खोटाङ फर्कन आतुर


नगेन्द्रराज रेग्मी

अलिकति लेखक, अलिकति सम्पादक, अलिकति साहित्यकार भएर अर्थपूर्ण जीवन बाँचेका नगेन्द्रराज रेग्मी केही समयअघि नेपाल सरकारको जागिरबाट अवकाश लिए । ‘नेपाली सुखी, खुसी र समृद्ध बनून्,’ रेग्मीको मान्यता छ, ‘आफ्नो सालनाल गाडिएको खोटाङ अरूलाई देखाउन लायक बनोस् ।’ विस्थापन र निर्वासनको लहर रोकियोस् । विदेश होइन, खोटाङ फर्कन आतुर रहेको बताउने नगेन्द्रराज रेग्मीसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी ।

अचार अनिवार्य

दालभात, सिन्की र गुन्द्रुक असाध्यै मन पर्छ । पाए र भेटिएसम्म हरियो सागसब्जी छुटाउँदिनँ । तर, अचार अनिवार्य हुनैपर्छ । सबै खानेकुरा मन पर्छन् । मन नपरेका खानेकुरासमेत खाइदिन्छु । खानकै लागि रेष्टुरेन्ट जान्न । पाक कलामा अत्यन्तै रुचि छ । श्रीमतीले चलाउँदै गरेको डाडुपुन्यु कहिलेकाहीँ खोस्छु ।

नीलो/खैरो रोजाइ

साधारणतया भलाद्मी देखिने पोसाक मन पर्छ । श्रीमतीले किनेर ल्याइदिने भएकाले खर्च कति हुन्छ थाहा हुँदैन । नीलो र खैरो रङका पोसाक रोजाइमा पर्छन् । तत्काल खाँचो पूर्ति गर्न रेडिमेड पोसाक प्रयोग गर्नुपर्ने बाध्य छँदै छ । तर, शरीरमा चिटिक्क मिल्ने हुँदा सिलाएको कपडा लगाउन मन पराउँछु । कपडा सिलाउने निश्चित टेलर्स छैन । पछिल्लो समय कपाल झर्दै गएकाले ह्याट लगाउन थालेको छु ।

कहिलेकाहीं मर्निङवाक

कहिलेकाहीं मर्निङवाक निस्कन्छु । औंसी, पूर्णेमा योगा गर्छु ।

५ हजार किताब

हिजोआज ‘दोस्रो विश्वयुद्ध फाँसीवादविरुद्धको निर्णायक संघर्ष’ नामक विकास मुखर्जी र जेपी सिंहले लेखेको पुस्तक पढ्दै छु । इतिहास, कला, साहित्य, संस्कृति र अनुसन्धानसम्बन्धी पुस्तक पढ्न जाँगर चल्छ । ज्ञानमणि नेपाल, हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल, कृष्ण धरावासी, डा. नारायण चालिसे र विदेशीमा एलेन गिन्सवर्ग विटका लेखन लोभ लाग्छ ।

पूर्वप्रकाशित रचना एकत्रित गर्दै छु । परिस्थिति मिल्यो भने प्रकाशन गर्ने रहर छ । मेरो निजी पुस्तकालयमा चार/पाँच हजार पुस्तक होलान् । हैसियत पुग्नेसम्मका पुस्तक पाउँदा छाड्न मन लाग्दैन ।

मार्से महिमा

घुमफिरमा असाध्यै रुचि छ । ५० भन्दा बढी जिल्ला घुमिसकेको छु । बेलायत पुगेको छु । देश–विदेश घुमे पनि खोटाङको मार्से बतासे त्यत्तिकै मन पर्छ । जीवनमा एकपटक अप्पर मुस्ताङ, रारा, कर्णाली र मनाङको तिलिचो ताल पुग्ने रहर छ ।

काम पनि छैन, फुर्सद पनि नभएजस्तो बाँचेको छु । कामबाट थाक्दा आराम गर्नु स्वाभाविकै हो । कहिलेकाहीं दिउँसै आधा घन्टा सुतिदिन्छु । पुस्तक पढेर, केही सोचेर, कमिलाको ताँती एकटक हेरेर, चराको चिरबिर सुनेरै दिन कटाइदिन सक्छु ।

स्कुल पढ्दा भलिबल

फुटबल असाध्यै मन पर्छ । क्रिकेट भने मन पर्दैन । विद्यालय पढ्दा कहिलेकाहीं भलिबल खेलेको थिएँ ।

नबिग्रेसम्म एउटै

छोरीहरूले हेरिदिन्छन्, छानिदिन्छन्, किनिदिन्छन् । तसर्थ, मोबाइल सेटको नाम सम्झना गर्दिनँ । प्रयोग गरिरहेको मोबाइल ३०/४० हजार रुपैयाँ परेको थियो । नबिग्रेसम्म एउटै सेट प्रयोग गरिरहन्छु । आफूलाई चाहिने मोबाइलका एप्लिकेसन प्रयोग गर्छु । कहिलेकाहीं तास र लुँडो खेल्छु ।

हेर्दै हेर्दिनँ

टेलिभिजन हेर्न छाडेको थुप्रै भयो । सबै–सबै मोबाइलमै हेर्ने बानी पर्यो ।

करकापमा मात्रै

पछिल्लो समय चलचित्र ‘परान’ हेरेको थिएँ । श्रीमतीको करकापमा आक्कलझुक्कल हलसम्म पुगेर चलचित्र हेर्छौं । हेरेकामध्ये ‘वासुदेव’ र ‘परान’ असाध्यै मन पर्यो । हरिहर शर्मा, नीर शाह, सुनील पोखरेल, नसुरिद्दीन शाह, ओम पुरी, अमरेश पुरी, अमजद खान र नानापाटेकरको अभिनय जीवन्त लाग्छ ।

