पूर्वप्रधानाध्यापक अम्बर गुरुङ



अम्बर गुरुङ नामको त्यो कसिलो सांगीतिक गाँठो म कहाँबाट, कसरी फुकाऊँ ? संघर्ष र अथक मिहिनेतबाट कुँदिएको त्यो शिला वास्तवमै शालिग्राम थियो । त्यसलाई परैबाट दर्शन गर्दामात्र पनि मन त्यसै–त्यसै आह्लादित हुन्छ । लाग्छ– कुनै–कुनै कुरा यस्ता हुँदा रहेछन्, जसलाई चिनाउन स्वयम् शब्दले समेत सामथ्र्य राख्दैनन् । अम्बर गुरुङबारे लेख्न बस्दा मलाई बारम्बार यस्तै लागिरहेछ । उनको नामै काफी भएपछि त्यसैका लागि फेरि किन मेरा फिका शब्द खर्च गरिरहने ? र पनि, केही लेख्दै छु ।

अम्बर गुरुङ, जसले घरपरिवारबाट पनि खासै प्रोत्साहन पाएनन्, संगीतको धेरै औपचारिक अध्ययन पनि गरेनन् । त्यत्रो प्रशिक्षण पनि लिएका होइनन् । केवल प्रयास र आफ्नै एकल प्रयासमा ऊ रातो दिन अभ्यस्त भइरहे । ऊ धुन बनाउँछ । गीत गाउँछ । गीत लेख्छ । वाद्यवादन आफैं सिक्छ । बजाउँछ । सुनाउँछ । असहज परिस्थितिबीच पनि ऊ यी सबै काम एक्लै गर्छ । बारम्बार गरिरहन्छ । के यो कुनै चानचुने कुरा हो ? भनिन्छ– कुनै–कुनै कुरा भगवान्ले दिन्छन् । यदि यो सत्य हो भने अम्बर गुरुङलाई पनि भगवान्ले संगीत दिएर यस धर्तीमा पठाए । संगीत सुन्नकै लागि पुनः झिकाए आफ्नै लोकमा ।

‘एबी साहेब, यकिन मानिए एक दिन आप बहुत बडे फन्कार होंगे ।’ बाल्यकालमा अम्बर गुरुङ कहीं कतैबाट प्रोत्साहित भए भने यही शब्दबाट हुन पुगे । त्यतिखेर उनलाई प्रोत्साहन मिलेन । कुरा के थियो भने दार्जिलिङको एमपी रोडमा फज्लु अहमद नामक एक व्यक्तिको दोकान रहेछ । उनलाई सबैले फज्लु भैया भन्थे । त्यो दोकानमा प्रायः राति–राति संगीतको रौनक जम्थ्यो । घरपरिवारले थाहै नपाउनेगरी अम्बर त्यहाँ सरिक हुन थाले । त्यतिमात्र होइन, रेकर्डमा सुनेका कतिपय गीत त्यहाँ पुगेर उनले गीत गाउन थाले । त्यसबखतका गायक मित्रसेन र रत्नदास प्रकाशका गीतले उनमा राम्रै प्रभाव जमाइसकेको थियो । यसरी अम्बरका लागि त्यही दोकान र त्यही फज्लु भैया नै सांगीतिक क्षेत्रको प्रेरणाको प्रारम्भिक पृष्ठभूमि बन्न पुगेको कुरा (ब्ल्याक एन्ड ह्वाइट सिक्किममा संगीतभित्रकाहरू पृ. २२८)बाट थाहा हुन्छ । एक दिन तिनै भैयाले अम्बर गुरुङको सांगीतिक प्रतिभाबाट प्रभावित हुँदै अँगालो हाल्दै भने, ‘आप बहुत बडे फन्कार होंगे ।’

कस्तो बेमेल कुरा ! बाहिर फज्लु भैयाहरू यसरी अम्बर गुरुङलाई प्रोत्साहित गरिरहेका छन् । वाहावाही दिइरहेछन् । तर, आफ्नै घरभित्र उनका पिता उनीभित्र लुकेको प्रतिभा देख्दैनन् । उनी आफ्नो छोरो मादल र गिटारमा खेलेको किञ्चित रुचाउँदैनन् । ‘हामी राइफल खेलाउने, तिमी बाजा खेलाउने ?’ ब्रिटिस भारतीय सेनाका अवकाशप्राप्त पिता उजिरसिंह गुरुङले आफ्नो एकमात्र प्यारो छोराको भविष्य निश्चित र सुरक्षित होस् । जुन संगीतबाट सम्भव छैन भन्ठानेर यसो भनेका होलान् । हामी अनुमान गर्न सक्छौं ।

