एकराते माओवादी



जीवन जिउनेक्रममा अनेकौं घटना घट्छन् । कतिपय तत्कालै बिर्सिइन्छन् । कतिपय बिर्सिनै नसक्ने हुन्छन् । पंक्तिकारको जीवनमा त्यस्तै घटना घटेका छन् । संवत् २०५८ कात्तिक, मंसिरको कुरा हो । पर्यटन मजदुरका नाताले ‘सि टु समिट’ ट्रेकिङ एजेन्सी (हाल : बन्द) बाट ‘किचन ब्वाई’मा काम गर्थें ।

त्यतिबेला हाम्रो साथमा १७ जना अस्ट्रेलियन पाहुना थिए । गन्तव्य थियो– मनाङमा रहेको चुलु । कास्कीको वेगनाश ताल भएर लमजुङको खुदी निक्लेर भुलुभुले, ङादी, बाहुनडाँडा, घेर्मु, जगत, च्याम्जे, ताल, धारापानी, बगर, लाटा मनाङ, चामे, पिसाङ, हुम्डे, भ्राका हुँदै २९ दिनको हाम्रो यात्रा अघि बढिरहेको थियो ।

लमजुङको खुदीमा क्याम्प बसेको रात विदेशी पाहुनाले मादक पदार्थ राम्रै पिए । बिहान आठ बजे हिँड्ने कार्यतालिका भए पनि हामी ९ः३० बजेमात्रै बाटो लाग्यौं । भुलभुलेबाट बेंसीसहर–मनाङको बाटो समात्यौं । त्यतिबेला सशस्त्र माओवादी र सरकारबीच द्वन्द्व चर्केको थियो । हातहातै मोबाइल त के टेलिफोन लाइनसमेत विरलै थिए । तसर्थ, चाहेको बेला टेलिफोन गर्न पाइँदैनथ्यो । धारापानी पुगेको दिन सबैले आ–आफ्नो परिवारलाई टेलिफोन गरे । मैले पनि घरपरिवारलाई सम्पर्क गरें ।

हामी चुलु पश्चिमको हाई क्याम्पमा थियौं । बिहानको तीन/चार बजेतिर मेरै काखमा एक पाहुनाको प्राणान्त भयो । उनलाई ‘राई बूढा’ उपनाम दिएका थियौं । राई बूढाको शव बोकेर हामी सबै बेस क्याम्प झर्यौं । हेलिकोप्टरबाट शव काठमाडौं पठाएपछि हामी हुम्डे आयौं । मौसम खराबीका कारण धेरै दिनसम्म मनाङ (हुम्डे)को बसाइ लम्बियो । त्यसताका एनएको त आएन–आएन, मौसम खराबीका कारण तीन/चार दिनसम्म निजी क्षेत्रको हवाईजहाजसमेत आउन सकेन । चार दिनको बसाइमा केही दिन ‘म्यारिज’ खेलेर बितायौं । विदेशी पर्यटकले अंग्रेजी सिनेमा ‘मास्क अफ जोरो’ हेर्न नजिकैको सिनेमाघर लगे । पाँचौं दिन १६ अस्ट्रेलियन पर्यटक हेलिकोप्टर चार्टर गरेर काठमाडौं फर्के ।

हामी (नेपाली स्टाफ) भने पैदल यात्रामा थियौं । त्यो दिन साँझतिर पंक्तिकार र पेम्बा दाइ ताल आइपुग्यौं । हिंँड्न सक्ने अझ अगाडि बढिसकेका थिए । हामी दुई तालमै बस्यौं । पेम्बा दाइको अनुरोधमा सामान्य ठाउँमा बास बस्यौं । जहाँ पेम्बा दाइ सधैं बस्थे । हामी त्यहाँ पुग्दा क्याप्टेन गेष्टहाउसका मालिक मादक पदार्थ लिइरहेका थिए । भारतीय सेनाबाट अवकाशप्राप्त गुरुङ थरका क्याप्टेन बेंसीसहरबाट फर्केका रहेछन् । उनले माओवादीलाई गाली गर्दै विभिन्न घटनाक्रम सुनाउँदै गए । यो मनाङ जिल्लामा त माओवादीको नामोनिशाना छैन । कतैबाट आए भने गाउँका गाउँ मिलेर, बोरामा हालेर मस्र्याङ्दीमा फालिदिन्छौं । माओवादी आए/नआएको हेर्न ठाउँ–ठाउँमा मान्छे राखेका छौं । यो ठाउँमा माओवादी आए भने भागेर जाने ठाउँ छैन ।

इमानदारीसाथ भन्दा त्यतिबेलासम्म माओवादी नेता देव गुरुङ मनाङकै हुन् भन्ने थाहा थिएन । धारापानीभन्दा तल र तालभन्दा माथिको बाटाको दायाँबायाँका ठूला चट्टानी पर्खालमा माओवादीले राजनीतिक नारा लेखेको देखेको थिएँ । त्यसैले खसखस लागिहाल्यो । ढुंगोजस्तो नबोली बसिरहन सकिनँ ।

