स्वास्थ्य संयोजक रामकुमार भगतमाथि विप्लव माओवादीको केरकार



हलेसी (खोटाङ) । विप्लव माओवादीले हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतलाई १ घन्टा ३० मिनेट केरकार गरेका छन् ।

विप्लव माओवादीले स्वास्थ्य संयोजक भगतलाई हलेसीको माल्खुमा रहेको राउत होटलमा डेढ घन्टा केरकार गरेको थियो । संविधान दिवसका दिन अर्थात् असोज ३ गते बिहान ७ बजे हलेसीको माल्खुमा रहेको सीता राउतको होटलमा भएको कुराकानीमा भगतले गल्ती–कमजोरी ढाकछोप गर्न आफ्नो बचाउमात्रै गरेको छलफलमा सहभागी एक नेताले जानकारी गराए ।

संवत् २०५४ मा अहेब रामकुमार भगत हलेसी आएका थिए । २४ वर्षदेखि हलेसीमा रहेका सप्तरीनिवासी अहेब भगतले हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखालाई दुहुनो गाई–भैंसी बनाएको, स्वास्थ्य प्रमुखका हैसियतले अनियमिततादेखि मनपरी गरेको विषयमा गहन छलफल भएको थियो ।

‘सर्वत्र गुनासो रहेछ,’ ती नेताले भने, ‘भगतजीका विषयमा धेरैको गुनासो आएपछि बुझ्नका लागि छलफलमा डाकिएको हो । स्वास्थ्यमात्रै होइन, जुनसुकै क्षेत्रमा मनपरी गर्नेलाई सचेत गराइन्छ । सचेत गराउँदा–गराउँदै सुध्रिएनन् भने कठोर कारबाही पनि गरिन्छ ।’

छलफलमा पटक–पटक आफू अन्यायमा परेको भगतले बिलौना गरेका थिए । आफू अन्यायमा परेको भन्दै उनले उल्टै ती नेतासमक्ष न्याय माग्न पछि परेनन् । भगतले निन्याउरो अनुहार पारेर म अन्यायमा परेको छु, यस्तो अन्याय अरू कसैलाई नपरोस्सम्म भन्न भ्याए ।

‘तपाईं अन्यायमा परेको हो भने अहिलेसम्म मुख खोल्नुभएन किन ?,’ ती नेताले लगत्तै आदेश दिए, ‘अन्यायमा परेकै हो प्रमाण पेस गर्नूस् ।’

विप्लव माओवादीले बोलाएको छलफलमा आफू सहभागी भएको रामकुमार भगतले स्वीकारेका छन् । स्वास्थ्य शाखाप्रमुख भगतमातहत ६८ जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहेका छन् । ६८ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमध्ये अधिकांश भगतदेखि असन्तुष्ट रहेको स्वास्थ्य संस्थाका जिम्मेवार स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने उखान आत्मसात् गरेका भगतलाई आफ्नै शाखाका स्वास्थ्यकर्मी तथा कर्मचारीले असन्तुष्ट पोखे पनि खासै वास्ता गर्दैनन् । बेवास्ता गरेरै जित्ने गर्छन् ।

स्वास्थ्य शाखा प्रमुखले गल्ती गरेका हुन् भने केरकार होइन, कोरकारसमेत गरिनुपर्ने शिक्षक चेसकुमार राईले सुझाएका छन् ।

विप्लव माओवादी र रामकुमार भगतबीच आइतबार बिहान ७ देखि ८ः३० बजेसम्म छलफल चलेको थियो ।

असोज २ गतेसमेत विप्लव माओवादी र भगतबीच ३० देखि ४५ मिनेटसम्म कुराकानी भएको बताइन्छ ।

त्यसअघि समेत विप्लव माओवादीले भगतलाई टेलिफोन गरेर वास्तविकताबारे सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्