‘संगीतमा लागे तिमले दुख पाउँछौ,’ छोरालाई हाकिम बनाउने लालसा राख्ने आफ्ना बाबाको मुखबाट बारम्बार यी वाक्य फुत्के पनि उनले त्यसलाई वास्ता गरेनन् । उनकी माता रेनुकादेवीले भने छोराको सोखप्रति खासै विरोध जनाइनन् । बरु प्रोत्साहन दिएको कुरा थाहा हुन्छ ।
यसरी वाल्यकालदेखि उनीमा एकप्रकारको गीत–संगीतप्रतिको भूत सवार थियो । त्यो सवार भएको भूतलाई सार्थकता प्रदान गराउन त्यतिखेरको दार्जिलिङको सांगीतिक वातावरण पनि सहायक भयो । यही वातावरणमा हुर्केका अम्बर गुरुङ पाँच वर्षको उमेरमा गीत गाउने भइसकेका थिए भने आठ वर्षमा त रंगमञ्चमा उक्लेर गीत गाउन सामथ्र्य राख्थे । दार्जिलिङको टर्नबुल स्कुलमा पढ्दा बिहान–बिहान बाइबलको लयपूर्ण वाचनले उनीमा सांगीतिक विजारोपण गराइसकेको कुरा थाहा हुन्छ । त्यसपछि दस कक्षाको पढाइ सक्दानसक्दै उनी संगीतको मर्मज्ञ भएर यसका भेद र ज्ञान छुट्याउन सामथ्र्य हासिल गरिसकेका थिए । यसबीचमा उनले शास्त्रीय संगीत र वाद्यवादन मादल, तबला, भ्वाइलिन, हार्माेनियम, पियानो, गिटार, मेन्डोलिनजस्ता बाजा बजाउनसमेत सिके ।

सन् १९६१ मा सीमापारिबाट श्रोताबीच आएको एउटै गीतले उनलाई सफलताको टाकुरामा पु¥यायो । वास्तवमै भारतीय नेपालीलाई मात्र होइन, नेपालमा पनि यो गीतबाट आफ्नैखाले अर्थ लगाउन सक्थ्यौं । नेपालमा नौ लाख तारा उदाउन सकेका थिएनन् । जहानियाँ राणा शासनबाट भर्खरै उन्मुक्ति पाएका नेपालीको धर्तीको आकाश मुस्कुराउन लागेको छ । जनता अन्धकार र विपन्नताबाट उज्यालो आशामा बसेका छन् । अब जागौं, उठौं भन्दै यो गीतले गतिलो सन्देश प्रवाह गर्यो । नेपालीले भोग्नुपरेको व्यथाका सुस्केरा, विरह, पीडा र मार्मिक करुण हृदयस्पर्शी ढंगले गीतमार्फत व्यक्त गरिएको छ । यसले समस्त नेपालीलाई जागरण शंखघोष गरेको छ । झकझक्याएको छ ।

देशभित्र र बहिर बसिरहेका थुप्रै नेपाली यस गीतले मर्माहित बने । भनिन्छ, ‘धेरै प्रवासी नेपाली यही गीतको सन्देशबाट आफ्नो देशमा प्रवेश गरे । अम्बर गुरुङको संगीत तथा स्वरमा कलकत्तामा रेकर्ड गराइएको यो गीतमा सचिन्द्रमणि गुरुङको आर्थिक सहयोग नहुँदो हो त यो गीत त हराउँथ्यो, हराउँथ्यो स्वयम् अम्बर गुरुङको जीवनको धार पनि बदलिन सक्थयो ।

यो गीतले अगमसिंह गिरीसँगै अम्बर गुरुङलाई पनि लोकप्रियताको शिखरमा पुर्यायो । एक सातामा पाँच सय क्यासेट बिक्री भएको थियो । त्यतिखेर यो चानचुने कुरा थिएन । ‘सन् १९६१ मा नौलाख तारा गाउँदा म २४/२५ वर्षको लक्का जवान थिएँ । त्यसबेला नेपाल वा दार्जिलिङमा गीत रेकर्ड गरिने कुनै सुविधा थिएन । यो गीतले मलाई लोकप्रियताको शिखरमा पु¥यायो । काठमाडौंको रेडियो नेपालबाट पनि यो गीत त्यत्तिकै घन्किन थाल्यो,’ ती दिन सम्झँदै अम्बर गुरुङ भन्थे, ‘त्यो गीतकै कारण महेन्द्र सरकारको जन्मोत्सवमा काठमाडौंमा निम्तो पाएपछि म नेपाल आएँ । त्यो सन् १९६४ को कुरा हो । महेन्द्र सरकार गीत–संगीतप्रेमी होइबक्सन्थ्यो । यसकारण सरकारले मलाई ‘अम्बर तिमी काठमाडौंमै बस’ भनेर हुकुम भएपछि यतै बस्न थालें ।’

