‘पत्रकारिता समाजको काँडा होइन, आँखा हुनुपर्छ’



पञ्चायत व्यवस्था अन्त्यसँगै नेपालीले पाएको स्वतन्त्रता अनुभूतिमा गरिएको राजनीतिक भाषण सुन्न साँझसम्म कुर्ने फुच्चे हुन्– भीम राई । साबिक माक्पाको नोरुङ खोटाङमा जन्मेका राई तात्कालिक संयुक्त वाममोर्चाको नेताहरूले गरेको भाषण खुबै सुन्थे ।

किरात राई पत्रकार संघ केन्द्रीय अध्यक्ष उनले अध्ययन गरेको तात्कालिक त्रिभुवन माध्यमिक विद्यालय (हाल : त्रिभुवन उच्च माविमा अनेरास्ववियु प्रारम्भिक कमिटी निर्माण गर्न आएका जगत भुजेल र दीपकुमार राईको भाषणबाट प्रभावित भए । पछिल्लो समय कालिका बालविकास मावि राखाका शिक्षक अजम्बर काङमाङले ऐंसेलुखर्कमा गर्ने भाषणका नियमित श्रोता भए । आठ कक्षा पढ्दै अनेरास्ववियु सहप्राक सदस्य भएर घर फर्कंदा कम्ती खुसी भएनन् ।

त्यसपछि विद्यार्थी राजनीतिमा क्रियाशील भएका उनले तात्कालिक एमाले अखिलको इलाका कमिटी उपाध्याक्ष, क्षेत्रीय समिति सचिव हुँदै जिल्ला सदस्य भए । एमाले अखिल खोटाङ नवौं जिल्ला सम्मेलनबाट कोषाध्याक्ष हुँदै क्रमशः सचिव, उपध्याक्ष, अञ्चल सदस्यसमेत भए । संवत् २०५४ मा एमाले विभाजनबाट पछि माले अखिलमा जमेका उनले खोटाङमा तात्कालिक नेकपा मालेको कार्यालय सचिवको हैसियतमा काम गर्दैदेखि पत्रकारिताप्रति आकर्षित भए । ०५५ मा तात्कालिक माले महासचिव वामदेव गौतम दिक्तेल आउनु र त्यस कार्यक्रममा तात्कालिक समय बोधराज त्रिपाठीले सम्पादन गर्दै आएको प्रकाश साप्ताहिकका कार्यकारी सम्पादक दीपक पाण्डेसमेत सोही कार्यक्रममा आउनुले राईको पत्रकारिता प्रारम्भ भएको उनले सुनाए ।

प्रकाशको जिल्ला प्रतिनिधिका हिसाबले काम गर्नअघि पाण्डेले समाचार लेखनसम्बन्धी दिक्तेलबजारमा रहेको प्रजापति राईको घरमा दुई घन्टा व्यक्तिगत प्रशिक्षण लिए । उनले उल्टो पिरामिड, ६ ‘क’ बारे जानकारी गराए ।

‘जिल्लाका सीमित अग्रज पत्रकारबीच खास समाचार लेख्न सिकाउने कोही थिएनन्,’ उनले भने, ‘त्यसताका खोटाङमा विद्युत् विस्तार भएको थिएन । त्यही समय विद्युत् शाखा खोटाङमा आयोजित शाखाप्रमुख दीपेन्द्र द्विवेदीले ०५६ मा विद्युत् टेस्ट हुन्छ भनेपछि समाचार लेख्न तम्सिए । कतिबेला बिजुली बल्छ अनि समाचार लेखुँ भएको थियो । उनलाई भनेजस्तो समाचार लेख्न कहाँ सजिलो थियो र ? समाचार हातले लेख्नुपर्ने, पठाउन हुलाक जानुपर्ने बाध्यता थियो । तैपनि समाचार लेखेर पठाए । पठाएको १० दिनपछि प्रकाश साप्ताहिक बोकेर आएका एक साथीले बाइलाइनमा प्रकाशित उनले लेखेको समाचार देखाए ।

