कोदो र किराती


दुर्छिम, साल्तेम्मा, खोटाङको कोदो । तस्बिर : दीपेन्द्र राई/तुवाचुङ साप्ताहिक

दुर्छिम (खोटाङ) । किरात राई समुदायको जन्मपूर्वदेखि मृत्युुपारिसम्मको संस्कारमा कोदो अनिवार्य चाहिन्छ । त्यसैले कोदो र किरातीको सम्बन्ध गहिरो छ । विद्वान्हरूले कोदोको उपयोगिताबारे बताए पनि राई समुदायका पुर्खाले मुन्दुमको सृष्टिसँगै कोदोबारे थाहा (ज्ञान) पाई प्रयोगमात्र गरेनन्, आफ्नो दोस्रो पुस्तालाई सिकाएर गए । सिक्ने सिकाउने प्रक्रियाको निरन्तर अभ्यास छँदै छ । अत्यन्तै स्वास्थवद्र्धक कोदोबारे तपसिलका शीर्षकमा प्रस्ट पार्न सकिन्छ ।

कोदो र संस्कृति/संस्कार

मुन्दुमअनुसार भन्ने हो– जुन बेला कृषि युगको थालनी भएकै थिएन, त्यो समयमा किरातीका पुर्खा सिकार गरेर जीविकोपार्जन गर्थे । सिकार गर्दा ढुकुर मारेर ल्याए । पोलपाल गर्नअघि फोरफार गरेर गाँड (चारो रहने ठाउँ) तलतिर माटो (त्यो बेला बारी बनेकै थिएन) मा फाले । गाँडमा रहेको अन्न (उम्रनलायक भएको) उम्रियो । उम्रेपछि फल्यो । फलेको अन्न खाए । खाँदा बिसाएन । त्यसपछि अन्नको खेती सुुरु भएको मानिन्छ । त्यसबेलाको पहिलो अन्नमध्ये कोदो (चारमा/चारिमा/चालिमा) पनि एक हो । जन्म, छेवर, बिहे, मृत्यु, मृत्युपछि अन्त्येष्टिसम्म कोदोबाट बनाइने मर्चा र कोदोकै जाँड चढाउने चलन छ । कोदोलाई कुलोमाथिको धान भन्ने चलन छ । नछुङ/धामीलाई शिर उभ्याउँदा कोकुखुरमा समेत कोदो राख्ने चलन छ । कोदोको जाँडबाहेक पितृलाई चढाउन पाइँदैन । जाँडका प्रकारको नाम संस्कारअनुसार फरक—फरक हुन्छन् । सरुवा, चाछुवा, खामा वासिम, माछाक्मा वासिम, साम्खा वासिम, छैते नारिया वासिम, वाडाको वासिम आदि ।

मविन्द्र चाम्लिङ

कोदो र स्वास्थ्य

बाजेको पालामा स्वास्थ्यको चेतना धेरै फरक थियो । टन्न खाने र डटेर काम गर्ने । सामान्य दुःखाइ त बिमारै होइन भन्ने ज्याद्रो स्वभाव । त्यसबेलाको भात र तरकारी अहिलेको पुस्ताले निल्न गाह्रो मान्छन् । अहिलेका पुस्ताले खान नसक्ने र काम गर्न पनि नसक्ने बूढापाका बताउँछन् । कोदोको विभिन्न परिकार बन्छन् । बनाइन्छन् । ढिँडो, खोले, रोटी, डाकोले, जाँड, रक्सी आदि । पछिल्लो समय मःमः, बिस्कुट पनि बन्न थालेको छ । कोदोको जाँड र रक्सी ठिक्कले खाँदा औषधीको काम गर्छ भन्ने मान्यता छ । पहिलेका मानिसले कोदोको ढिँडो निकै रुचाउँथे । ढिँडो अडिलो हुने र काम गज्जबले गर्न सकिने । खोटाङ, हलेसी क्षेत्रका मानिसले हिउँदको समय लगभग ६ महिना कोदोकै परिकार खाने चलन थियो ।

चिनी र कोदो दुवैमा कार्बोहाइड्रेट पाइन्छ । तर, स्वास्थवद्र्धक फाइबरयुक्तचाहिँ कोदो रहेको चिकित्सकहरू बताउँछन् । चिकित्सकको भनाइ मान्ने हो भने हाम्रा पुर्खासँग स्वस्थ्य चेतना अब्बल रहेछ । अबको पुुस्तामा स्वस्थ रहन कोदो प्रयोग गर्न/गराउन आवश्यक छ ।

दुर्छिम, साल्तेम्मा, खोटाङको कोदो । तस्बिर : दीपेन्द्र राई/तुवाचुङ साप्ताहिक

कोदो र अर्थ (उद्यम/पैसा)

कोदोको रक्सी, बियर, तोङ्बा, बिस्कुट, रोटी, ढिँडो आदिलाई व्यवस्थित गरी उद्योग र होटल सञ्चालन गरेमा राम्रो आयआर्जन गर्न सकिन्छ । डेनमार्कको कोपनहेगनमा बनेको टुबोर्ग बियर र कोरियाको छ्याङ नेपालले आयात गरिरहनै पर्दैन ।

कोदो र राष्ट्रिय पुँजी निर्माण

दुर्छिम, साल्तेम्मा, खोटाङको कोदो । तस्बिर : दीपेन्द्र राई/तुवाचुङ साप्ताहिक

किरात इतिहासलाई कोदोले समेत उजागर गर्छ । किरातीसँग भएको ज्ञानसीप प्रयोग गरी कोदोको तोङ्बा, जाँड, रक्सी बनाएर सम्बन्धित परिवारले घर–व्यवहार चलाइरहेकाको रक्सी, जाँड र तोङ्बा फाली विदेशको ब्रान्डेड रक्सी, बियर, ह्वीस्की बेच्ने र स्वदेशको पैसा विदेश पठाउने सरकारको पुँजी निर्माणको कस्तो नीति हो ? प्रश्न गम्भीर छ । नेपालमा राष्ट्रिय पुँजी विकास नगरिएका कारण देशको विकास गर्न कठिन भएको कुरा प्रस्टै छ । विदेशको ऋण र अनुदानले मात्र देश बन्दै बन्दैन । साँच्चै समृद्ध नेपाल बनाउने हो भने किरात संस्कृति र संस्कारसँग सम्बन्धित कोदोको परिकार प्रवद्र्धन गर्दै उद्योग स्थापना गरी राष्ट्रिय पुँजी निर्माण गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्