केही समय भानुभक्त स्कुलका प्रधानाध्यापकसमेत बने । जुन स्कूल अगमसिंह गिरीद्वारा स्थापित थियो । त्यही पाठशालामा उनले आर्ट अकादमी अझ म्युजिक भनेर संगीतको एकाइ स्थापना गरे । यहीं आइपुग्छन्– गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, जितेन्द्र बर्देवा, रन्जित गजमेर, पिटर जे कार्थक आदि–आदि । यस्ता होनहार प्रतिभाको हुल अम्बर गुरुङसँग सांगीतिक प्रशिक्षण लिन लामबद्ध भए ।

गुरुङसँग अगमसिंह गिरीको चाहिँ सन् ५० को दशकपछि मात्र सम्पर्क भयो । त्यसपछि त के थियो, उनीहरूको जोडीले तहल्कै मच्चायो । नौ लाख ताराजत्तिकै चर्चा नपाए पनि अगमसिंह गिरीको शब्द र अम्बर गुरुङको संगीतमा अरू गीत पनि प्रसाारित भए । सुगौली सन्धिलाई हामीले बिर्सेको छैन भनन, नजाऊ फर्की नेपाल, उठेर भन्छ देउराली, वैशाख लाग्यो पहाडमा, कुक्कुले भन्छ सुनन आदि–आदि ।

दार्जिलिङमा नेपाली भाषा मान्यताको आन्दोलन चलिरहेको समयमा आएका यस्ता गीतका कारण उनीहरूले निकै दुःख झेल्नुपरेको थियो । यसबापत गिरीलाई ४५ दिन र अम्बरलाई दुई दिन थुनियो । जनताबाट धेरै विरोध आएकाले उनीहरू रिहा भए ।

आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङले सयौं थुँगा फूलका हामी….. नेपालको राष्ट्रिय गीतमात्र नभएर, रातो र चन्द्र सूर्यलगायतका असंख्य राष्ट्रिय भावनाले ओतप्रोत गीतमा संगीत दिएका थिए । रातो र चन्द्र सूर्यलाई संगीत भर्न उनलाई मात्र १५ मिनेट लागेको थियो भनिन्छ । सन् ६० को दशकमा अम्बर गुरुङद्वारा संगीतबद्ध ए कान्छा मलाई सुनको तारा… र ए कान्छा ठट्टैमा यो बैंस जान लाग्योजस्ता गीत श्रोताले यति मन पराए कि त्यसको बयानै गर्न सकिँदैन । सन् १९६१ देखि २००६ सम्मको अवधिमा उनले सयौंका संख्यामा गीत रेकर्ड गराए । जसमा पोहोर साल खुसी फाट्दा, म अम्बर हुँ, पोखिएर घामको झुल्का, सम्हालेर राख आदि–आदि चर्चित थिए । उनले कुञ्जिनी, मुनामदन, मालतीमंगलेजस्ता गीतिनाटकमा समेत संगीत दिएका थिए भने मनको बाँध, कर्मको फल, सपना कतिपयलगायतका थुप्रै चलचित्र र वृत्तचित्रमा संगीतले सिँगारे ।