राईको पत्रकारिता त्यति सुखमय थिएन । त्यसताका जिल्लामा पत्रकार महासंघ गठन प्रक्रिया सुरु भयो । महासंघ शाखा बन्न १६ जना साधारण सदस्य पुर्याउनैपर्ने नियम थियोे । तदर्थ, समिति निर्माण गर्न संख्या नपुग्दा फोटो स्टुडियो चलाउँदै आएका साथीहरूको नाम हालिएको थियो । नेपाल पत्रकार महासंघ खोटाङ शाखा संस्थापक सचिवसमेत रहेका उनले थपे, ‘त्यसपछि व्यावसायिक पत्रकारितामा लागें ।’ साथीहरूसँग मिलेर ‘दर्पण पाक्षिक’ भित्तेपत्रिका प्रकाशन गर्न थालेका उनले डम्बरसिं राईको सहयोगमा रूपाकोट साप्ताहिक प्रकाशन सुरु गरे । रूपाकोट साप्ताहिक संस्थापक कार्यकारी सम्पादक उनले ०६० मा रासस जिल्ला प्रतिनिधि बने । त्यतिबेला इमेल, इन्टरनेट थिएन । फोनबाट समाचार टिपाउने, फ्याक्स गर्ने वा हुलाकबाट पठाउनुपर्ने बाध्यता थियो ।

पत्रकार महासंघ खोटाङबाट केन्द्रीय पार्सद उनले ०६१ को आन्दोलनमा राजाको पक्षमा समाचार नलेख्दा पुलिस र सेनाको हप्काइ खानुपथ्र्यो । ‘तात्कालिक प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण सापकोटा सकारात्मक भएकाले शारीरिक यातना भोग्नुपरेन,’ उनले भने, ‘राजाको शाही कदमसँँगै राससको जागिर खोसियो ।’ त्यसपछि हेम कार्कीको स्वतन्त्र समाचार सेवा नामक समाचार एजेन्सीमा जोडिएका उनी ०६२/०६३ आन्दोलनपछि पुनः राससमै पुनर्बहाली भए ।

त्यसबेला खोटाङमा समेत सामुदायिक रेडियो सञ्चालन सुरु भयो । उनी त्यही अभियानमा लागे । त्यही अभियानले खोटाङमा ०६४ मा रूपाकोट सामुदायिक रेडियो सुरु गर्यो । यसअघि पत्रकारिताका विभिन्न चरणको तालिम लिए । रेडियोमा बोल्नकै लागि काठमाडौंमा तीनमहिने रेडियो कार्यक्रम उत्पादन तथा उद्घोषण तालिम लिए । ललितपुरको चापागाउँ दोबाटोमा रहेको सुम्निमा कल्चर एकेडेमीमा डीबी सरोज र अन्य साथीको सहयोगमा तालिम लिए । उनले रूपाकोट रेडियोमा ०६४ देखि ०७० सम्म संवाददातादेखि जनशक्ति÷कार्यक्रम शाखा र प्रशासन शाखासम्म सम्हाले ।

संवत् ०७० देखि पत्रकारिता गर्ने उद्देश्यसाथ काठमाडौं छिरेका उनले पाण्डेले सम्पादन गर्दै आएका युगसंवाद साप्ताहिकमा काम थाले । युगसंवादको कामसँगै काठमाडौंमा रहेको गोर्खा एफएममा समाचार सम्पादन तथा वाचनको भूमिका पाएका उनले सोही सञ्चार गृहबाट प्रकाशित ‘द गोर्खाज’ साप्ताहिक सम्पादकको भूमिका निर्वाह गरे ।

खोटाङमै रहँदा सनराइपोस्ट साप्ताहिकमा समेत उनको योगदान रह्यो । काम गर्दै जाँदा प्रभाव राष्ट्रिय दैनिकमा ‘डेस्क एडिटर’को भूमिका निर्वाह गरे । सौर्यमा जोडिने अवसर सौर्य दैनिकका अघोषित कार्यकारी सम्पादक पंकज राई र त्रिपाठीले दिए ।

राजनीतिक बिटमा कलम चलाउँदै आएका उनले सौर्यमा रहँदा जिल्ला, रंग, राजनीति र आर्थिक डेस्कमा काम गर्न भ्याए । उनले खबर बिहानी अनलाइनमा सम्पादकको जिम्मेवारी पाए । एबीसी खबर डटकम सम्पादकसमेत रहेका पत्रकार राईले पत्रकारिता हाउगुजी भएको बताउँछन् । पत्रकारिता समाजको आँखा हुनुपर्नेमा काँडा हुन खोजेको उनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्