‘मरे कटुन्जे’ शीर्षाकृत चर्चित गीतको कटुन्जे कहाँ पर्छ ?



थुलुङ किरात राई समुदायमध्येका एक हुन् । यो समुदायलाई थुलु, रद्यु, प्रप्च्युच्यो, सुबुच्योजस्ता अन्य पर्यायवाची शब्दबाट पनि चिनिन्छ । थुलुङ राई नेपालको सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, सुनसरी, मोरङ, झापा, पाँचथर, ताप्लेजुङ, इलाम आदि जिल्लामा बसोवास गर्दै आएका छन् । नेपालबाहिर भारत, हङकङ, बेलायत, अमेरिका, जापान, अस्ट्रेलियालगायतका देशमा पनि थुलुङले स्थायी वा अस्थायी रूपमा बसोवास गर्दै आएका छन् । मुन्दुम (ड्युम्ला) र मिथक (स्योम्ला) अनुसार थुलुङको उद्गमस्थल मुलिदेल (थुलुङ दूधकोसी गाउँपालिका–६, मुक्ली सोलुखुम्बु) मानिन्छ । विकिपिडियाका अनुसार थुलुको जनसंख्या ३३,३१३ रहेको छ । उल्लिखित जनसंख्यामध्ये करिब २१,००० थुलुले मातृभाषा बोल्छन् । अन्य फुटकर स्रोतका अनुसार देश–विदेशमा गरी थुलुङको जनसंख्या १ लाख ५० हजार हाराहारीमा छ ।

थुलुङ राईको आफ्नै भाषा छ । थुलुङ भाषालाई ‘थुलु ल्वा’ वा ‘इकि ल्वा’ भनिन्छ । राजा महेन्द्रको एक भाषा एक धर्म नीतिका कारण अन्य समुदायको भाषाजस्तै थुलुङ भाषा पनि संरक्षण अभावमा ओझेलमा पर्न गयो । त्यसमाथि आजको व्यापारिक भाषाका कारण थुलु भाषा बोल्नेको जनसंख्या दिनप्रतिदिन कम हुँदै गइरहेको छ । यही रफ्तारमा थुलुङ भाषा वक्ताको कमी हुँदै जाने हो भने केही दशकपछि मानव सभ्यतासँग जोडिएको एउटा सबल भाषा सधैंका लागि लोप भएर जाने निश्चित छ । अहिलेसम्म थुलुङले मुन्दुमी संस्कार आफ्नै थुलुङ भाषामा गर्दै आइरहेका छन् । यो समुदायको मुन्दुमी संस्कार आफ्नै भाषामा भए पनि अन्य किराती समुदायको संस्कारसँग मिल्दोजुल्दो पाइन्छ । किनकि सम्पूर्ण किरात राईको मूल जरो एउटै हो भनी विभिन्न मिथकमा उल्लेख छ ।

मुन्दुमअनुसार थुलुङ खोटाङको तुवाचुङबाट कृषियुगमा प्रवेश गरेका थिए । कृषियुगसँगै जीवनमा भोगेका, देखेका अनुभवका आधारमा किराती सभ्यता विकासक्रम सुरु भएको थियो । समय बित्दै जाँदा समाजलाई व्यवस्थित गर्न अगुवा व्यक्तित्वको आवश्यकता महसुस भयो । त्यस समयमा अगुवा व्यक्तित्वका रूपमा प्रकृति र पूर्वजको शक्ति संयोजन गरी चमत्कार गर्न सक्ने थुलुङ देवा (पुरोहित) र नोक्छो (धामी) नै थिए । तसर्थ, समुदायको नेतृत्वमा देवा, नोक्छो नै चुनिन्थे भनी अनुमान गर्न सकिन्छ । समय बित्दै जाँदा समाजको अगुवा चुन्ने सिलसिलामा शक्ति संघर्ष हुन थाल्यो । त्यही शक्ति संघर्षका कारण किराती विभिन्न समूहमा विभाजन हुन पुगे । ती समूह जीविका चलाउन उपयुक्त क्षेत्र खोजी गर्दै टाढा–टाढासम्म फैलँदै जानेक्रममा लामो समयसम्म भेटघाट हुन सकेन । यसरी, वर्षौंसम्म भेटघाट नहुँदा भाषा उच्चारणमा फरक परेर एक समूहले बोलेको अर्कोलाई बुझ्न कठिन हुन थाल्यो । समय बित्नेक्रममा एउटै भाषा धेरै भाषा बन्न पुग्यो । अझै पनि किरात राईको २८ वटा भाषा जीवित छन् । थुलुङ मिथकअनुसार ती सबै भाषी किराती तुवाचुङबाटै कृषि युगमा प्रवेश गरेका एकै पुर्खाका सन्तान हौं ।