क्याप्टेन सापको कुरो सुन्ने पेम्बा दाइ र मबाहेक अरू पनि थिए । त्यसै त क्याप्टेन । त्यसमाथि ‘खुकुरी रम’को रन्को । उनले जाने–बुझेसम्मको अनेकथरी गफको फन्को लाउँदै गए । ममा पनि राजनीतिप्रति धेर–थोर रुचि थियो । क्याप्टेन साप बाठा छन् भन्ठानें । मेरो सोचाइ ठ्याक्कै उल्टो भइदियो ।

माओवादीहरू त्यति सजिलै कसरी निखे्रलान् ? सरकारले प्रचण्ड र बाबुरामलाई त्यति सजिलै पक्राउ गर्न सक्छन् र ? भन्दै प्रसंग जोडें । त्यति नभन्दै क्याप्टेन सापले प्याच्च सोधे, ‘ए, तँ पनि माओवादी होस् ?’

मैंले उत्तर दिएँ, ‘होइन, संसारको इतिहास त्यस्तै छ । भारतमा पनि त्यत्तिका विद्रोही ज्यूँका त्यूँ छन् ।’ भारतमा विद्रोह गरिरहेका जति पनि संघ संगठन थिए (अझै पनि छन्), ती सबैको नाम बताएँ ।

‘तँजस्तै अबुझले गर्दा देशको हालत यस्तो हुन्छ,’ उनले फेरि झपारे ।

बाले भारतमा कुन–कुन युद्ध लड्नुभयो भन्दै विषयान्तर गर्न खोजें । उनलाई च्यालेन्ज गरेजस्तो लागेछ क्यारे ? क्याप्टेनले ‘ए केटा हो, पुलिस बोलाओ त पुलिस’ पो भन्न थाले । म माओवादी होइन बा । नपत्याए हेर्नुस् भन्दै मसँग भए–भरको परिचयपत्र देखाएँ । तर, उनले केटाहरूलाई पुलिस बोला भन्न छाडेनन् । नत्र म आफैं पुलिस बोलाउन जान्छु भन्न थाले । क्याप्टेन माओवादीप्रति असाध्यै नकारात्मक हुनुका कारण उनको सहोदर दाजुको छोरीको बूढो अर्थात् भतिजी–ज्वाईं बागलुङमा माओवादी आक्रमणमा परी मारिएका रहेछन् । त्यसैले माओवादी भन्ने शब्द सुन्नेबित्तिकै रिसको पारो चढ्ने रहेछ । त्यसमाथि खुकुरी रमले क्याप्टेन सापलाई झ्याप्पै पारेको थियो । त्यसको फल मैले भोग्नुपर्यो !

मेरो साथमा डायरी थियो । डायरीमा सरकार–माओवादीबीच वार्ता भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्य र सहजकर्ताका नाम टिपेको थिएँ । त्यो पनि बीबीसी नेपाली सेवामा सुनेर । त्यतिबेला बीबीसी नेपाली सेवाले प्रत्येक साता श्रोतालाई विभिन्न प्रश्न सोध्ने र विजयीलाई पुरस्कार दिने गथ्र्याे । पुरस्कार र खासगरी विजेता घोषितमात्रै भए पनि बीबीसी नेपाली सेवाका विश्वभरिका श्रोतामाझ आफ्नो नाम प्रकाश राई ‘दीनदुःखी’ चिनाउने लोभ थियो ।

‘ए, केटा हो सुन्दैनौ ? यो सांँच्चिकै माओवादी रहेछ । ‘जाओ, छिटो पुलिस बोलाओ’ भन्न थाले । सुन्नेहरू पुलिस बोलाउन मानिरहेका थिएनन् । सायद उनीहरू अझै पनि मप्रति सहानुभूति राख्दै थिए । ‘तँ माओवादी होइनस् भने आगो छोएर म माओवादी होइन भन् त’ भन्न थाले । मैंले त्यसै गरें । म कहिल्यै माओवादी थिइनँ । न त म त्यसपछि कहिल्यै माओवादी भएँ ।

निनाम कुलुङ ‘मंगले’

त्यतिखेर तालमा प्रहरीको सबैभन्दा ठूलो मान्छे भनेको हवल्दार रहेछन् । त्यहाँको चरो, मुसो, कीरा, फट्याङ्ग्रा, ढुंगो, माटो, पात–पतिंगरसमेत क्याप्टेन सापको इशारामा नाच्थे । विचरा पुलिसले मात्रै के गरून् । पाँच/छ भाइ पुलिस आएर मलाई केरकार गरे । मानौं म साँच्चै आतंककारी नै हुँ । पुलिसले गाली गर्दै मलाई झापड हान्न थाले । तिनैमध्ये कतिपयले भने, ‘साला माओवादी, तेरो नेता कृष्णबहादुर महरा मरिसक्यो ।’ कसैले प्रश्न गर्न थाले, ‘साला मा… र … को छोरा कहाँ–कहाँको आक्रमणमा भाग लिइस् भन् ?’ ‘म माओवादी होइन’ भन्नुको विकल्प थिएन । मेरा परिचयपत्र देखाउँदा पनि विश्वास गरेनन् ।