अम्बर गुरुङलाई १९६२ मा पश्चिम बंगाल सरकारको लोकमनोरञ्जन शाखाको संगीत प्रमुखमा नियुक्त गरे । तर, अन्यत्र गएर गीत गाउन र रेकर्ड गर्न मनाही गरिएकाले उक्त सरकारी पदबाट उनले तीन वर्षमै अवकाश लिए । सन् १९६७ मा एक वर्षजति कालिम्पोङको डाक्टर ग्राहम होम्स स्कुलमा संगीत प्रशिक्षकका रूपमा काम गरे । त्यसपछि नेपाल फर्केर नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत एवं नाट्य एकेडेमीजस्ता विभिन्न महत्वपूर्ण स्थानमा बसेर नेपाली सांगीतिक जगत्को विकास विस्तारमा अनवरत लाग्न पुगेको हामी सबैको मनमस्तिष्कमा अमिट बनेको छ । उनी नेपाली सेनाको महासेनानीको दर्जा प्राप्त कलाकारसमेत हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा उनको सांगीतिक कौशल प्रभावकारी थियो थियो तर यसबाट भारतीय संगीतकारसमेत अत्यन्त प्रभावित भएकोसमेत थाहा पाउन सकिन्छ । वरिष्ठ संगीतकार गुरुङको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न, त्यो तारामात्र होइन, जून पनि झारिदिउँला’ नामक अरुणा लामा र रुद्रमणि गुरुङले गाएको कालजयी गीतको ट्युन चोरेर हिन्दी गीतका सुप्रख्यात कम्पोजर आरडी बर्मनले तिसरी मञ्जिल फिल्ममा ‘दिवाना मुझसा नही इस अम्बरके निचे, आगे है कातिल मेरा औरमै पिछेपिछे…’.भन्दै मोहम्मद रफीले त्यो गीत गाए । यसै सन्दर्भलाई लिएर उनले एक सार्वजनिक समारोहमा हाँसी–हाँसी भनेका थिए, ‘भारतको कलकत्तामा यो गीत रेकर्ड गरिएको थियो । त्यही समयमै यो गीत आरडी वर्मनले चोरेछ । त्यो गीत सुन्दा त म छक्कै परें ।’ आरडी बर्मनले त्यतिखेर आफू अम्बरबाट प्रभावित भएको अस्वीकार गरेपनि उनको निधनपछि निकालेको द म्यान एन्ड म्युजिक नामक पुस्तकमा भने अम्बर गुरुङको ट्युन लिएको स्वीकारेका छन् ।

अम्बर गुरुङद्वारा गायन र संगीतबद्ध तथा अगमसिंह गिरीद्वारा रचित नौ लाख तारा उदाए नामक गीत भारतीय रेडियोबाट बजाउन प्रतिबन्ध लगाइएको थियो । भारतीय प्रचार डाइरेक्टर अनुपम लाइरीले सार्वजनिक स्थलमा गाउन नपाइने घोषणै गरेको कुरा थाहा हुन्छ । त्यसैले उनी आफ्ना साथीभाइले अनुरोध गर्दा होटलको कोठामा ढोका बन्द गरेरमात्र यो गीत गाउने गरेको वरिष्ठ कला विश्लेषक प्रकाश सायमी सम्झन्छन् । यसले नेपालीको पीडा र व्यथालाई मार्मिक ढंगले चित्रण गरेको छ । जुन नेपाल र भारत दुवैतिर बसिरहेका जनताले बराबरी भोग्नु परेको थियो । दार्जिलिङको आन्दोलन र गोर्खाल्यान्ड आन्दोलनताका पनि यो गीतले सयौंचोटि बज्ने र चर्चित हुने मौका पायो ।

प्रवल गोदवा चौथो, इन्द्रराज्यलक्ष्मी, जगदम्बाश्री, भूपालमान संगीत पुरस्कारजस्ता अनगिन्ती महत्वपूर्ण पुरस्कारले सम्मानित गुरुङको जन्म संवत् १९९४ फागुन १४ गते लालढिकी दार्जिलिङमा भएको थियो । पिता उजिरसिंह गुरुङ र माता रेनुकादेवीको कोखबाट अन्य सन्तान जन्मे पनि केवल अम्बर गुरुङमात्र रहन पुगे । गीतकार, संगीतकार र गायक तीनै क्षेत्रमा उत्तिकै सशक्त उनी आफ्नो गला र कला देखाउँदै झन्डै पाँचसय भन्दा बढी गीतको संगीत भर्न भ्याए भने दुई सयजति गीत गाए । त्यसैगरी, एक सय ५० वटा भन्दा बढी गीत उनले लेखेका थिए । यस्ता होनहार प्रतिभालाई हामीले २०१६ जुनमा आँसु बगाउँदै बिदा गर्न बाध्य भयौं । यस्ता अजर, अमर स्रष्टालाई हामीले वर्षमा दुईपटक भन्दा बढी सम्झन नपाउने यो कस्तो विडम्बना ? कि त उनको जन्मदिनमा सम्झनुपर्ने कि त निधन भएको दिनमा ।

बिहान बेलुका पूजा गरेजस्तो सरस्वतीका वरद पुत्रलाई उनीहरूले गरेको असल कर्मका लागि हामीले बारम्बार सम्झिरहनुपर्छ । बल्लबल्ल वर्ष दिनमा दुईपटक सम्झेको व्यक्ति कसरी भावी पुस्ताका लागि सदा स्मरणीय हुन सक्छ ? यो गम्भीर प्रश्न हो । त्यसैले पात्रो नहेरी म उनीबारे केही कोरेको हुँ । अतः अम्बर गुरुङ हामीसँग सशरीर नभए पनि यिनै कालजयी गीतमा उनी सदा बाँचिरहेको छ । अम्बर गुरुङ अम्बर बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्