इतिहासअनुसार किराती पूर्वबाट फैलिँदै काठमाडौं (यलखोम)सम्म आइपुगे । काठमाडौंलाई स्थायी राजधानी बनाई पूर्वमा टिस्टा, पश्चिममा त्रिशूली नदीसम्म राज्य विस्तार गरेर १२२५ वर्षसम्म ३२ पुस्ता राजाले राज्यसत्ता सञ्चालन गरेका थिए । पहिलो किराती राजा यलम्बरको नामबाटै काठमाडौं उपत्यकालाई यलखोम भनियो । ‘यल’को अर्थ यलम्बर र ‘खोम’ शब्दले स्थान भन्ने बुझाउँछ । कालान्तरमा लिच्छवि वंशका निमेषले किरातीका अन्तिम राजा गस्तीहाङलाई शासन सत्ताबाट विस्थापित गरेपछि उनीहरू दोलखा (दोलोखोम) हुँदै तामाकोसी र सुनकोसी नदीको किनारैकिनार पुनः पूर्वतर्फ हानिए ।

किराती मिथकअनुसार किरात थुलुङ राई ओखलढुंगा जिल्लाको कटुन्जे क्षेत्रमा लामो समय बसोवास गरे । थुलुङहरू कटुन्जे क्षेत्रमा कति समय बसोवास गरे भन्नेबारे अध्ययन अनुसन्धानकै विषय बनेको छ । उनीहरू त्यस क्षेत्रमा रहँदा सिकारका लागि टाढा–टाढासम्म पुग्ने गर्थे । अग्रजको भनाइअनुसार थुुलुङहरू पश्चिममा लिखुखोला, नुम्बुर हिमाल; उत्तरमा सगरमाथा (चोमोलुङ्मा); पूर्वमा मकालु, साल्पा, तुवाचुङसम्म पुग्थे । किरातीहरू यलखोमबाट विस्थापित भएर पूर्व कटुन्जेमा जीविका चलाइरहँदा पनि लिच्छवि शासकका सेनाले बारम्बार दुःख दिइरहन्थे । यसरी लिच्छविले दुःख दिएपछि किरातीहरूले आफ्ना केटाकेटी र वृद्धवृद्धालाई कटुन्जे क्षेत्रको विकट क्षेत्रमा लुकाई महिनौंसम्म लडाइँमा सरिक हुन्थे । यसरी लडाइँ हुँदा धेरै लडाकुको ज्यान पनि जान्थ्यो । बाँच्न सफल लडाकु आफ्नो परिवार लुकाएको स्थानमा फर्कंदा परिवारका सदस्यको भोक र रोगका कारण मृत्यु भएर कंकालमात्रै भेटिएका थिए भन्ने दन्त्यकथा सुन्न पाइन्छ । लिच्छवि सेनाको पटक–पटकको आक्रमणबाट आजित भएका किरातीहरू सुरक्षित स्थानको खोजी गर्न थाले । यसक्रममा उनीहरूले मुलिदेललाई उपयुक्त स्थान ठानी आधार इलाकाका रूपमा विकास गरेर भव्य राजदरबार (ओगानेम) बनाए । ओगानेमबाटै थुलुङ राजा (थुलुहव)ले शासन चलाउँथे । थुलुङ समुदायको पहिलो राजा को थिए भन्ने विषयमा अन्योल रहे पनि थुलुङको अन्तिम राजा र्योम्लीहव भनी मुन्दुमले किटान गरेको छ । अहिले पनि मुलिदेलमा ओगानेमको भग्नावशेष बाँकी रहेको छ । तर, यति ठूलो ऐतिहासिकता बोकेको ओगानेमको भग्नावशेष भने अलपत्र अवस्थामा छोडिएको छ ।

