प्रिय, आपत पर्दा सापट चल्छ गाउँमा


प्रिय साथी

तिमीले मेरो हाल सोध्छौ । मेरो भविष्यको चिन्ता गर्छौ । त्यही भएर तिमी मेरो असल साथी हौ । धेरै पछि तिमीलाई चिठी लेख्दै छु । मलगायत गाउँघरको खबर ठिकै छ । वसन्त ऋतु सुरु भएकाले गाउँघर रमाइलो बन्दै गएको छ ।  भनिन्छ– गाउँ र सहरमा धेरै फरक छ । सहरमा घरहरू नजिक–नजिक हुन्छन् तर मनहरू टाढा हुन्छन् । तर, गाउँमा घरहरू टाढा–टाढा हुन्छन् भने मनहरू नजिक–नजिक हुन्छन् । सहरका घर पक्की हुन्छन् तर मनहरू कच्चा हुन्छन् भने गाउँमा घरहरू कच्चा हुन्छन् तर सम्बन्ध अनि मनहरू पक्का हुन्छन् ।

म त गाउँमै रमाइरहेको छु । तल्लो घर, पल्लो घर, वल्लो घर, माथिल्लो घर गइरहन्छु । कसैले निख्खार कोदोको तीनपाने खानू न भन्छन् । कसैले सुठुनी (सखरखण्ड)को, कतिपयले चिउरीको आराखा (रक्सी) हो चाख्नू न भन्छन् । कोही भन्छन्– हिजोमात्रै छोरीज्वाईंले ल्याएको कोसेली हो लिनू न भन्छन् । जसको घरमा जे छ, त्यही दिन्छन् । मैले त खान छाडे नि । मलाई बिसाउँछ (राम्रो गर्दैन) भनेर भन्दा हाम्रो घरमा खानुहुँदैन र ? कहिले पो आउनुहुन्छ र ! आएको बेला खानूस् न भन्छन् । सत्कार गर्ने गाउँको चलन हराएको छैन ।

तिम्रो सहरमा पल्लोघरको बिहेभोज चल्दै होला । सायद तिमीलाई निम्तासम्म नहोला । यहाँ त एक घरमा बिहे हुँदा सारा गाउँ नै रमाइलो हुन्छ । सुख या दुःखमा होस् सबै एकसाथ जुरुक्क उठ्छन् । गाउँको सबैभन्दा ठूलो गहना भनेकै चलन हो । तिमीलाई थाहै छ– गाउँ निःस्वार्थी र सहयोगी मानिसको बस्ती हो । गाउँमा कसैलाई समस्या पर्यो भने मिलेर समाधान खोज्ने परम्परा नयाँ होइन । आपतमा सापत चल्छ । सहरमा पाइँदैन । सहरका मानिस नीरस, लोभी र स्वार्थी हुन्छन् । अरूलाई परेको समस्या टुलुटुलु हेरिरहने बानी फेरिएको छैन होला । यस्तो लेख्दा तिमीलाई चित्त दुख्ला । वास्तविकता लेख्दा रिसानी माफ पाऊँ । सहयोग, आत्मीयता र दया सहरमा पाइँदैन । दुःख, आक्रोश, पीडा, असन्तुष्टिबाट सहर गुज्रिरहेको हुन्छ । त्यसैले स्वच्छ र सफा वातावरणमा आफ्नो मौलिक पहिचान जोगाएर मुस्कुराइरहेका गाउँलाई भौतिक तृष्णाको भुमरीमा फसेर रुमल्लिएको सहरसँग तुलनै गर्न नमिल्नेजस्तो लाग्छ ।

प्रिय साथी

यस्तो लेखिरहँदा तिम्रो मन दुख्यो होला । नरिसाऊ ल । तिमी जन्मजात सहरिया । तर पनि तिमीलाई गाउँबारे थाहा छ । विश्वव्यापी कोरोना महामारीले गाउँ पनि सहरजस्तै अस्त, व्यस्त अनि ध्वस्त भएको छ । कोही भन्छन्– यो सामान्य रुघाखोकी हो । पुँजीवादी अनि दलालको व्यापारको खेल हो । कोही भन्छन्– नयाँ भेरियन्टसहितको कोरोना भाइरस हो, यसले त ज्यानै लिन सक्छ । रेडियो सुन्छु । टीभी हेर्छु । अनि सामाजिक सञ्जाल हेर्छु । सबैतिर कोरोना महामारीको खबरबाहेक केही छैनन् । आज यतिको ज्यान गयो, उतिलाई कोरोना संक्रमण भयो, यति निको भएर घर फर्के भन्ने खबर सुन्नुपरेको छ । पढ्नुपरेको छ । हेर्नुपरेको छ ।