एकजना ‘अजासु’ क्याप्टेन सापको रिसले म ‘एकराते माओवादी’ भएँ । पुलिसले चारैतिर घेरेर मलाई चौकी पुर्याए । हात–खुट्टा बाँधेर रातभरि राखे । रातभर चलमल गर्न र हलचल गर्न पाइनँ । हातको नलीहाडमै पर्नेगरी डोरीले बाँधेछन् । मध्यरातमा आएर केही पुलिस भन्दै थिए, ‘साला माओवादी, र… को छोरा । भोलि बिहान चामे जान्छस् । त्यसपछि देख्छस् तेरो हालत ।’

त्यो रात वास्तवमै दुःख लाग्यो । श्रीमती बिनु र छोरी नेराबुङलाई सम्झें । छोरो निनामहाङ जन्मिसकेका थिएनन् । मन थामिनसक्नु भएपछि क्वाँ–क्वाँ रोएँ । ड्युटीमा खटिएका दयालु पुलिसले झर्किंदै ‘नरो भाइ, नरो । भोलि बिहान छाडिहाल्छन् भन्थे । उनले कसरी छुट्ने ? भनी उपाय सिकाए । ‘हवल्दार सापलाई रक्सी खाएको सुरमा के–के बोलेछु के–के ? त्यसैले एकचोटिलाई माफ पाऊँ भन छोडिदिन्छ,’ भनेर तिनले सुझाए । मैले पनि त्यही सोचिरहेको थिएँ । तर, रातभर हातको नलीहाड दुखेर सहनै सकिनँ । बीच–बीचमा दयालु पुलिसलाई खोल्दिनोस् न भन्थें । विचरा उनको पनि कैदी–बन्दीलाई सहयोग गर्ने सीमा होलान् । दया, माया भएरमात्रै पनि भएन । उनको पनि जागिरको सवाल छ । घरिघरिको मेरो अनुरोधप्रति रिसाउँदै भन्थे, ‘नकरा है नकरा, मैले तिम्रा लागि गर्न मिल्ने र सक्नेजति सबै गरिसकें ।’

जसोतसो बिहान भयो । मैले पिसाब फेर्न जान्छु, प्लिज खोल्दिनु न दाइ भनी आग्रह गरें । अर्कोचाहिँले साला माओवादीलाई खोल्दे भनेर आदेश दिएपछि बल्ल मेरो हात–खुट्टाको डोरी खोले । त्यसपछि पुलिस, गाउँले र क्याप्टेन बिहानै भेला भए । पुलिस र क्याप्टेनले फेरि पनि मेरो डायरी र परिचयपत्र चेक गरेजस्तो गरे । र, त्यो कृष्णबहादुर महराको नाम किन ? लेखेको भनी पुनः हवल्दारले सोधे । मैले बीबीसीले प्रत्येक साता सोध्ने प्रश्नमा सोधेको थियो । त्यसैले … मात्र के भनेको थिएँ ‘साला ! र…डीको छोरो, मा….ने भन्दै फेरि एक थप्पड हानिहाल्यो ।

त्यसपछि हवल्दारले क्याप्टेनलाई बाहिर लिएर गए । भित्र आएपछि हवल्दारले पाँच सय रुपैयाँ क्लबलाई चन्दा सहयोग दिनेगरी कागज गरेर छाड्नू, साला माओवादीलाई भनी घोषणा गरे । क्याप्टेनले पनि लोलीमा बोली मिलाउँदै ‘मैले त नागरिकले सरकारलाई गर्ने सहयोग गरेको हुँ । तर, यसको साथमा माओवादी भएको प्रमाण केही रहेनछ । नत्र यसलाई न त चामे जान दिन्थें, न त छोड्न दिन्थें । बोरामा हालेर मस्र्याङ्दीमा फालिदिन्थें’ भन्दै गर्जिए ।

रक्सी खाएर हो–हल्ला गरेकाले अनुसन्धान गरी छाडिएको भन्ने व्यहोराको पत्रमा मलाई सही गराएर छाडे । त्यहीबेला पेम्बा दाइले ‘कहाँ योजस्तो राम्रो मान्छे नै छैन, जाँड–रक्सी नै खाँदैन’ पो भन्न थाले । मैले हत्तपत्त आँखा झिम्क्याएर ‘त्यही हिजो तपाईं अगाडि हिँंड्दा मालिङ्गोघारीमा दुई गिलास खाएको थिएँ’ भनेर चलाखी गरें । त्यस्तो ‘चलाखी’ नगरेको भए यो माओवादी नै रहेछ भनेर नछाड्न सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्