मिथकअनुसार किरातीहरू कटुन्जेमा रहँदासम्म थुलुङ र खालिङ राई भनी अलग समुदाय भइसकेका थिएनन् । जनश्रुतिअनुसार देरेप्पा पुर्खाका म्यापाहाङ र र्योम्लीहव नाम गरेका दुई छोरा थिए । म्यापाहाङजेठो र र्योम्लीहव कान्छो छोरा हुन् । जब उनीहरूको विवाह गर्ने उमेर भयो अनि जेठो म्यापाहाङले कान्छो भाइ र्योम्लीहवलाई मुलिदेलको राजकाजको जिम्मेवारी सुम्पेर चोमोलोङ्मातर्फको क्षेत्रमा अलग्गै घरजम बसाले । उनै म्यापाहाङका सन्तान नै अहिलेको खालिङ राई हुन् भन्ने भनाइ छ । थुलुङ र खालिङबीचको सांस्कृतिक सम्बन्ध बुझ्दा यो भनाइ सत्यको नजिक रहेको पाइन्छ । किनकि अहिलेसम्म पनि खालिङ राईहरूले मूलघरको सम्मानस्वरूप मुलिदेलको सुँगुर लगेर उनीहरूको कुल (नागी) पूजा गर्ने चलन छँदै छ । अर्को नजिरका रूपमा राईहरूले घरको कान्छो छोरालाई निर्विवाद मूलघर छोडिदिने चलन छ । उल्लिखित आधारमा थुलुङ र खालिङ राई मुलिदेलबाट छुट्टिएका एकै बाजे (म्यापाहाङ)का सन्तान हुन् भन्न सकिन्छ ।

मिथकअनुसार केही थुलुङ आध्यात्मिक रूपमा अत्यन्त शक्तिशाली (युम्च्यो) पनि थिए । आध्यामिक शक्तिले एक स्थानबाट अर्को स्थानमा सजिलै उडेर जान सक्ने, आफू र आफ्नो समुदायविरुद्ध कसैले बोलेमा घरमा बसीबसी थाहा पाउन सक्ने, आवश्यकता परेमा ढुंगामाटो नै पगाल्न सक्ने क्षमता राख्थे । यसरी पितृ र प्रकृतिको संयोजनबाट आध्यात्मिक शक्ति प्रयोग गर्न सक्ने धेरै पुर्खाको नाममध्ये देरेप्पा, म्यापाहाङ, दिक्प्या, र्योम्लीहव, रेप्दुर अग्रपंक्तिमा आउँछन् । अहिले थुलुमा धेरै थरी (दोच्यु) पाइन्छ । यो वंशवृक्षको अर्को रूप हो । थुलुभित्र जति किसिमको थरी रहे पनि संसारभरि फैलिएर बसेका सबै थुलुले उनीहरूको उद्गम स्थल मुलिदेल नै मानेका छन् ।

थुलुङ कटुन्जेबाट मुलिदेल स्थायी रूपमा बसाइँ सराइ गरेपछि विभिन्न कारणबाट मृत्यु हुनेक्रम त हुने नै भयो । थुलुङ मान्यताअनुसार कालगति (नयुप्स्यु) र अप्राकृतिक (मिज्योपालाम) गरी दुईप्रकारको मृत्यु हुन्छ । प्राकृतिक रूपमा मृत्यु भएमा पार्थिव शरीरलाई घरबारी (घर भएको स्थानभन्दा अलि मुन्तिर) को जमिनमुनि गाडी अन्त्येष्टि गर्ने र अन्य कारणबाट मृत्यु भएमा उनको पार्थिव शरीरलाई जंगलमा जमिनमुनि गाडेर अन्त्येष्टि गर्ने परम्परा पूर्वजले सुरु गरे । थुलुङ जनविश्वासअनुसार मान्छेको मृत्युपश्चात् पनि आत्मा (मुनाङ) जीवित रहन्छ भन्ने भनाइ छ । तसर्थ, पार्थिव शरीरको अन्त्येष्टिपश्चात् मृतात्मा कहाँ पुर्याउने भन्ने विषयमा अग्रजको छलफल हुँदा मृतात्माको सम्मान स्वरूप मुलिदेलमा मृत्यु भएका सबै मृतात्मालाई थुलु पुर्खाले लामो समय बसोवास गरेको स्थान कटुन्जेमै पुर्याउने निर्णय गरे । सोही निर्णयअनुसार थुलुङ समुदायमा कसैको मृत्यु भएमा उनको मृतात्मालाई कटुन्जे पुर्याउने परम्परा अझै पनि छँदै छ ।

थुलु परिवारमा कुनै सदस्यको मृत्यु भएमा घटना घटेको केही दिन वा हप्ताभित्र मृतात्मालाई बाटो दिन काजकिरिया (सिकुम्री) गर्ने परम्परा रहिआएको छ । सिकुम्रीको समयमा प्राकृतिक मृत्यु भएको मृतात्मालाई देवा विधिबाट बोल्योम्देल (कटुन्जे) पुर्याउने चलन छ ।

