिडियोमा काम थालेपछि धेरै कुरा थाहा भयो । डान्समा स्टेपकै भूमिका धेरै हुन्छ । म्युजिक भिडियोमा लागेपछि धेरै स्टेप सिकेकी छु ।’

डान्स क्लबाट उनले म्युजिक भिडियोमा अभिनय गर्ने पहिलो अवसर पाएकी थिइन् । त्यसपछि सम्पर्क सम्बन्ध बढ्दै गयो । ‘हिजोआज सुटिङमै व्यस्त हुन्छु,’ उनको भनाइ छ, ‘कहिलेकाहीं एउटै प्रोजेक्टको सुटिङ दुई/चार दिन लम्बिन्छ । कामले काम सिकाइ रहेको छ ।’

आफ्नो विधामा आफूले गरेको मिहिनेतले काठमाडौं टिक्न पाउँदा डान्सर लेखिना राई कम्ती खुसी छैनन् । काठमाडौंमा टिक्न, सिक्न र बिक्न डान्सर राईको लगनशीलता लोभलाग्दो छ ।

प्रतिक्रिया दिनुहोस्