८५/१४०

स्वस्थ छु । तन्दुरुस्त छु । त्यसो भन्दैमा औषधि नखाने होइन । अहिलेसम्म दीर्घरोगले समातेको छैन । समय–समयमा होलबडी चेकअप गराउँदै आएको छु । उच्च रक्तचाप ८५/१४० छ । सक्रिय र सिर्जनशील हुन सके स्वस्थ रहन सकिन्छ ।

‘टीके’को असन्तुष्टि

आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा पटक्कै चित्त बुझ्दैन । तर, अरूले फुक्र्याइदिन्छन् । तर, आफ्नो यथार्थबारे पूर्णतः जानकार छु । भाषण गर्दा ‘अत्यन्त’ भन्ने थेगो प्रयोग गर्छु रे । अरू पनि थुप्रै हुँदो हो । तर, खासै ख्याल नहुँदोरहेछ ।

भाषण बौद्धिक बनाउँछु भनेरमात्रै कहाँ हुन्छ र ? त्यसका लागि अध्ययन र अभ्यास चाहिन्छ । परिस्थितिअनुसार प्रस्तुति राख्छु । कहिलेकाहीं चित्त नबुझेको स्थिति आइपर्यो भनेचाहिँ आक्रामक बन्दोरहेछ । एकताका भाषण गर्नेक्रममा ‘टीके’ शब्द प्रयोग गर्न बाध्य भएँ । धरैले ताली पिटे । मानमर्दन गर्यो भनेर ‘टीके’ले विरोध जनाएको सम्झना ताजै छ ।

हार्न नसक्दा मात्रै

मापसे गर्दिनँ । तर, मुखमै नपरेकोचाहिँ होइन । साथीभाइको करकापमा हार्न नसक्दा कहिलेकाहीं साथ दिने गरेको छु ।

नआए नि गुनगुगाउने

गीत–संगीत गज्जबले सुन्छु । बच्चुकैलाश, नारायण गोपाल, अरुणा लामा, दिलमाया खाती, शान्ति ठटाल, मोहम्मद रफी, लता मंगेशकर, तलत मेहम्मुद र महेन्द्र कपुरको आवाज कर्णप्रिय लाग्छ । ‘पोहोर साल खुसी फाट्दा’, ‘कल्पनाको गगन’लगायत बच्चुकैलाश र नारायण गोपालका अधिकांश गीत गुनगुनाउने गर्छु ।

पेटमा चिमोटिमाग्दा

जान–अन्जानमा थुप्रै भूल गरेको छु । मेरो वर्तमान त्यही भूलको परिणति हो । गणितको कुनै समस्या सामाधान गर्न नसक्दा दयानन्द राई सरले पेट चिमोटेको क्षण बिर्सेको छैन ।

सकेसम्म प्रयास

घर २० वर्षअघि बनाएको हुँ । पुख्र्याैली सम्पत्ति र सञ्चय कोषले नपुगेर ऋणपानसमेत गरेको थिएँ । घर सामान्य छ । सकेसम्म वास्तु मिलाउने प्रयास गरियो । घर बनाउँदा लागेको खर्चका नीलडाम अहिले पनि शरीरमा देखिरहेका हुन सक्छन् ।

म त्यही हुँ

मेरो राशी मिथुन हो । जहिल्यै भ्रामरी चलिरहेझैं लाग्छ । घरमा कहिलेकाहीं पूजापाठ गरेबाहेक ग्रहशान्ति गराएको सम्झना छैन । तीन वर्षअघि ज्योतिषीले ठट्टैठट्टामा चाँदीको औंठी लगाउन सुझाए । मैले त्यसै गर्न थालें । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्छ पनि लाग्दैन पनि । यसलाई ‘एग्नोस्टिक’ भन्छन् क्यारे । म त्यही हुँ । त्यसले प्रश्नचिह्न खडा गर्छ । साँचो भन्दैन । झुटो पनि भन्दैन । मस्तिष्क खुला छ । सोच, सम्झ भन्छ ।

मागीबिहे

आमाबाबु, घरपरिवार, दाजुभाइ, दिदीबहिनी, छोराछोरी र प्रियतमा श्रीमतीसँग अत्यन्त गहिरो प्रेम बस्यो । बसिरहेकै छ । हामीले मागीबिहे गरेका हौं ।

समृद्ध बनून्

नेपाली सुखी, खुसी र समृद्ध बनून् भन्ने लोभ छ । आफूलाई कहाँ पुर्याउनेभन्दा पनि हरिभक्त कटुवालको गीतले भनेजस्तै ‘म जे छु, ठिकै छु, बिथोल्न नआऊ’ शीर्षाकृत गीतजस्तै हुन सकूँ । मेरो सालनाल गाडिएको खोटाङ अरूलाई देखाउन लायक बनोस् भन्ने उस्तै लोभ छ । विस्थापन, निर्वासनको लहर रोकियोस् । विदेश जाने होइन, गाउँ फर्कन आतुर छु ।

पटक्कै लाग्दैन

जन्मेपछि मर्नैपर्छ । मृत्यु जीवनको वैकल्पिक रूप हो । मृत्युदेखि पटक्कै डर लाग्दैन । मृत्युको नजिक–नजिक पुगेको घटना थुप्रै छन् । मृत्यु गुमनाम, स्वाभाविक र सामान्य होस् ।

प्रतिक्रिया दिनुहोस्