अप्राकृतिक कारणबाट मृत्यु भएको मृतात्मालाई नोक्छो विधिबाट कटुन्जेनजिकको भीरपहरा (खेरेलुङ खेरेता)मा पुर्याउने परम्परा छ । तर, ६ महिनाभन्दा सानो बच्चाको मृत्यु भएमा उसको मृतात्मालाई नोक्छो विधिद्वारा ‘आकाशको बादलमा स्वतन्त्र रहनू’ भनी बाटो देखाइदिने चलन छ । थुलुङ मान्यताअनुसार ६ महिनाभन्दा कम उमेरको बच्चालाई मानव रूप नभएर पितृको रूप मानिन्छ । प्राकृतिक मृतात्मालाई विधिपूर्वक सही बाटो देखाइदिएमा सो मृतात्मा कटुन्जे अनि सम्बन्धित वंशजको तीन चुलामा आध्यात्मिक अभिभावक (खाली)का रूपमा रहेर सर्दैन दरसन्तानको रक्षा गरिरहन्छन् भन्ने जनविश्वास रहिआएको छ । थुलुङले ऋतुअनुसार मनाउने तोसी (साकेला)मा ती सबै आध्यात्मिक अभिभावकको भक्ति र सम्मान गर्दै सम्पूर्ण प्राणी र जगत्को कल्याणका लागि आशीर्वाद माग्ने चलन छ । तर, अप्राकृतिक घटनाबाट अकालमा मृत्यु भएका मृतात्माले भने घरपरिवारलाई दुःखमात्र दिइरहने मान्यता रहिआएकाले मृतात्मालाई धामी विधिबाट सधैंका लागि बाटो बन्द गरिने चलन छ ।

थुलुङ समुदायको परम्परा, संस्कार, संस्कृतिलाई विधिपूर्वक सम्पन्न गर्न थुलु पुरोहित, धामी र अग्रज व्यक्तित्व (देवा, नोक्छो र मुलिच्यो)को उपस्थिति अनिवार्य मानिन्छ । सामाजिक मान्यताअनुसार थुलु संकार, संस्कृतिलाई अगाडि बढाउन कुनै बेला देवा र कुनै बेला नोक्छो अगुवाका रूपमा रहन्छन् भने मुलिच्योको जिम्मेवारी ड्युम्ला र्युद्युमको नियमन गर्नु हो । थुलुको परम्परा, संस्कार, संस्कृति प्रकृतिवादमा आधारित छ । प्रकृति र पितृ नै मानव जीवनको मूल आधार हो भन्ने मान्यता रहिआएको छ । अग्रजले जीवनमा भोगेका, देखेका अनुभवको सँगालो नै थुलु मुन्दुम (ड्युम्ला र्युद्युम) हो । अन्य धार्मिक दर्शनले भनेजस्तो थुलुङ मुन्दुममा कसैले नदेखेको र नपुगेको स्वर्गको सपना बाँडेको पाइँदैन बरु आँखाले देख्ने र पुग्न सकिने स्थानबारे मुन्दुमले स्पष्टसँग बोलेको छ । मुन्दुमअनुसार थुलुङको मृत्युपश्चात् उनीहरूको मृतात्मा पुर्याउने स्थान बोल्योमदेल वा कटुन्जेत्यस्तै स्थान हो ।

कवि तथा गीतकार खुक्सङ खम्बूद्वारा लिखित गीत यस्तो छ :

सन्जोगले भेट हुँदा आँसु खस्यो हर्षले
बाँचे फेरि भेटौंला है मरे कटुन्जे

खबर के छ ? कस्ता छन्, अरू नातानालो
वर्षौं भयो भेट पनि हुँदै नभाको
भेटौं–भेटौं लाइरहन्छ बेला–मौकामा
फुर्सद कहिल्यै नहुने गाउँघरैमा
साह्रै खुसी बनायो हौ यो हाम्रो भेटले
बाँचे फेरि भेटौंला है मरे कटुन्जे

कहिलेकाहीं घुम्दै आए बाटो नकाट्नू
जति नै टाढा भए नि माया नमार्नू
खानु–पिउनु के छ र, दुःखीयाको घरमा
बोली राखे, हाँसी राखे मीठो सम्झना
मरिलानु के छ र हौ बूढापाका भन्थे
बाँचे फेरि भेटौंला है मरे कटुन्जे

दुईदिने हाम्रो जिन्दगी मरिजाने चोला
फेरि भेट यसरी होला नहोला
के ठेगान छ र, मरिन्छ कि यसै साल
आउँदै होला घुम्दै–फिर्दै त्यै पापी काल
आजलाई छुटौं हौ सबलाई नमस्ते
बाँचे फेरि भेटौंला है मरे कटुन्जे

इतिहासको कालो कालखण्डमा हजारौं थुलुङ राईहरू कटुन्जेमा मरे, मारिए । उनै पुर्खाहरूको सम्झनामा यो आँसुका फूल समर्पण गर्छु । मरेपछि कटुन्जे त अवस्य जानू नै छ….।

प्रतिक्रिया दिनुहोस्