तिमीलाई कस्तो छ ? सामान्य रुघाखोकी र कोरोना भाइरस नै हो भनेर छुट्याउने भरपर्दो मेसिन नभएको हाम्रो देश अनि हामी निरीह बनेका छौं । रुघाखोकीलाई कोरोना अनि कोरोनालाई रुघाखोकी भन्न विवश छौं । सास फेर्न अक्सिजन चाहिन्छ । तर, हिजोआज कोरोनाको बाहाना बनाई दुईवटा मास्क लगाई मानिसलाई ताजा अक्सिजन लिनबाट पो वञ्चित बनाइएको हो कि जस्तो लाग्छ भनेको पनि सुनिन्छ । मलाई लाग्छ– भीडभाड अनि बिरामी भएको ठाउँमा मात्रै मास्कको प्रयोग गर्नुपर्ने होइन र ?

म गाउँकालाई सम्झाउँछु । गाउँमा रासायनिक खानेकुरा पाइन्छन् । बेसार पानी, असुरो पानी, लसुनलगायत अन्य जडीबुटी पाइन्छन् । यो खानेलाई कोरोना लाग्दैन भनेर सुझाउँछु । तर, मेरो मन भने भित्रभित्रै डराइरहेको हुन्छ । गत वर्ष सम्झन्छु । पोहोरको लकडाउन सदुपयोग गर्दै गाउँमा भएको आहाल मर्मत–सम्भार गर्यौं । त्यतिबेला हामीमध्येका एकजनालाई कोरोना संक्रमण देखियो । आहाल मर्मत गर्ने हामी सबैलाई पाँच दिन होम आइसोलेसनमा बस्नुपर्दाको पीडा बिर्सेको छैन । आफूलाई केही भएजस्तो नलागे पनि साथीभाइले फोन गर्थे । चिन्ता नलिनु भन्थे । स्वास्थ्य सुरक्षा अपनाउन सुझाउँथे । तर, आफू एक कोठामा सीमित हुँदाको पीडा सम्झँदा डर लाग्छ । त्यतिबेला बाहिर निस्कँदा छरछिमेक, साथीभाइले हेर्ने दृष्टिकोण देख्दा म त बाँच्दिनझैं लाग्थ्यो । आफूलाई केही नभए पनि अरूको कुरा सुन्दा र व्यवहार हेर्दा म आधा बिरामी हुन्थें । यसपटक हामी सबै सचेत छौं ।

तिमी सहरको आलिसान महलको एउटा चारकुने कोठामा दिन बिताउँदै हौला । म त खेतबारीमा पसिना बगाउँदै दिन बिताउँछु । हिजोअस्ति छरेको मकै गोड्न बेला भइसक्यो । सहरमा तिमीसँग पिज्जा, बर्गर, सी मःम खाएको सम्झन्छु । गाउँमा त्यस्तो खानेकुरा पाइँदैन । यता, मकैभटमास खाँदै काम गर्नुको आनन्द भेटेरै सुनाउला है ।

प्रिय साथी

खुसीको खबर सुनाउनै बाँकी छ । कोरोना महामारीमा हलेसी तुवाचुङ नगरपालिकाका सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको घर–घर पुगेर हालखबर सोध्दै आएका छन् । पालिकावासी कसैलाई साह्रोगाह्रो भएमा हलेसीमा स्थापित आइसोलेसन केन्द्रमा सम्पर्क गर्न जानकारी गराउँछन् । गाउँघरमा हामी सबै मिलेर कोरोना भाइरसविरुद्ध लागिरहेका छौं । तिमीहरू पनि त्यसै गर है ।

प्रतिक्रिया दिनुहोस्