साकेला फोटो कन्टेस्ट–२०२१ मा गायिका राई विजयी



काठमाडौं । साकेला फोटो कन्टेस्ट–२०२१ मा गायिका मीना राईले बाजी मारेकी छन् । साङ्केन क्रियसनले वैशाखे पूर्णिमा उँभौली–२०७८ का अवसरमा आयोजित साकेला फोटो कन्टेस्ट–२०२१ मा गायिका राई विजयी भएकी हुन् ।

प्रतियोगितामा सहभागीको फोटोमा गरिएको ‘लाइक’का आधारमा विजेता घोषणा गरिएको हो । खोटाङे गायिका राईले १ हजार ७ सय ७५ ‘लाइक’ पाएकी थिइन् ।

‘जीवनमा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी थिएँ,’ विजयी भएपछि सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले भनिन्, ‘प्रतियोगिता सानो, ठूलो हुँदैन । म होइन, यो प्रतियोगितामा मेरा इष्टमित्र, शुभचिन्तक, साथीभाइ विजयी बन्नुभएको अनुभूति गरेकी छु ।’
खोटाङे सजिना चाम्लिङ राईले दोस्रो पुरस्कार हात पारेकी छन् । राईले १ हजार ४ सय ८ ‘लाइक’ पाएकी थिइन् ।

यसैगरी, काठमाडौंकी सोनिया थुलुङ राईले ७ सय १२ ‘लाइक’ पाएर तेस्रो स्थान सुरक्षित गरेकी हुन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँबराबरको सांकेन क्रियसनको सपिङ कुपन पाएका छन् ।
त्यस्तै, तीनजना प्रतियोगी ‘बेस्ट फोटो अवार्ड’बाट पुरस्कृत भएका छन् । ‘बेस्ट फोटो अवार्ड’ पाउनेमा विजय छाङ्छा राई (भोजपुर), सचिता राई (पोखरा) र मणि राई (सिक्किम) रहेका छन् ।  विजेता तीनैजनाले दक्षिणकालीको बोसनडाँडामा रहेको ब्ल्यु माउन्टेन रिसोर्टमा एक दिन एक रातको प्याकेज पाएका छन् ।

सांकेन क्रियसनले ‘डे बाई डे पोस्ट’मा पहिलो, दोस्रो र तेस्रो विजेताबाहेक सबैभन्दा बढी ‘लाइक’ पाउने ११ जनालाई छनोट गरेका छन् । छनोटमा पर्नेमा पंकज सिप्तुङ्खा राई (झापा), नीता राई (धरान), श्रुति राई (इटहरी), मेरी राई (इलाम), सिम्रन राई, निर्जला राई (काठमाडौं), राजन साम्पाङ राई (सुनसरी), मनीषा राई (खोटाङ), देवीराम राई (सिक्किम), ममता खोम्योङ्खा राई (बेलबारी), आशिका राई (सिक्किम) रहेका छन् । विजयी ११ जनाले सांकेन क्रियसनबाट १ हजारबराबरको सपिङ कुपन पाउने भएका छन् ।

साकेला फोटो कन्टेस्ट–२०२१ प्रतियोगितामा ३१२ जना प्रतियोगिताको सहभागिता रहेको सांकेन क्रियसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्